बिहिबार, अशोज ३, २०८१
Breaking News

वडामै गएर योजना सम्झौता

बझाङ । थलारा गाउँपालिकाले उपभोक्ताको सहजताको लागि विभिन्न योजनाहरूको सम्झौता वडामै गरेको छ । आर्थिक वर्ष ०८०÷८१ मा विभिन्न विकास निर्माणमा विनियोजित गरेको रकमको सम्झौता वडाहरूमै गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले शनिबार मात्रै वडा नम्बर ९ अन्तर्गतका योजनाहरूको सम्झौता गरेका हुन् । वडा नम्बर ९ का वडासचिव ज्ञानबहादुर विष्टका अनुसार वडाभरिकै २३ वटा योजनाहरूको सम्झौता गरिएको छ ।

गाउँपालिका पुग्नै धेरै खर्च हुने हुँदा प्रशासकीय अधिकृतको टिमले वडामै पुगेर सम्झौता गरेको विष्टले बताए । उनले भने, “पालिकासम्म जान आउनै १० हजारसम्म खर्च लाग्छ । त्यसैले सबैलाई पाइक पर्ने ठाउँमा पालिकाको टिम आएर सम्झौता गरेको हो ।”

उपभोक्ता समितिले पनि वडामै आएर योजना सम्झौता गरेकोप्रति खुसी व्यक्त गरेका छन् । तल्लो चौरदेखि खालीसम्मको बाटो पीसीसी उपभोक्ता समितिका अध्यक्ष प्यारु कामीले भने, “वडामा नै सम्झौता गर्दा निकै खुःसी भएका छौँ । कुनै कागजात नमिलेर पालिकाबाट फर्किनुभन्दा पालिका सरकार वडामै पुगेपछि हामीलाई निकै राहत भएको छ ।”

थलारामा प्रशासकीय अधिकृत पण्डितको टोलीले वडा नम्बर ९ मा मात्रै नभई १, २, ३, ४, ७ मा समेत योजना सम्झौता गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार