बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बालकुमारी घटना : ढल्यो ‘विधवा’ आमाको खम्बा
Breaking News

बालकुमारी घटना : ढल्यो ‘विधवा’ आमाको खम्बा

काठमाडौं । दैलेखको महाबु गाउँपालिका- ६ का ४५ वर्षीय भक्त राउत काम गर्दागर्दै अचानक ढले । तत्कालै जिल्ला अस्पताल लगियो । अस्पतालले मृत घोषणा गर्याे ।

उनी उच्च रक्तचाप (प्रेसर)ले ढलेका रहेछन् । यो गत वर्ष (२०७९)को कुरा हो । प्रेसरका बिरामी भक्तबहादुरको गाउँमै सानो भाँडापसल थियो । उनी बितेपछि श्रीमती नन्दाको टाउकोमा आइपुग्यो परिवारको सबै दायित्व ।

पतिको निधनले विक्षिप्त उनीसँग २२ वर्षीय जेठा छोराको मुख हेरेर चित्त बुझाउनुको विकल्प थिएन । अर्काे कान्छा छोरा र छोरी सानै छन् । परिवारको दायित्व जेठा छोरा सुजनको थाप्लोमा आयो । त्यसपछि उनी काठमाडौं आए । उनी कोरिया जान भाषा परीक्षा पढ्न थाले । उनको साथमा काकाका छोराहरु पनि आएका थिए ।

गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन् । भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन चल्यो । सोही क्रममा शुक्रबार उनी काठमाडौंको बालकुमारीमा भएको आन्दोलनमा सहभागी भए ।

प्रहरीसँगको मुठभेडमा उनीमाथि लाठी बज्रियो । छातीमै लाठी प्रहार भएका उनको मृत्यु भयो । अब आमा र भाइबहिनीलाई खुसी दिने उनको सपना पनि अधुरै रह्यो । काकाका छोराहरूले उनको मृत्युको खबर तत्काल महाबु पुर्‍याए । आफन्तलाई सुजनको मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ ।

एकातिर सुजनको कोरिया सपना बिलाएको छ भने अर्कातिर परिवारको एक मात्र आशा निभेको छ। उनकी विधवा आमा नन्दाको बुढेसकालको खम्बा कहिल्यै नउठ्ने गरी ढलेको छ । कलिला भाइबहिनीको सहारा भत्किएको छ । वडासदस्य पवित्रा कुमारी गिरीका अनुसार सुजन पढाइमा सानैदेखि जेहेन्दार थिए । उनी पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।

गत साल मात्रै पति गुमाएकी नन्दाको होस गुमेको छ । वडासदस्य गिरी भन्छिन्, ‘‘ उनीलाई यसै पनि सम्हालिन कठिन भइरहेको थियो । तर छोरा पनि गुमाएको खबरले मुर्छित हुनुहुन्छ । गाउँमा रुवाबासी छ। भाइबहिनीको हालत उस्तै छ । गाउँका दाजुभाइले सम्झाउने प्रयास गरिरहनुभएको छ, तर घरमा कोही सम्हालिइरहनुभएको छैन ।’’ नेपाल भ्यूजबाट साभार ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार