सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गर्यो । सरकारको यस कदमले एक देशभर टिकटकप्रेमीलाई मात्रै होइन, आम जनसमुदायमै तरंग पैदा भएको छ । यसमा केही बौद्धिक व्यक्तिहरू दुई ध्रवमा विभाजितसमेत भएका छन्, बन्द गर्नुपर्ने र नगर्नुपर्नेमा । तर, केही कानुनविद्हरू त सरकारको यस कदमका विरुद्ध अदालतमा मुद्धासमेत दायर गरिसकेका छन् । मूलधारका भनिने राजनीतिक दलहरू भने प्रतिबन्धको समर्थनमै देखिन्छन् ।
एउटा कुरा अहिले सत्य के हो भने टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालका माध्यमसमेत चरम उच्छृंखलता, अराजकता, छाडापन र अश्लीलताको उदाहरण नै भएका छन् । कतिपय राजनीतिक व्यक्तित्व र समूहसमेत यस्तै छाडापनका कारण ‘लोकप्रिय’ भएका मात्र होइन स्थापितसमेत भएका छन् । लोकतान्त्रिक व्यवस्था आजका मितिमा सर्वोत्कृष्ट मानिए पनि संख्याबल सर्वोपरी हुनेहुँदा भीडले प्रधानता पाउँछ नै । यो वास्तवमा लोकतन्त्रको सबैभन्दा कमजोर पक्ष हो । भीड आज छाडापनमा रमाएको छ ।
सञ्जालमार्फत् मनपरी बोलेर कसैमाथि अनर्गल तथ्यहीन आरोप लगाएर लोकप्रिय बन्नेहरू पनि कमी छैनन् । एउटा समुदायलाई मनपरी गाली गरेर र बैंकको ऋण तिर्नुपर्दैन भन्ने लोभ देखाएर पनि व्यक्तित्व स्थापित भएका छन् । सभ्य समाजले कदापि स्वीकार गर्न नसक्ने बोली र वेशभूषाका साथ प्रस्तुत भएर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सामाजिक सञ्जालको चरम दुरुपयोग हुँदै गरेको र त्यसैबाट भीड आकर्षित भइरहेको तथ्यलाई स्विकार्नुको विकल्प छैन । नकारात्मकता, अराजकता र छाडापन किन मौलायो ? यस्तो कर्मबाट स्थापित हुन सकिन्छ र लोकप्रिय भइन्छ भन्ने प्रमाणित हुन पुग्यो । दोषी को हो ? त्यस्तैलाई प्रशंसा नगरेर बेवास्ता गरिदिएको भए त यस्तै पात्रहरू झांगिनै पाउने थिएनन् ।
लोकतन्त्रमा जो कसैले जस्तोसुकै विचार राख्न सक्छ, कसैमाथि आस्था अथवा विश्वास वा अनास्था अथवा अविश्वास प्रकट गर्न सक्छ र त्यस्तो आस्था वा विश्वासलाई स्थापित गराउन भरमग्दुर कोसिस गर्छ भने त्यो सरासर अपराध हो । यस्तैलाई कारबाही गर्न सञ्जालमा नियमन हुनुपर्छ । तर, जनताको आवाज राख्नै नपाइने गरी कुण्ठित गर्न पाइँदैन । सरकारले बुझोस् ।
फेसबुक प्रतिक्रियाहरु