शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मजदुरलाई ज्याला पाउनै सास्ती !
Breaking News

मजदुरलाई ज्याला पाउनै सास्ती !

‘घरमा छोराछोरीले दसैँको बेला मासु खाने आसा गरेका थिए । यो वर्ष मासु खुवाउन सकिएन ।’ वडा दसैँको नवमी दिन बिहान फिट्टु खड्काले फोनमा सुनाएका थिए । उनको घरमा गत वर्षयता मासुले प्रवेश नपाएको रहेछ । ‘छोराछोरीलाई विद्यालयबाट काम गरेको पैसा आउँछ । यो वर्ष त दुई किलो नै खसीको मासु ल्याउँछु भनेको थिएँ । हिजो (अष्टमी) दिउँसोसम्म हजार रूपैयाँ भए पनि दिनुस् भनेर बिलौना गर्दासमेत अध्यक्षले पैसा दिनुभएन । छोराछोरीलाई ठगेजस्तै भयो ।’

सबैको घरमा मासु पाक्ने भएपछि आफ्नो घरमा समेत पाक्ने आशमा हौसिएका छोरा छोरीलाई सान्त्वना दिने वातावरण नै नभएको उनले सुनाए । फोनमा उनले रूँदै भनेका थिए, ‘छोरा छोरीलाई मासु खुवाउने बाचा गरेको विफल भएपछि एकान्तमा आधा घण्टासम्म रोएँ र रित्तै हात घर फर्किए ।’

यो कथा खप्तडछान्ना गाउँपालिका–७ गोरखालीको हो । चरम गरिबीकोे सामना गरिरहेको खड्का परिवारले ज्यालादारी कामबाट आएको रकमबाट खाद्य सामाग्री किन्दै जिविकोपार्जन गर्दै आएको छ । यसपटक भने विद्यालयको काम गरेको रकम नआउँदा चामल, पिठो गाउँलेसँगै माग्दै गुजारा गरिरहेको फिट्टुले बताए ।

***

नयाँ वर्षको सुरूवात मै फिट्टु खड्कासहितको टोलीले गोरखाली आधारभूत विद्यालयको खानेपानी धारा र प्याड व्यवस्थापन खाल्डो निर्माण ग¥यो । दुई सातासम्म काम गरेर निर्माण सम्पन्न गरेपछि ज्याला पाउने आशामा रहेका उनीहरूले ८ महिना बित्दासमेत ज्याला पाएका छैनन् ।

गएको आर्थिक वर्षमा विद्यालयमा छुट्टाछुट्टै तीन वटा निर्माण योजना आएका थिए । संघ संस्थाले खाल्डो र धारा निर्माणका लागि बजेट दियो भने गाउँपालिकाले विद्यालयको गेटको लागि । काम गराउनका लागि तीन वटै योजनाको जिम्मेवारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर सिंहले लिए ।

सिंहले सबै योजनामा काम गर्ने मजदुरको उपस्थिति हाजिरी एउटैमा गरे । गेट बनाउँदा घाटा लागेको भन्दै खाल्डो र धारा निर्माणको समेत भुक्तानी रोके । ‘गेट बनाउँदा घाटा भए पनि खाल्डो र धारा निर्माणको पैसा आइसकेको थियो । त्यो रकमसमेत रूँदा हाँस्दा पनि अध्यक्षले दिएका छैनन् ।’ खड्का दुखेसो पोख्छन् ।

यता अध्यक्ष सिंह भने गेट निर्माणसहितका योजनाहरूको एउटै हाजिरी गरेको हुँदा निर्माणको रकम सामाग्री खरिदमै बराबर भएको हुँदा ज्याला दिन नसकेको बताइरहेका छन् । ‘काम धेरै गर्नुपर्ने तर रकम थोरै भएको हुँदा निर्माण सामाग्री खरिदमै खर्च भएकोले ज्याला दिन नसकेको हो ।’ उनले भने ।

अध्यक्ष सिंहका अनुसार सामाग्री खरिदबाट बचेको रकम बाड्न खोज्दा धेरै कम हुने भन्दै मजदूरले लिन नचाएको उनी बताउँछन् । ‘यो बचेको रकम थोरै भए पनि बाँड्न खोजेको हुँ । त्यो पैसा मजदुरहरूले लिन चाहानुभएन । सबै पैसा दिनका लागि आफूसँग नभएको हुँदा ढिलाई भएको हो ।’

बाँकी रहेको बजेट हिउँदे अधिवेशनमा पालिकाले छुट्याउने भनेको र त्यसैबाट भुक्तानी गर्ने उनी बताउँछन् । ‘पालिकाले कम बजेट दिएको हो, मैले आफ्नो घर बेचेर दिन सक्दैन । मजदुरलाई चित्त नबुझे आफ्नो तरिकाले अगाडि बढ्न भनेकै छु ।’ अध्यक्ष सिंह भन्छन् ।

***

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बालविकास आधारभूत विद्यालय पिठातोलामा दुई कोठे भवन पर्‍यो । भवन निर्माणको जिम्मेवारी व्यवस्थापन समितिका अध्यक्ष वसन्त आग्रीले लिए । निर्माणका लागि आएको २७ लाख रूपैयाँबाट ५ लाख रूपैयाँ विद्यालयमा राख्ने र २२ लाखमा भवन सम्पन्न गर्ने व्यवस्थापन समितिले निर्णय गर्‍यो ।

सोही निर्णयअनुसार भवन निर्माण भयो र रकम विद्यालयको नाममा भुक्तानी भयो । उक्त रकमबाट भवन बने पनि मजदुरले भने अहिलेसम्म ज्याला पाएका छैनन् । जेठमै निर्माण सम्पन्न भएर ज्यालाको पखाईमा बसेका मजदुरहरू ६ महिना बित्दासमेत पाएका छैनन् । ‘विद्यालयबाट पैसा आउला भन्दै बसेको महिनौँ भइसक्यो,’ भवन निर्माणको काम गरेका सन्तोष कार्कीले भने, ‘अध्यक्षले घाटा लागेको भनेर भोलि भोलि भन्दै समय सारिरहनुभएको छ । लगातार ६० दिनसम्म भवनमा बगाएको पसिनाको मूल्य अहिलेसम्म पाइएको छैन ।’ आफैँले काम गरेको पैसा पाउन झगडा गर्नुपरेको उनले सुनाए ।

कार्की जस्तै सोही विद्यालयबाट पीडित हुन् खप्तडछान्ना–६ राजकोटका लोकबहादुर थापा । बालविकासको भवन बन्ने बेलामा थापा तिउँदे (खामेगडा) को विद्यालय बनाइरहेका थिए । त्यसै बेलामा बालविकासका विव्यस अध्यक्ष आग्रीले थापालाई आफ्नो विद्यालय भवन बनाइदिन पटक पटक आग्रह गर्न थाले । ‘खामेगडाको विद्यालय बनाउँदै थियौँ, आग्रीले धेरै पटक आइदिन भनेपछि बिहान र दिउँसो गरेर दुबै ठाउँमा काम ग¥यौँ,’ थापाले भने, ‘रातदिन नभनी दुबै ठाउँका विद्यालय बनायौँ, अहिले धोका दिइरहनुभएको छ । पैसा माग्न जाँदा लुक्नु हुन्छ ।’

थापाले बालविकासमा काम गरेको करिब ५५ हजार रूपैयाँ पाउन बाँकी छ । उनले भने, ‘अध्यक्षले विद्यालय बनाउँदा १३ लाख घाटा भयो भन्दै हामीलाई ज्याला दिनुभएको छैन । काम गर्नेलाई त फाइदा घाटाको मतलब हुँदैन नी । फाइदा भए पनि उहाँले थप रूपैयाँ दिनुहुने थिएन ।’

थापाका अनुसार आग्रीले आफूलाई मात्रै नभएर धेरै मजदुरलाई ज्याला दिएका छैनन् । ढुंगा, बालुवा बोक्नेदेखि सिमेन्टको काम गर्नेसम्मका मजदुरले ज्याला नपाएको उनले बताए ।

यता अध्यक्ष आग्री भने विद्यालयमै भवनको मूल्यभन्दा ८ लाख बढी खर्च भएको दाबी गर्छन् । ‘२७ लाखको भवन हो,’ आग्रीले भने, ‘त्योबाट पाँच लाख रूपैयाँ विद्यालयमा राख्यौँ । २२ लाखमा बनाउने सहमति थियो । भवन बनाउँदैमा उल्टै ३५ लाख खर्च भयो । त्यसैले ज्याला दिन विभिन्न स्रोत खोज्दा ढिलाई भएको हो ।’

आग्री भवन निर्माणमा आवश्यक सामाग्रीले अपुग हुने भन्दै मजदुरकै दबाबले थप गिट्टी, बालुवा, सिमेन्ट ल्याउँदा घाटा भएको सतही आरोप लगाउँछन् । ‘आवश्यक सामाग्री ल्याएका थियौँ,’ आग्री भन्छन्, ‘मित्री (कामदार) ले छत बनाउँदा (लेन्टर) सामाग्री नपुगे अधुरो रहन सक्छ भनेपछि हतार हतारमा सामाग्री ल्यायौँ । अहिले बढी भएर थन्किएको छ । त्यसरी पैसा खर्च हुँदा ज्याला दिन नसकिएको हो ।’

बालविकास आविको जस्तै समस्या खामेगडाको विद्यालयमा पनि छ । ‘भवन बनाउँदा घाटा लाग्यो भन्दै प्रधानाध्यापक धर्मराज थापाले पैसा दिइरहनुभएको छैन,’ पुजारीगाउँका दिनेश खड्काले भने, ‘विद्यालयका सामान ओसार पसार गरेको ट्याक्टरको भाडा अहिलेसम्म पाएको छैन । उहाँहरूको (विद्यालय भवनको) असारमै भुक्तानी हुँदासमेत मजदुरले ज्याला र ट्याक्टरको भाडा दिनुभएको छैन ।’ दुइटै विद्यालयले मजदुर र ढुवानीकर्तालाई ठगेको खड्का बताउँछन् ।

खप्तडछान्ना गाउँपालिकाका योजना शाखा प्रमुख पदमराज जोशी भने कुनै पनि योजनाको लागतअनुसार नै बजेट जाने बताउँछन् । ‘इस्टमेटअनुसार नै बजेट जान्छ,’ उनले भने, ‘कसैले घाटा भयो भन्नु बाहाना मात्रै हो । हरेक संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन्छ । भइरहेको पनि छ ।’

उनी मजदुरमाथि उपभोक्ताले अन्याय गरेको बताउँछन् । ‘असारमै पाउनुपर्ने ज्याला नपाएका मजदुरले पालिकामा आएर उजुरी दिएपछि कानुनअनुुसार कारबाही हुन्छ ।’ उनले भने ।

गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि मजदुरको पैसा नदिने निर्माण व्यवसायी, उपभोक्ता समितिलाई कारबाही गरिने बताउँछन् । उनी भन्छन्, ‘गोरखालीको गेट निर्माण गरेका मजदुरलाई तुरून्तै रकम दिन भनेका छौँ । खामेगडामा पनि निर्देशन दिइसकेका छौँ । बालविकासको भने मजदुरको गुनासो सुनिएको छैन ।’ गुनासो आएमा तुरून्तै उपभोक्ता वा निर्माण व्यवसायीलाई कारबाही गर्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै