आइतवार, पुस ७, २०८१
  • होमपेज
  • कर्णाली पुलको जीर्णोद्धार कहिले ?
Breaking News

कर्णाली पुलको जीर्णोद्धार कहिले ?

कृप थापा

कैलाली । चिसापानीबाट बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने मात्रै होइन, सुदूरलाई पश्चिममा जोड्ने पुल पनि हो कर्णाली । सन् १९९३ मा निर्माण भएको पुलको बीच भागमा एउटा ठूलो खम्बा छ । स्टिलका तारहरू बाँधेर ट्रसलाई अड्याइएको पुलको लम्बाई पाँच सय मिटर र १० मिटर चौडाई छ ।

पुलको खम्बाबाट एकतिर ३२५ मिटर र अर्कोतर्फ १७५ मिटर लम्बाई रहेको छ । यसको निर्माणमा तीन हजार ८७० टन स्टिल प्रयोग भएको थियो । जापानको कावासाकी हेवी इन्डस्ट्रिजले निर्माण गरेको २०५० साल मंसिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।

पुल सञ्चालनपछि मात्रै सुदूरपश्चिमले कर्णाली पारी हुँदै देशका विभिन्न स्थानसँग सम्बन्ध गाँस्न पुग्यो । कर्णालीमा गाडी गुड्ने देशकै नमूना पुल बनेपछि सुदूरले विकासको गति लियो । यातायातको लागि त कर्णाली पुलले सुदूरपश्चिमलाई मुलुकभर नै जोड्यो । तर, पर्यटनको क्षेत्रमा भने सोचेअनुरूप योगदान गर्न सकेको छैन ।

केही समययता चिसापानीमा आन्तरिक पर्यटनले गति लिइरहेको छ । त्यसमा पनि यात्रुहरू गाडीबाट ओर्लेर पुलमा फोटो खिच्ने गर्छन् भने कतिपय चिसापानी पुलमै घुम्ने भनेर आउने जाने गर्छन् ।

चिसापानी अहिले भारतीय पर्यटकको उपस्थिति बाक्लो छ । भारतका विभिन्न सहरबाट चिसापानी पुल हेर्न आउने पर्यटकबाट पर्यटन चलायनमान भइरहेको छ । एसियाकै नमूना पुल हेर्नका लागि भारतीय पर्यटक पारिवारिक भ्रमणमा चिसापानी निस्कने गर्छन् ।

चिसापानीको पहिचान एक पिल्लरे पुल र कर्णालीका माछाको स्वादले नै प्रख्यात छ । आन्तरिक र बाह्य पर्यटकहरू मोटरबाइकदेखि पर्यटकीय बसमै रमाइलो गर्न आउँछन् । वर्षेनी चिसापानी अवलोकन गर्नेको संख्या बढ्दै गएको छ ।
कर्णाली विशेषगरि असोजदेखि मंसिरसम्म पुल हेर्ने निकै बढ्छन् । कर्णाली पुलले सामाजिक सञ्जालबाट झनै पर्यटक तानिरहेको छ । युवा युवतीहरूको रोजाईमा पर्ने कर्णाली पुलले पछिल्लो दुई वर्षयता भने टिकटकप्रेमीलाई बढी खिचिरहेको छ ।

अहिले चिसापानी, टिकापुर, कर्णाली नदीमा आन्तरिक होस् वा बाह्य पर्यटकको रोजाईमा डुंगासमेत लोकप्रिय भइरहेको छ । पर्यटक रमाइलो गर्दै जंगल, नदी नालाको छेउछाउमा स्वर्गीय आनन्द लिइरहेका हुन्छन् । कहिलेकाँही कर्णाली नदीमा ह्वेल माछा, जंगली हात्ती, बाघ, मृग, चित्तलसँग समेत पर्यटकले टाढाबाट सेल्फी खिच्ने गर्छन् ।

पूर्व–पश्चिम राजमार्गको मुख्य कँडीको रूपमा रहेको कर्णाली पुल पछिल्लो समय भने जीर्ण बन्दै गएको छ । पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।

२०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात् अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन । अहिले चिसापानी पुल पर्यटन क्षेत्र भएकोले यो पुल जीर्णअवस्थामा पुगेको हो । वि.सं. २०५० साल मंसिर २८ यतादेखि हालसम्म जीर्णोद्धारको कुनै पहल भएको छैन ।

चिसापानी पुलका कतिपय नट बोल्टहरू खुल्दै गएका छन् भने सपोर्टिङ केबुल तार चुँडिएका छन् । २०५२ सालमा तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेका दागहरू अहिले पनि स्पष्ट छन् । त्यसपश्चात् पनि मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।

गत मंसिरमा निर्वाचित भएका सुदूरपश्चिम प्रदेशका सांसदलाई स्थानीयले पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई भएको छैन । स्थानीयको गुनासोपछि गत साता कैलाली क्षेत्र नम्बर २ का प्रतिनिसभा सदस्य अरुण चौधरीले अवलोकन गरे । पुलको जीर्णोद्धारका लागि पहल गर्ने आश्वासन दिए । तर, अहिले भने फेरि सबैले चाँसो गर्नै छोडेका छन् ।

भेरी र कर्णाली नदीको दोभान, कर्णाली पुल, बिहानीपखको सूर्याेदयको संगमले मनमोहक भएको छ । चुरेको चुचुरोमा अवस्थित राजकाँडा निकै रमणीय छ । यहाँबाट दक्षिणतर्फ तराईको समथर भूभाग र उत्तरतर्फ चुरे पर्वत श्रृङ्खला देख्न सकिन्छ । उत्तरतर्फ हिराजस्तै सेताम्मे हिमाल टल्किएका छन् ।

पुराना दरबारको भग्नावशेष प्रष्टै छ । त्यस वरपर पूराना ईट्टा देख्न सकिन्छ । दरवार क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन् । टुँडिखेल, भैरवस्थान, देवीस्थान, देवल, रानीकुवा, ओखल, खजाने ओडार, हात्तीसार, निशाने ढुंगा, हात्तीढुंगा अहिले पनि देख्न सकिन्छ । ऐतिहासिक महत्व बोकेको राजकाँडाको संरक्षणमा ध्यान पुगे पनि सुदूरपश्चिमसँगै देशका सात वटै प्रदेशका सात वटा पर्यटकीय गन्तव्यमा बन्न सकिन छ ।

केही समयदेखि केवलकार चिसापानीदेखि राजकाँडाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने केही महिनाभित्रै जालपादेवी केवलकार प्रालिले केवलकार निर्माणको काम सुरू गर्ने भनिएको छ । जसले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिसकेको छ । अब त्यसको स्वरुप अवश्य बदलिने छ ।

अहिले पनि चिसापानीदेखि पैदल यात्रा र लम्कीदेखि सडक मार्ग हुँदै आन्तरिक पर्यटक राजकाँडा पुग्न थालेका छन् । चिसापानीमा विशेष गरेर दशैँ, तिहार र विधार्थीहरूको बनभोजस्थल जस्तै देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार