काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । आज शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाऊ आदेश दिएको हो । आदेशमा रिटलाई अग्राधिकार दिँदै माओवादी अध्यक्ष प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको दिइएको छ । रिटमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश माग गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्रै जिम्मेवारी आफूले लिने बताउनुभएको थियो । अध्यक्ष प्रचण्डको त्यस अभिव्यक्तिलाई लिएर गएको कात्तिक महिनामा अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले रिट निवेदन दिनुभएको थियो । त्यस बेला दरपिठ गरिएका निवेदनहरूको दरपिठ बदर गर्न सर्वोच्च अदालतले फागुन १९ गते आदेश दिएपछि मङ्गलवार त्यो रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको हो ।
माओवादी केन्द्रले यसअघि नै विज्ञप्ति निकालेर मुद्दा दर्ता गर्ने सर्वोच्चको आदेशलाई नेपालको संविधान र अग्रगामी उपलब्धिहरूविरुद्धको गतिविधि भन्दै आफ्नो असहमति सार्वजनिक गरेको छ । आज बिहानसमेत प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र र माओवादी पृष्ठभूमिका दलका नेताहरूले बैठक बसेर शान्ति प्रक्रियाविरुद्धका मुद्दामा एक भएर प्रतिरोध गर्ने निर्णय गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु