एजेन्सी । घरमा पाहुना आए स्वागत सत्कार गर्ने चलन सबैजसो समुदायमा छ । पाहुनालाई मीठामीठा खानेकुरा दिएर सत्कार गरिन्छ । तर नामिबियाको एक समुदायमा पाहुनालाई सत्कार गर्ने परम्परा सुन्दा पनि अचम्म लाग्ने किसिमको छ । जसले पाहुनाको सत्कारमा आफ्नी श्रीमतीलाई नै सुम्पिने गरेको छ ।
नामिबियाको उत्तरी भेगमा पर्ने ओमुसाती इलाकाका ओभाहिम्बा र ओभाजिम्बा कबिलामा रहेको संस्कृतिले पश्चिमा प्रभाव र तडकभडकलाई चुनौती दिइराखेको छ । कबिला समुदायमा जब कुनै पाहुना आउँछन् पुरुषले उनको स्वागत गरी खुशी जाहेर गर्न ‘ओकुजे पिसाओ मुकाजान्डु’ सत्कार गर्ने प्रस्ताव गर्छन् । यो सत्कार अनुसार ती पुरुषले आफ्नी श्रीमती एक रातका लागि ती पाहुनाको जिम्मा लगाउँछन् । आफूचाहिँ अर्कोको ठाउँमा सुत्छन् ।
यदि घरमा अर्को कोठा छैन भने उनको श्रीमान् घर बाहिरै रात बिताउँछन् । यो परम्परालाई कबिलाले घृणा, द्वेष हटाउने र मित्रता बढाउने कदमका रूपमा लिएको छ । कबिलाको जनसंख्या लगभग ५० हजार छ । यी कबिलाका महिला गाईको दूध दुहुने, बालबालिकाको हेरचाह गर्ने तथा घरका पुरुष सिकारमा गएका वेला दैनिक कार्यमा व्यस्त रहन्छन् । सिकारका लागि पुरुषहरू कहिलेकाहीँ त धेरै दिन घरबाहिरै रहन्छन् । यी घुमन्ते समुदायमा धनी उही कहलिन्छ, जोसँग धेरै गाईवस्तु छन् ।
बहुविवाह प्रचलनमा रहेको ओभाहिम्बा कबिलामा हिम्बा केटीको रजस्वला सुरु भएपछि बुबाले छानेको केटासँग विवाह हुन्छ । हिम्बा महिलाले रातो रङ लगाएर आफ्नो शरीर रातो पारेका हुन्छन् । उनीहरूको शरीर मा लगाइएको रातो रङलाई ओट्जी भनिन्छ । नौनी, गेरु आदि मिसाएर बनाइएको रातो लेपले उनीहरूको छालालाई सूर्यको विकिरण र किराको टोकाइबाट जोगाउँछ ।
साथै त्यसले उनीहरूको विचारमा भूमि र रगतबीचको सम्बन्धको महत्वलाई दर्शाउँछ । ती महिलाले पानीले नुहाउनुको साटो ‘धुम्रस्नान’ गर्ने तथा छालामा सुगन्धित तत्त्व लगाउने गर्छन् ।
कबिलामा महिलाले स्वनिर्णय लिन पाउँदैनन् । श्रीमानको आदेश पालना गर्नुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु