बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • दार्चुलामा बाढीपहिरोमा ५ जनाको ज्यान गयो, ४जना बेपत्ता
समाचार

दार्चुलामा बाढीपहिरोमा ५ जनाको ज्यान गयो, ४जना बेपत्ता

शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म ५ जनाको शव फेला परेको छ।

दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको छ। यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका ४ जना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए। यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ।
खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ। दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको छ। दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जीपहरु महाकाली नदिले बगाएको छ। महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ। उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएकाे छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार