बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • फेरि छान्नाको दुःख बन्दै जडारीगाड !
Breaking News

फेरि छान्नाको दुःख बन्दै जडारीगाड !

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्कीलाई सञ्चो नभएको एक महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि सार्की परिवार गत हप्ता नेपाल आए । बझाङको तमैल बजारसम्म गाडीमा आएका उनीहरू तमैलबाट भने स्टेचरको सहारामा आफन्तले पुनमलाई घर पुर्‍याए ।

गत वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगत्तै जडारीगाडले सडक बगाएर गाडी बन्द भएपछि सार्की परिवारले स्टेचरकोमा बिरामी पुनमलाई घर पुर्‍याएका हुन् । ‘मष्टाका पातीहान्याभन्दा अगाडि त तलबाट जडारीगाड माथिबाट पहिरो आइरहेको थियो,’ पुनमका छोरा राजु सार्कीले भने, ‘बिरामी बोकेर आएका, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौं । हत्तपत्त पहिरो छल्दै अगाडि आयौं ।’

भारतका विभिन्न अस्पतालले पुनमलाई गाउँमै लगेर औषधि गर्न सुझाव दिएपछि श्रीमान् अफी सार्कीसहित आमा छोरा घर आए । भारतमै मजदुरी गर्ने उनको परिवारलाई आमा बिरामी भएपछि बज्रपात परेको थियो । ‘कान्छो भाईलाई काकासँग छोडेर आयौ,’ राजुले भने, ‘डाक्टरले गाउँमै लिन सुझाव दिएपछि घर आएका हौं । यता बाटो नै रहेनछ । १/२ जनालाई पनि अघिपछि हिड्नै नसक्ने ठाउँमा स्टेचरमा २ अघि २ पछि मुस्किलले घर पुगेका छौं ।’

सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैको दुःख बनिरहेको छ । छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ । छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैं दुःख दिने गरेको खप्तडछान्ना–५ का कृष्ण थापा बताउँछन् ।

‘जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छ,’ थापाले भने, ‘गत वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिड्नुपर्छ । बाटो नै हुँदैन । बनाएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन ।’ बाटो सहज नहुँदा बिरामीलाई बोक्नुपर्‍यो भने त ज्यान नै तलमाथि हुनसक्ने थापाले बताए ।

गत वर्ष असोज ३० गतेदेखि कार्तिक ३ सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौंको भौतिक क्षति भएको थियो भने ६ जनाको ज्यानै गएको थियो । मौसम पूर्वानुमान महाशाखाले गत वर्षको बाढीले गलेको जमिन बग्न सक्ने भन्दै सतर्कता रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने संकटमा परेका छन् ।

खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खाती भन्छन्, ‘मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने संकेत गरेको छ । अब हाम्रो त कतै जाने ठाउँ पनि छैन । गत वर्षको बाढीले सर्वस्व लुट्यो । यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौं ।’

खातीका अनुसार खातीगाउँमा पानी परेको दिनमा रातभर जाग्राम बस्छन् । दिउँसो आगनमै जडारीगाड हेरेर टोलाउँछन् । ‘अब के गर्ने, कता जाने, के खाने पनि टुंगो छैन । गत वर्षको बाढीले सबै लुट्यो । अहिले रित्तै छौं ।’ उनी भन्छन् ।

यता खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउँछन् । ‘योभन्दा अगाडि बजेट पनि थिएन । अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौं । अब कार्यान्वयन हुन्छ ।’

अध्यक्ष रोकाया विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउँछन् । ‘गत हप्ता विपदसम्बन्धि पूर्व तयारीका लागि बैठक पनि बसेको थियो । त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौंं । हाम्रो गाउँपालिकामा रहेको जेसीबीलाई पनि तम्तयार अवस्थामा राखेका छौं ।’ उनी भन्छन् ।

उनले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए । जडारीगाडले बाटो क्षति पु¥याएको ठाउँमा पनि वैकल्पिक बाटो बनाएको छ । घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार गरेको उनले बताए ।

‘पहिरोजन्य ठाउँमा पनि नजानका लागि सर्वसाधारणमा अनुरोध गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाभरि आएका पहिरोमा नहिड्नका लागि पनि सबैलाई आग्रह गरेका छौं । यदि कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई हाइअलर्टमा राखेका छौं ।’

उनले गाउँपालिकामा गर्भवती महिलाको अवस्था हेरेर सरकारी हेलिकोप्टरको व्यवस्था गर्ने बताए । ‘भदौ र असोजमा हुने गर्भवती महिलाको लिस्ट तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौं । बच्चा जन्माउन नसक्ने अवस्था भएमा हेलिकोप्टरमार्फत् रिफर गर्नेछौं । त्यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौं ।’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार