सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • को हुन् शिन्जो आबेका हत्यारा ?
Breaking News

को हुन् शिन्जो आबेका हत्यारा ?

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले ‘निश्चित संस्था’ विरुद्ध ईख राखेको बताएका छन् । ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा रहेको ठानेको र त्यसकै कारण उनलाई गोली हानेको बताएका छन् ।

सो समूहको नाम नखुलाइकन प्रहरीले त्यस्तो जानकारी दिएको हो । एउटा राजनीतिक अभियानमा सम्बोधन गरिरहँदा गोली हानिएका आबेको शुक्रवार बिहान अस्पतालमा निधन भएको थियो । यामागामीले उनलाई घरेलु बन्दुकले गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

६७ वर्षका आबे जापानका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री थिए । बन्दुकसम्बन्धी अपराध एकदमै दुर्लभ रूपमा हुने जापानमा भएको उनको हत्या मानिसहरूलाई स्तब्ध बनाएको छ । आक्रमणको केही बेर अघि लिइएको तस्बिरमा हमलाकारी आबेको पछाडि देखिन्छन् ।

आक्रमणको केही बेरअघि लिइएको तस्बिरमा हमलाकारी आबेको पछाडि देखिन्छन् । माथिल्लो सदनअन्तर्गत आइतबारका लागि तय गरिएको उप चुनावमा लिबरल डेमोक्रेटिक पार्टीको पक्षमा अभियानमा सहभागी भइरहँदा आबेमाथि गोली प्रहार भएको थियो ।

लिबरल डेमेक्रेटिक पार्टीका नेता रहेका जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आबेको निधनको खबरले आफू ‘निशब्द’ भएको भन्दै जापानको लोकतन्त्रले ‘हिंसासामु कहिले पनि घुँडा नटेक्ने’ बताएका छन् । उनले थप सुरक्षा व्यवस्थासहित शनिवार चुनावी अभियान सञ्चालन हुने र आइतबारको मतदान जारी रहने बताए ।

प्रहरीले हमलाकारीले आबेलाई नै निशाना बनाउनुको कारणका बारेमा अनुसन्धान गरिरहेका छन् । उनीहरूले हमलाकारी एक्लैले यो काम गरेका हुन कि होइनन् भन्ने पनि छानबिन गरिरहेको जनाएका छन् । एक जना राजनीतिक उम्मेदवारको पक्षमा दक्षिणी सडक नारामा सडकको चोकमा उभिएर सम्बोधन गरिरहेका बेला हमलाकारीले आबेलाई पछाडिबाट गोली प्रहार गरेका थिए ।

उक्त घटनास्थलमा खिचिएका तस्बिरमा गोली हान्नुअघि उनी आबे नजिकै उभिरहेको देखिन्छ । प्रत्यक्षदर्शीहरूले एक जना व्यक्तिले ठूलो बन्दुक बोकेर आबेभन्दा केही मिटर पर हिँडेको र दुई पटक गोली चलाएको देखेको बताएका छन् ।

विश्वास नै गर्न नसकिने घटना भएको देखेर छेउछाउमा उभिएका व्यक्तिहरू चिच्याइरहँदा आबे भुईँमा ढलेका थिए । त्यसपछि सुरक्षा अधिकारीहरू ती बन्दुकधारीमाथि हाम फालेका थिए । तर हमलाकारीले भाग्ने कुनै प्रयास गरेनन् ।

हमलाकारीले के भनेका छन् ?

आबेको हत्यामा प्रयोग गरिएको बन्दुक धातु र काठले बनेको प्रहरीले जनाएको छ र त्यो एक प्रकारको टेपले बेरिएको थियो । पछि सन्दिग्ध हमलाकारीको घरमा कैयौँ अरू घरेलु बन्दुक र विस्फोटक सामग्री फेला परेको थियो ।

प्रहरीले हमलाकारी बेरोजगार रहेको जनाएका छन् । समाचार संस्था रोर्यटसका अनुसार हमलाकारीले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्न चाहेको बताएका छन् ।

घटनास्थलको भिडिओमा उनले खैरो रङ्गको टी–सर्ट र ट्राउजर लगाएको देखिन्छ ।रक्षा मन्त्रालयका सूत्रहरूलाई उद्धृत गर्दै जापानी प्रसारक एनएचकेले भनेको छ, ‘सन्दिग्ध सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् र उनले आफैँले बनाएको बन्दुकले गोली हानेका थिए । सन् २००५ देखि ३ वर्षसम्म उनी जापानको सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए ।’

अनुसन्धानकर्ताहरूका अनुसार हमलाकारीले एउटा धार्मिक समूहका नेतामाथि आक्रमण गर्ने योजना सुरुमा बनाएका थिए ।

आबेको शव टोक्यो लगियो

गोलीका कारण आबेको घाँटी र मुटुमा गम्भीर चोट लागेको थियो। हमला भएको केही मिनेट उनको चेत कायमै रहेको र प्रतिक्रिया जनाइरहेको भनिए पनि उपचारका लागि लैजाँदासम्म उनको महत्त्वपूर्ण अङ्गले प्रतिक्रिया जनाउन छाडेका चिकित्सकहरूले बताएका थिए ।

उनलाई शुक्रवार नै चिकित्सकहरूले मृत घोषणा गरेका थिए । शनिवार स्थानीय समयअनुसार ६ बजे आबेको शव बोकेको एउटा ठूलो वाहन अस्पतालबाट उनको टोक्योस्थित निवासका लागि गएको देखिएको थियो । संवाददाताहरू भन्छन् बन्दुकसम्बन्धी हिंसाहरू एकदमै दुर्लभ हुने जापान पछिल्लो हत्याकाण्डले स्तब्ध भएको छ ।

तर, राजनीतिक नेताहरूले आइतबार हुने राष्ट्रिय सभाको चुनावको अभियानलाई निरन्तरता दिने बताएका छन् । (बीबीसीबाट)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार