काठमाडौं । तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ३० चैतमा शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनले मृत्यु हुनुभन्दा अघि आफूलाई उद्धार गर्न दाजुसँग सहयोग मागेको खुलेको छ । दाजु पुष्पक खत्रीलाई राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा कुरा गरेकी उनले लेखेकी छन्, ‘दाइ म मर्न चाहन्न, मलाई यहाँ (घर )बाट निकाल्नुस् ।’ तर त्यस्तो म्यासेज लेखेको आधा घण्टामै विष सेवनबाट उनको मृत्यु भएको खबर आएको माइती पक्षले बताएको छ । त्यो साँझ अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् । तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि घर गएकी अमृताकी आमा सावित्राले पत्रकारहरुसँग बताइन् । माइतबाट घर गएको करिव ४० मिनेट पछि राती ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्, ‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो ? घर न घाटको अब त्यो चेली कहाँ जाने ?’
दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन सटमा अमृताले लेखेकी छन्, ‘दाई म मर्न चाहन्न, म यहाँ बस्न नि सक्दिन, दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’ त्यसपछि पुष्पकले भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला भनेका थिए । त्यसपछि उनीहरुको कुराकानी भएन । पुष्पकले बहिनीलाई तत्काल फोन गरे तर फोन स्वीच अफ थियो । त्यसपछि अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो । माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनावद्ध हत्या गर्न विष सेवन गराएकोहुन सक्ने बताएको छ । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छुट्टिएर एक्लै बस्छु भन्थी’, आत्महत्या हुँदै नभएको आमाले दाबी गरेकीछन् ।
प्रहरीको भूमिकाप्रति माईती पक्षले आशंका गरेका छन् । मृतकका माइती पक्षले प्रहरीले सुरुदेखि नै अनुसन्धान फितलो बनाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् । ‘अनुसन्धान र डीएसपीको भूमिकाप्रति हामीलाई चित्त बुझेको छैन, शंका लागेको छ’, मृतकका दाजु पुष्पकले भने, ‘घटनाको सीआईबी टोलीबाट उच्चस्तरीय छानबिन हुनुपर्छ ।’ निष्पक्ष अनुसन्धानका लागि दबाब दिन अमृताको माइती पक्षले आन्दोलन सुरु गरेको छ । माइतीमा रहेकी अमृतालाई पटकपटक फोन गरेर बोलाउनु, विष सेवन गरेको भने पनि सुरुमा माइती र छिमेकीलाई खबर नगरी सिधै अस्पताल पु¥याउनु र मृत्यु भएपछि मात्र माइतीलाई जानकारी दिनुले योजनावद्ध हत्या भएको माइती पक्षको दावी छ ।
नौ वर्षअघि प्रेम विवाह गरेकी अमृतालाई श्रीमानसंगै सासु र ससुरा समेतले सुरुदेखि नै हेला गर्ने र यातना दिने गरेको मृतकका दाजु पुष्पक बताउँछन् । विवाह भएको एक बर्षपछि प्रेम र अमृताको एक छोरा जन्मेको थियो । ‘साना तिना कुरामा पनि गालीगलौज गर्ने र लाञ्छना लगाउने काम भइरहेको थियो’ पुष्पकले भने, ‘गत भदौमा पनि वडा कार्यालयमा निवेदन दिएर मिलेर बस्ने सहमति भएको थियो ।’ मृत्यु हुनु अघिल्लो दिन पनि श्रीमान् प्रेमले अमृतालाई हातपात गरेको र भारत जान दबाव दिँदा अमृताले अस्वीकार गरेको माइती पक्षको भनाइ छ । बहिनीमाथि हातपात भएको थाहा पाएपछि पुष्पक श्रीमती मधुलाई लिएर बहिनीको घरमा गएका थिए । तर अमृताकी सासु दीपा टण्डनले घरको मामिलामा किन हस्तक्षेप गर्न आएको भनेर दाजु भाउजुलाई घरमा छिर्न नदिएको उनीहरुले बताएका छन् ।
प्रेम टण्डन र उनको परिवारले केही महिना अघिदेखि पुष्पकसहित अमृताका माइती सबैको फोन ब्लक गर्नुले पनि हत्यामा परिवारको संलग्नतालाई बल पु¥याएको माइती पक्षको तर्क छ । अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् । अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ र अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमका लागि शवलाई काठमाडौं लैजान माइती पक्षको माग छ ।
फेसबुक प्रतिक्रियाहरु