शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • १०० रुपैयाँबाट सुरू गरिएको मेची-महाकाली यात्रा
Breaking News

१०० रुपैयाँबाट सुरू गरिएको मेची-महाकाली यात्रा

महेन्द्रनगर । अनुहारै छोपिनेगरी घाँटीभरी खादा । गहुँगोरो अनुहार पनि रताम्य भएको । न धेरै अग्लो, न होचो नै । ठीकैको जीउडाल । वरिपरि सेल्फी खिच्नेको ताँती । उनी थिए साइकल यात्री अभिनय कार्की ।

उनको नाम नै अभिनय । झट्टै उनको नाम सुन्दा नक्कल पार्ने, नक्कले अर्थात् अभिनयकर्ता । उनले खेलेका नाटकहरुबाट नै उनको नाम अभिनय भएको हुनसक्ने यो पंतिकारलाई पनि नलाग्ने कुरै भएन । नभन्दै उनले धेरै ठाउँमा अभिनय गरेका समेत रहेछन् । कतै चाहेर त कतै बाध्यताले ।

दोलखाको कालिञ्चोक –३ मा जन्मिएका कार्की एक कलाकार पनि हुन् । शब्दको खोजी गर्ने उनी परिवारको समेत साथ पाएपछि गायन पेशामा स्थापित हुन थाले । २३ वर्षीय कार्की स्थानीय श्रीपोखरे निमाविबाट अध्ययन सुरु गरेका कार्की लामो समय आफ्नो पेशाबारे अन्यौल नै रहे । ‘म सानोमा नेपाल भनेकै त्यही दोलखा डाँडा मात्रै देख्थे । मेरो लागि निलगिरी हिमाल, अनि त्यहाँका डाँडाकाँडा नै नेपाल थिए । पछि बुझ्दै जाँदा नेपाल भन्ने थाहा पाए । विभिन्न पेशाप्रति लोभिए ।

नयाँ शब्द खोज्ने र आफ्नै लय झल्काउने सोचका साथ कार्कीले २ वर्षपछि एक दिन गीत गाउने अवसर पाए । तर, त्यो गीत समूहमा गाइएको थियो । पछि गीत मिक्सिङको बेलामा उनको स्वर गीतबाट हटाउँदा उनलाई साह्रै नरमाइलो भयो । आफ्नो स्वरसहितको गीत हटाए पनि उनको गीत गाउने हुटहुटी भने हटेन । त्यसकै लागि उनी अध्ययन छोडेर राजधानी लागे । राजधानी पनि उनका लागि सहज भने भएन । पुनः दोलखा फर्किए । जिल्लामा माद्यमिक तहको शिक्षा हासिल गरेपछि फेरि राजधानी छिरे । राजधानीमा संगीत क्षेत्रमै भर्ना भए ।

केही वर्षको राजधानी बसाइपछि जिल्लामा गएर रेडियोमा जोडिए । रेडियोमा पनि उनको यात्रामा छिट्टै पूर्णविराम लाग्यो । घरबाट पत्रकारितासम्बन्धी तालिम लिने भनेर भैंसी बेचेको २० हजार रुपैयाँ बोकेर राजधानी छिरेका कार्कीले मल्टिलेबल मार्केटिङमा छिरे । त्यहाँ घरको पैसासहित करिब १ लाख रुपैयाँ डुब्यो । त्यसपछि उनको यात्रा सडकमा भयो ।

संघर्षशील कार्की सडकमा पनि रित्तै बसेनन् । रत्नपार्कको फुटपाथमा सामान्य ईलेक्ट्रोनिक समानहरुको व्यापार गर्न थाले । उनलाई पत्रकारिता क्षेत्र मन पर्ने भए पनि त्यो पेशामा टिक्ने जाँगर भने थिएन । राजधानीमा विभिन्न ठक्कर खाएर कार्कीको मनमा अर्को रहर पलायो । मेची–महाकालीे पैदल यात्रा । १०० रुपैयाँबाट सुरु भएको पैदल यात्रा पूरा उनले छोटो समयमै पूरा गरे ।

पैदल यात्रा गर्न पैसा संकलन गर्न काँडाघारी गान्धी  कलेज अगाडि एफोर पेपर लिएको बेला एक जना सर्लाहीका मान्छेले उनको मेची–महाकाली पैदल यात्राको कुरा सुनेपछि विश्वास गरेर ५५ रुपैयाँ दिए । उनी भन्छन्, ‘त्यो रुपैयाँ मेरो लागि करोडौं बराबर थियो । त्यसैगरि सुदूरपश्चिमकोे १ जनाले २५ रुपैयाँ दिए । यसरी निरन्तर सहयोगपछि मनमा हौसला र खुसीकोे रेसाहरु उत्पन्न भए ।’

निरन्तरको सहयोगपछि झण्डै ३ हजार रुपैयाँ संकलन भयो । रकम संकलनपछि २०७७ साल फागुन ६ गते जन्मदिनको अवसर पारेर कार्कीले मेची–महाकालीको पैदल यात्रा सुरू गरे । काठमाडौबाट ४ गते हिडेका उनी ५ गते मेची जिल्ला पुगेर पत्र बनाएर ६ गते हिड्ने योजनामा मेची पुल पुगे । तर, कति हिड्ने ? कता गएर बस्ने ? के खाने ? भन्ने योजनाबिहीन थिए ।

‘विश्वभरि सुख शान्ति समृद्धिको लागि राष्ट्रिय एकता’ को कामना गर्दै विश्वका १०० भन्दा बढी झण्डा बोकेर यात्रा गर्न थाले । झापा जिल्ला हुँदै मोरङमा पुग्दा उनी जंगलमा अलपत्र परे ।

दुःख, पीडा, भोक, प्यास, निन्द्रा, परिवार, आफन्त सबैलाई त्यागेर यात्रा गरिरहँदा ३७ दिनमा मेची–महाकाली पार गरेर कञ्चनपुरको दोधारा–चाँदनीसहित गड्डाचौकी पुगेर टुंग्याए । मेची–महाकाली पैदल यात्रा सकेर उनी काठमाडांै फर्के । उनलाई त्यो बेला सम्मान गर्नेको लर्को थियो ।

यात्रा सकेर काठमाडौं पुगेपछि स्वर्ग पुगेको जस्तै महशुस भएको उनले बताए । ‘जीवनमा कहिल्यै नमिलेको खुसी लिए । मेची–महाकाली यात्रा पूर्वको अभिनय र यात्रा पछिको अभिनयलाई हेर्ने नजर धेरै फरक भयो ।

पैदल यात्रापछि उनी साइकल यात्राको तयारीमा जुटे । असारको पहिलो साताबाट साइकल यात्रा सुरु गर्ने सोच बनाएका उनलाई कोरोनाले पछाडि धकेली दियो । दोलखाको कालिञ्चोक गाउँपालिकाले साइकल उपलब्ध गराएपछि २०७८ साल पुसको १५ गतेबाट दोलखाको चरिकोटबाट साइकल यात्राको सुरूवात गरे ।

उनलाई दोलखाका सबै स्थानीय तहले आफ्नो नियमअनुसार भ्याएसम्मको आर्थिक सहयोगसमेत गरेको छ । विभिन्न व्यक्तिहरूले पनि सहयोग गरेका छन् । झण्डै २०/२५ जिल्ला पार गरेर यतिखेर कार्की सुदूरपश्चिमको यात्रा गरिरहेका छन् ।

कार्की साइकल यात्राको क्रममा उनी जुन जिल्ला पुग्दछन त्यो जिल्लामा प्रहरीसँग समन्वय गरेर हिडिरहेका छन् । दोलखाको सदरमुकाम चरिकोटबाट ‘फ्रस्ट्रसन, डिप्रेसन र लागूऔषध दुर्व्यनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एक जुट बनौं’ भन्ने मुल सन्देशलाई प्रवाह गर्दै पर्यटन प्रवर्द्धन र लागूऔषधसम्बन्धी जनचेतनाको लागि नेपालको ७७ वटै जिल्लाहरु १०० दिनको अवधिमा साइकलको माध्यमबाट पुग्ने लक्ष्य सुरू गरिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार