बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • निर्वाचन आयोगद्वार स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय
Breaking News

निर्वाचन आयोगद्वार स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय

 

निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ्ग भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारे । आयोगले स्थानीय तह चुनावका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन) मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरूले फरक–फरक प्रतिक्रिया जनाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताएका थिए । सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह चुनावको मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताएका छन् । आयोगले २०७४ सालको चुनावमा मतपत्र निलो मसीले छपाइ गरेको थियो । मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उनको भनाइ छ । स्थानीय तहको चुनावमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो ।
आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उनले कसैलाई द्विविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार