भर्खरै २० वर्ष पूरा भयो। मेरो केही बाल्यकालको समय भारततिर बितेको भए पनि बाल्यकालदेखि आजसम्मको समय यहीँ चन्द्र-सूर्य ध्वजा भएको देशमै बितिरहेको छ।
बाल्यकालदेखि मलाई आजसम्म याद भएका कुरा वा आजसम्म मेरा वरपरका गाउँले, आफन्त, दिदीबहिनी, साथीहरूका वास्तविक कहानी यहाँहरूमाझ पस्कँदै छु।
मेरो घर सुदूरपश्चिमको विकट जिल्ला बैतडी हो।
बाल्यकालको सुरूआती चरण मेरो भारतको राजधानीमा बितेको थियो। पछिल्लो बालापन बैतडीकै सानो गाउँको भिरपाखामा उकाली ओराली गर्दै बित्यो, म त्यो बालापन थोरै सम्झन्छु। मैले मेरो टोलमा उच्च शिक्षा गरेकी महिला कहिल्यै भेटिनँ।
वास्तवमै भनौं भने आज पनि उच्च शिक्षा गरेकी महिला त्यो टोलमा भेट्न दुर्लभै जस्तो छ।
तपाईंलाई म मेरो बाबाको हजुरबाजेको बारेमा थोरै कुरा सुनाउँछु।
उहाँले कति पढ्नु भएको थियो, त्यो मलाई याद छैन तर पढ्न चाहिँ अवश्य पढ्नु भएको थियो। न त बिहानै पाँच बजे नै उठेर ती ठूला-ठूला संस्कृत भाषाका धार्मिक ग्रन्थका किताब पढ्न र फुर्सदको समयमा मलाई पढाउन आउँदैन थियो होला।
म सानै थिएँ, उहाँको पढाइको बारेमा सोधेँ कि सोधिनँ याद रहेन आजसम्म तर उहाँ शिक्षित हुनुहुन्थ्यो। उहाँ शिक्षित भए पनि छोरीलाई विद्यालय पठाउनु भएन। उहाँका चार छोरी थिए, छोरीहरूलाई घरकै कामकाज चुलोचौको वनपाखा रूख डाला घाँस दाउरामा सीमित राख्नु भयो।
उसो त ऊ बेला विद्यालय पठाउने उमेर समूहका छोरीलाई विवाह गरेर पराई घर पठाहाल्थे रे, सायद त्यही भएर पनि होला जस्तो लाग्छ उबेलाका छोरीहरूले विद्यालयको मुखै देख्न पाएनन्।
मेरै हजुरआमाको कुरा गर्ने हो भने पनि गर्भको एक वर्ष समेत जोडेर ९ वर्षको उमेरमा विवाह गरेर आउनु भएको रे। हजुरआमाले भन्नुहुन्छ ‘सल्लाको पाटीमा सेतो खरीले अ, आ र कपुरी ‘क’ अक्षर कोरेको मात्रै याद छ। बाँकी केही याद छैन।’
उहाँ भन्नुहुन्छ- ‘आफ्नो (ईजा) आमासँग घाँस दाउरा काट्न सिक्नमै व्यस्त थिएँ नाना (नाना हजुरआमाले मायाले बोलाउने नाम हो), अनि कसरी पढ्नू त? त्यसै पनि गर्भको उमेर समेत जोडेर ९ वर्षमै विवाह भइहाल्यो।’
हजुरआमाका ती तीता सत्यकुरा सुन्दा अत्यास लाग्थ्यो।
ऊबेला समय नै त्यस्तै थियो। आजभोलि भने हजुरआमाले प्रौढ शिक्षा पढेर आफ्नो नाम लेख्न सक्नुहुन्छ। यति मात्रै हैन, स्वस्थानी परमेश्वरीको कथा पनि वाचन गर्नुहुन्छ। सायद आमालाई त्योबेला पढाएको भए त्यसपछिको पिँढीहरूका महिलाहरूले राम्रो शिक्षा पाउँथे होला भनौं भने हजुरआमाका बुहारीहरूले पनि…।
अहिले ती सबै कुरा सोच्दा खल्लो लाग्छ।
हजुरआमा सँगैसँगै आमा र आन्टीले समेत शिक्षाको रुख चढ्न पाउनु भएन। खालि ती जंगलका बाँज, उतीस, तिमलो, खनिउँ लगायतका रुख चढ्दै तिनै भिरपाखामा उकाली ओराली गर्दै दिन गए।
ऊबेला पनि शिक्षा हासिल गरेका छोरी त थिए होला नि हैन र? म आफैंलाई प्रश्न गर्छु। आखिर छोरीलाई घाँसदाउरा, चुलोचौको मै किन सीमित?
उत्तर पनि सरलै भेटाउँछु, यदि छोरी मान्छेलाई पढायो भने पहिला त ऊ पराईको घर जान्छे, त्यसपछि पराई घरकाले पराईको घरबाट आएकीलाई पढाएमा बाठी हुन्छे रे अनि बुहारी मान्छे त्यसरी बाठी भएको राम्रो होइन रे, घरको इज्जत बग्छ रे! त्यही इज्जत बग्ने डरले बुहारीलाई पढाएनन् भने छोरी पराई घर जाने भएकाले पढाउन चाहेनन्।
कस्तो सोच होला! सुन्दा उदेग लागेर आउँथ्यो। यो त हजुरआमाको पालाको कुरा थियो। म तपाईंलाई मेरो प्राथमिक शिक्षा आजर्न गर्ने बेलाको समयतिर लैजान्छु।
त्यो बेला मेरो उमेर समूहका मसँग पढ्ने साथीहरु खासै थिएनन् भनौँ भने कक्षामा सबैभन्दा उमेरले सानी मै थिएँ होला। मैले ४, ५ कक्षा पढ्दा, कक्षामा ठूल्ठूला विद्यार्थी मात्रै देखिन्थे, मलाई लाज लाग्ने गर्थ्यो।
म त्यो बेला भारतबाट आएकाले भाषामा पनि अलि समस्या हुने गर्थ्यो। म प्रायःजसो हिन्दी बोल्ने गर्थें। साथीहरु केही बुझ्दैन थिए, सायद त्यो पनि एक कारण थियो होला मेरो कोही पनि साथी नहुनुको।
मैले घरमा आएर आमालाई भन्ने- मेरो कक्षामा मेरो उमेर समूह कसैसँग मिल्दैन, सबैजना विद्यार्थी ठूला-ठूला छन्। त्यसैले मेरो साथी पनि कोही छैन। मलाई बाटोमा समेत प्रायः जसो ती दाजुदिदीहरुले फुच्ची भनेर गिज्याउछन्। त्यसैले म पनि ठूली भएपछि मात्रै स्कुल जान्छु नि है?
मैले यति भनिसक्दा आमाले मलाई धेरै सम्झाउनु भयो। भन्नु भयो- ‘तिम्रो स्कुलको म्याडमसित म कुरा गरौँला, चिन्ता नगर।’
त्यसपछि आमाले म्याडमलाई भन्नु भएछ। ठ्याक्कै संयोगवश स्कुलमा आमाले भनेकै दिनदेखि उहाँ म्याडमकै छोरी नयाँ विद्यार्थी भएर आएकी रहेछिन्। अब मलाई सजिलो भयो, उनी मेरै उमेर समूहकी थिइन्। त्यो दिनदेखि उनी मेरी मिल्ने साथी भइन्।
एक दिन हामी दुवै जना इन्टरभलमा स्कुलको अफिस पछाडि बसेर सुन्तला खाँदै थियौँ। एकजना नचिनेकी महिला हाम्रो स्कुलको अफिस भित्र पसिन्, अफिसमा हेडसर हुनुहुन्थ्यो। ती महिला हेडसरसँग भन्दै थिइन्, ‘मेरो छोरीलाई त केही आउँदैन, योपालि पनि माथिल्लो क्लासमा नलगी दिनुहोला है।’
त्यो बेला प्राथमिक विद्यालयका छात्राहरुलाई छात्रावृत्तीसँगै ५ वा ३ लिटर डल्टा (वनस्पति तेल) मिल्ने गर्थ्यो। त्यही डल्टा देलान् भन्ने प्रलोभनमा धेरैले छोरीहरुको स्कुल भर्ना गराएका हुन्थे तर स्कुल भर्ना गराए पनि धेरैजसो अभिभावकले छोरीहरुलाई स्कुल हप्ताको एक दिन मात्रै पठाउथे।
हेडसरको कुरा सुन्दा सायद उनी पनि त्यसै भित्र पर्थिन् होला। हेडसरले भन्दै हुनुहुन्थ्यो ‘तपाईंकी छोरी माइत आए झैँ गरी स्कुल आउछे अनि कसरी जान्ने हुन्छे त? तपाईंले स्कुल पठाउनु हुन्न, खालि यो डल्टा लिने बेला आउनु हुन्छ, अरुबेला वास्ता हुँदैन अनि तपाईंहरु जस्ता अभिभावकले गर्दा छोरीहरु शिक्षा आर्जन गर्नबाट वञ्चित छन्।’
नभन्दै वास्तविक कुरा पनि हामीले सोचिरहेको जस्तै रहेछ। उनी सुदूरपश्चिमकै भाषामै भनिरहेकी हुन्छिन्- ‘इसै डल्टाले त नान साग भुटाकी होई रैछरे खालि आगाआगा कलासु न पुगाइबटी के हुने होब भोल पोइल जाने हेरे (यहीँ डल्टाले तरकारी फ्राई गर्न सहयोग गरेको छ, खालि छोरीलाई अघिल्लो कक्षामा पुर्याएर के गर्नु, भोलि अर्काको घर पठाउनु पर्ने हो क्यारे)’
उनको त्यो अभिव्यक्ति सुन्दा त हामी दुवैजना चकित भयौँ।
छोरी भनेको पराईको घर सम्हाल्न मात्रै पो जन्मेकी रहेछ त? हुन त उनलाई दोषी कसरी भन्नु, उनले आफैले पनि शिक्षाको रुख चढ्न पाइनन्। त्यसैले उनलाई शिक्षाको महत्व पो कसरी थाहा हुन्थ्यो?
केही समयपछि उनको छोरीको पनि विवाह भयो। उनका पनि चाहना, इच्छा त थिए होलान् तर उनलाई कसले पो सोध्थे र! उनी अब त्यही घरको चुलोचौको भित्रै हराइन्। गाउँमा शिक्षको रुख चढ्नुभन्दा पनि बाज,उतीस, तिमलो, खनिउँ लगायतका रुखहरु चढ्दै उकाली उरालीसँगै घाँस दाउरा काट्नमा छोरीहरुको होडबाजी चलिरहन्थ्यो।
म कक्षा नै मा पढ्दै थिएँ, त्यही बेलामा मेरो एकजना बहिनी नाता पर्नेको विवाह भयो। मलाई मेरो बाबाको हजुरआमाले भन्नु भएको थियो। उनी मभन्दा ७ दिन मात्रै कान्छी थिइन् रे। उनको र मेरो कक्षा पनि एउटै थियो। उनी पढ्नमा राम्रो थिइन् तर पनि समाज र घर परिवारको कारण उनी विवाहको परिधिमा बाधिइन्।
उनको विवाहको खबरले हामी कक्षाका सबै साथीहरु छक्क परेका थियौं। यति सानै उमेरमा विवाह पो भयो भनी। विवाह भएपछि उनले एक वर्ष मात्रै पढ्न पाइन्। जसोतसो एसएलसी पास गरिन्। अब उनलाई ती वन पाखासँगै रमाउन आदेश दिइयो र विद्यार्थी जीवनबाट विश्राम लिनु पर्यो। त्यति बेलाको त्यो क्षण एकदम दुःखद् र अविस्मरणीय रह्यो।
उनको विवाहपछि पनि उलाई विद्यालय पठाएको भए उसलाई आज धेरै जना मान्छेले चिन्ने थिए होला। राम्रो पोस्टमा जागिर गरिरहेको देख्न पाइन्थ्यो होला तर खै! उनी ती गाउँका भिरपाखा पखेरासँगै कहाँ हराएकी छन्? के गर्दै छन्? मलाई समेत थाहा छैन।
मेरो बाबाको हजुरआमाले बेलाबेला मलाई उसको याद दिलाउनु हुन्थ्यो। उहाँ मलाई भन्नु हुन्थ्यो- ‘उर्मी (नाम परिवर्तन)ले तिम्रोभन्दा पछि सूर्य देखेकी हो, हेर त ऊ आज घरपरिवार समाल्ने भइसकी छे तर तिमीले आजै हुनु हुँदैन।
तिमी हामी जस्तो वनपाखा घाँस, दाउरासँगै नअल्झिनू। हामीले पो जानेनौँ शिक्षाको रुख चढ्न, तिमीलाई त तिम्रा आमाबाले फेदसम्म पुर्याइदिएका छन्। अब फेदमै बसेर शितलतामा रमाउनु हुँदैन। माथि उक्लिनु पर्छ, हाँगा हाँगामा जानुपर्छ। ताकि तल तिरको सबै दृश्य सहजै नियाल्न सकियोस्। उर्मी जस्तो फेदबाटै नफक्रिनू है?’
बाबाको हजुरआमाको कुरा साह्रै मन पर्छ। मलाई यस्तो लाग्थ्यो कि अब उहाँले पनि शिक्षाको महत्व बुझ्नु भएको रहेछ तर के गर्नु, एकजना बड्डा हजुरआमाले बुझेर आफ्नो पनातिनीलाई सम्झाएरमात्रै समाज परिवर्तन हुन सम्भव थियो र?
गाउँमा एकजना अंकल हुनु हुन्थ्यो। उहाँको ५ जना छोरी थिए। उहाँको जेठो छोरी मसँगै पढ्दै थिई। उसले र मैले कक्षा १० सम्म सँगै पढेका थियौँ। नातामा ऊ मेरो दिदी हो। पछि उनी प्राविधिक शिक्षा आर्जन गर्छु भनेर सहर गइन्।
उता गएर ती दिदीले जेटिए पढेकी रहेछन्। जेटिएभन्दा दुई वटा जेटिएलाई जनाउँछ। एक भेटेनरी जेटिए (पशु विज्ञान) अर्को भनेको कृषि जेटिए (कृषि बाली विज्ञान)। गाउँले दिदीले १८ महिने कृषिबाली विज्ञान पढेकी रहेछन्। कृषि बाली विज्ञान पढी सकेपछि उनले कृषि बाली विज्ञानको अन्तिम परीक्षामा सहजै नाम निकाल्न सफल भइन्।
गाउँले दिदीको सपना त कृषि बाली विज्ञानमा डिप्लोमा गर्ने थियो तर घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनले पढ्न पाइनन्। उनका बुबाले उनी जस्तै अन्य ४ जना छोरीलाई पनि पढाउनु पर्ने थियो।
त्यसैले उनको कृषि बाली विज्ञानमा डिप्लोमा गर्ने सपना पूरा हुन सकेन। बरु विवाह गरेर पोइली पक्षकाले पो पढाइ देलान् कि भन्ने आशाले विवाह गराइदिने निर्णय भयो। निर्णय त भयो तर केटाले विवाह अघि नै ठूला ठूला प्रश्न गर्न थाल्यो।
केटाले ती दिदीलाई सोध्यो- ‘तिम्रो बाबाले दाइजोमा के-के दिन्छन्? तिम्रो बाबाको घर पारिको (पानीलाग्ने) रोपाइँ गर्दा कुलो नजिक भएको खेत त तिम्रै नाममा गर्ने होला नि हैन र?’
एकैछिन त दिदी इन्तु न चिन्तु भइन्। केही बेरपछि जवाफ दिएकी थिइन्- ‘मेरो बाबाले मलाई सकेजतिको पढाइ दिनु भएको छ, अब दाइजो दिन त सक्नु हुन्न।’
यति भनेपछि केटाले त्यसो भए म तिमीसित विवाह गर्दिनँ पो भन्यो- ‘तिम्रो पढाइले पो हो मैले पेट पाल्ने?’
यस्तो भनेको केही समयपछि फेरि विवाह गर्ने प्रस्ताव लिएर केटाको परिवार दिदीको घर आए। उनलाई पनि विवाह गर्न हतार थियो, हतार यसकारणले थियो कि श्रीमानबाट आफ्नो सपना पूरा गर्न साथ पाइएला भनेर।
केही दिनमै ती दिदीको विवाह भयो। विवाह भएको केही समय राम्रै चल्यो तर जब उनले पढाइ गर्न सहर जाने प्रस्ताव आफ्नो श्रीमानसँग राखिन् तब श्रीमानको प्रतिउत्तर थियो ‘तिम्रो बुबाले तिमीलाई के नै दाइजो दिएको छ र? तिमीलाई पढ्न पैसा कसले दिन्छ?
अब तिमी कहीँ जान पाउदिँनौ, घरमै गाईभैँसीको गोबर स्याहारेर बस्। यदी तिमीलाई हामीले पढ्न सहर पठाइहाले पनि समाजले फलानाकी बुहारी श्रीमानलाई छोडेर एक्लै बाहिर बसेकी छे भनेर घरको इज्जत माथि प्रश्न गर्नेछन्। त्यसैले इज्जत बचाउन भए पनि अब तिमी घरबाहिर जान पाउने छैनौ।’
के छोरीले घर बाहिर जानु अपराध हो र? आखिरमा मेरो गाउँले दिदीको पनि उर्मी बहिनीको जस्तै जीवन भयो। उही वनपाखा पखेरामा घाँस दाउरा गर्दै।
छोरीलाई विद्यालय पठाएर मात्रै के गर्नु, आखिर आफ्नो पढाइ पूरा गर्न नपाउँदा झनै भूमरीमा पर्छन्। आधा विद्या प्राप्त गर्नुभन्दा त नगरेकै बेस्, आधा विद्याले गर्दा छोरीहरुलाई छटपटीमात्रै हुने गर्छ।
शिक्षा के हो राम्रोसँग थाहा छ, फेरि पूर्णरुपमा आर्जन गर्न नपाउँदा छटपटी नभएर के हुन्छ होला त? मेरो गाउँले दिदीले पनि आफनो पढाइ पूरा गर्न पाएको भए भोलिको दिन ऊ पनि किसानहरुलाई आधुनिक तरिकाले कृषिखेती गर्न सिकाइरहेकी मैले भेट्थेँ होला, वा कुनै कृषि निर्देशनालयमा उच्च पदमा काम गरेको भेट्थेँ होला।
तर यसो केही भएन किनकि उनलाई त्यो समाज र परिवारको अन्धविश्वासको परिधिले घेरेको थियो।
छोरीहरुलाई शिक्षाको रुखको फेदसम्म जाने बाटो मिलाइयो तर रुखमा उक्लिँदै रुखको हाँगाहरुमा पाखुरा पंख फिजाएर जान दिइएन, इज्जत गुम्ला कि भन्ने भयले। यो कुरा गर्दा मलाई कवि नवराज पराजुलीको याद आयो।
केही समय अघि शिलापत्रमा छापएिको उनको ‘केटीहरू किन रुख चढ्दैनन्?’ निबन्धमा समावेश गरिएको लाइन सम्झिन्छु। ‘छोरी रूखको उचाइमा भएको बेला कुनै पुरुषले तलबाट हेर्दियो भने? छोरी उचाइमा पुग्दा सबै सधैँ डराउँछन्।’
वास्तविक कुरा पनि यहीँ हो, छोरीले घाँस-दाउरा काट्ने क्रममा पनि अग्लो, अग्लो रुखमा जान दिइएन, कहीँ देवी देवताको नजर पर्छ भनी त कहीँ केटाहरुको। यता तिर शिक्षा क्षेत्रमा पनि यही भएको हो।
उच्च शिक्षा हासिल गर्न खोज्दा छोरीको इज्जत जान्छ भन्ने गलत सोचाइले घरको चुलोचौको घाँस, दाउरा र गाई भैसीको गोबर सोहर्नमै छोरीहरु सीमित रहे। स्याउला काट्दा पनि मेरो गाउँमा छोरा मान्छे नै बढी रुख चढ्ने गरेको मैले देखेकी थिएँ, छोरीहरु त भुइँमा स्याउला एक ठाउँमा जम्मा गर्नमै सीमित हुन्थे।
यो कुरालाई मैले सामान्य रुपमै लिएकी थिएँ। जब कवि पराजुली त्यो निबन्ध पढेँ त्यसपछि म वास्तविक कुरामा प्रष्ट भएँ। मेरो हजुरआमासँगै अरुले पनि शिक्षाको रुख चढ्न पाएनन्। खालि जंगली रुखका स्याउला एकठ्ठा गर्नैमै समय गयो।
उनको निबन्धले मेरो बितेको पल बिउँझाइ दियो, मैले त्यो बितेको पल सम्झेको मात्रै हो। यस्तै बितेको पल अरुको पनि होला या नहोला थाहा भएन तर मैले भने तपाईं माझ पस्कने चाहना राखेकी हुँ।
हुन त मेरो देशमा महिला उच्च पदमा काम गर्दै गरेको मैले देखेकी छु। पहिला पनि थिए होला। झन् अहिले त मेरो देशमा महिला राष्ट्रपति, महिला मन्त्री, महिला खेलाडी, महिला डाक्टर, महिला ईन्जिनियर, महिला गायिका, महिला कवयित्री लगायत थुप्रो क्षेत्रमा छन् तर पनि गाउँमा भने यो कमै लागु भएको पाएकी छु।
बालविवाह अझै जारी नै छ। कुनै कुनै ठाउँका महिला दिदी-बहिनीहरुलाई शिक्षा के हो थाहा छैन। यसरी हेर्दा मलाई त अझै छोरी शिक्षाको रुख पूर्णरुपमा चढेकी जस्तो लाग्दैन। त्यही रुखको हाँगाको टुप्पोमा जाँदा इज्जत र प्रतिष्ठा गुम्ने डरले फेदमै अल्झिएकी छ जस्तो लाग्छ। तपाईंलाई कस्तो लाग्छ कुन्नी?
सोतोपाटीबाट साभार
फेसबुक प्रतिक्रियाहरु