विष्णु जोशी
काठमाडौं । नेपाललाई शासकहरूले इतिहासदेखि वर्तमानसम्म विभिन्न काल खण्डमा प्रताडित गरिरहे । राज्य शक्तिको दुरुपयोग गर्दै पाइलैपिच्छे सरकारी ढुकुटीको दोहन प्रक्रिया चलिरह्यो ।
एकपटक सत्तामा पुग्ने परिवारका सदस्यहरू प्रायः अलिखित अर्बपतिको सूचीमा छन् । जहानियाँ राणा शासनको अन्त्य भइसकेपछि पनि पटक पटक सरकारमा जानेहरूका खलक उच्च ओहदाबाट झरेनन् । राणाका खलककै कुरा गर्ने हो भने पनि तिनकै सन्ततिहरू न्यायालय, सुरक्षा तथा ठूला व्यापारीको रूपमा स्थापित भएका छन् । त्यति मात्रै नभएर दलालीकरणमा पनि तिनकै हालीमुहाली छ ।
हिजो आफैंलाई ‘समाजवादी’ भनेर ‘सामन्ती’ हरुविरुद्ध वर्ग संघर्ष गर्नेहरू बीचनै ठूलो विभेद छर्लंग्गै देखिएको छ । कम्युनिष्ट भन्नेहरू आफैं आज दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डाहरूको संरक्षक बनेका छन् । हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भन्नेहरूले आज सामन्ती शैलीमै महँगा गाडीमा सेयर भइरहेका छन् । तिनलाई बन्दुक भिराएर सत्तामा पुर्याउने युवाहरू कतिले ज्यानै गुमाए भने कति खाडीमा भासिएका छन् ।
आज देश समृद्ध नहुनुमा व्यवस्थाको ठूलो दोष कि व्यवस्थापनको भन्ने बहस कुखुरी काँ, बासी भात खाँ भन्ने कविताझैं निष्कर्षहीन प्रतीत हुन थालेको छ । खोइ गाई ? (उर्लिएको जनवादी) खोलाले बगायो । खोइ (जनवादी) खोलो ? सुक्यो ! हलो पनि दसकौं अघि नै भाँच्चिसक्यो । गाउँ-घरका खेत जोत्नु साँटो तारे-माले आफैं लड्दा बारी नै बाँझा रहे । सम्वृद्धिको खेतीलाई कहिले रुखले ओझेल पार्योफ त कहिले सूर्यले सुकायो । बाँकी रहेको हँसियाले रेट्यो ।
यो सबैबाट विरक्त भई तन्नेरी गोठाला लाहुर पसे । बुढा किसान फेरि खोइ हलो ? भन्दै खोज्न निस्किएका छन् । भ्रष्टाचारको हँसियाले सत्ताको खसी काटेर सुख सुविधारूपी कलेजो, टाउको विदेशी होली वाइनसँग आफैँ पचाइ जनतालाई आन्द्रा भुँडी पखाल्नलगाई दुई डाडु झोल दिई फकाएको धेरै भयो ।
जागौं अझै जनतावादका नाममा बलीको बोका कहिलेसम्म ? आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाई राख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौं ।
आज फेरि केही समूह धर्म र राजतन्त्रको नाउँमा राजनीति गर्ने प्रयास गर्दैछन् । याद रहोस् जबसम्म जनताको चेतना शून्य ‘लास’ बनिरहन्छन् । राजा आए जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन् । हामी अनेक वादका नाउँमा धेरै जलाइयौं, गाडियौ, झुन्ड्याइयौं, गोली ठोकियौं ।
भयो, पुग्यो । अब बलीका बोका नबनौं ! जागौं ! फेरि राजा चाहियो भन्नेहरूलाई निरंकुश राणा काल र निर्दलीय पञ्चायत व्यवस्थाले किन देशमा समृद्धि ल्याएन त भनेर सोधौं ।
अब समाधान के त ? यो विसंगति र विरासतको राजनीतिविरुद्धको असन्तुष्टि सामाजिक सञ्जाल पोखेर मात्रै अवस्था र व्यवस्था बदलिने वाला छैन । अलोकप्रिय राणा र राजा उखेलेर फालेर लोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत र विसंगतिको राजनीतिलाई उखाली फाल्ने क्रान्ति बुलेट हैन, ब्यालेटमा हुनु जरुरी छ ।
अब तारे-माले नै एक हल बनेरसँगै जोत्न सकिँदैन भने बाजेको पालाको हलो खोजेर अब समृद्धि आउँदैन । अब तारे-माले र हलोकै विकल्प खोज्नुपर्छ । केही दशक अघि ‘बुर्जुवा शिक्षा’ छाड भनेर समाजवादी खोक्रा झोला बोकेरपछि शिक्षा र रोजगारीबाट वञ्चित भएको इतिहासबाट आजका युवाले विभिन्न वाद र दलहरूका दलदलमा नपरी स्वतन्त्र उद्यम नगरी समृद्धि आउँदैन भन्ने बुझ्न जरुरी छ ।
आज एक तिहाइ जनता (८० लाख युवा) भोटै नचल्ने स्थानमा छन् । तिनले पठाएका नोट चल्ने तर, भोट नचल्दा आज निर्वाचनहरूमा नौला, दक्ष र इमानदारअनुहार उदाउन सकेका छैनन् । आज विदेशको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासन प्रत्याभूत गर्ने सरकार देखेपछि नेपालका यी मुकुन्डाधारी परम्परागत राजनीतिज्ञलाई अनुमोदन गर्ने त प्रश्नै आउँदैन । त्यसैले अहिले विदेशमा पसिना बगाई नेपालको अर्थतन्त्र चलाउने पुँजी विप्रेसित गर्ने युवाको मताधिकार सुरक्षित गर्न सर्वोच्चको आदेशसमेत मान्ने पक्षमा आजका ठूला दल छैनन् ।
दुई दशकअघि कृषिमा नेपालीको ६० प्रतिशतभन्दा बढी प्रत्यक्ष‑परोक्ष रोजगारी जोडिएको थियो । नेपाल ‘कृषि प्रधान’ देशबाट ‘कुर्सी प्रधान’ देश बन्दैछ आज । हो, यो दशकमा कृषिको वातावरण असहज बन्दै गयो र वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गयो । नेपाली युवाको पसिनाले विदेशीको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउने अवसर गुम्दै जाँदा उर्वर भूमि बिस्तारै बाँझो हुँदै जाने निश्चित छ । जब कि नेपाली युवाका पौरखी पाखुराहरूले मरुभूमिमा बगैँचा फलाए । गगनचुम्बी भवन बनाए ।
नेपालमा कृषि र ग्रामीण उद्यम किन फस्टाउन सकेन त ? ग्रामीण उद्यम विस्तारित नहुनुका कारण उद्यमी र नवप्रवर्तनमुखी सोचको अभाव, जागिरे मनस्थिति, उद्यम प्रवर्द्धन गर्ने निकायको कमी, सरकारहरूको कमजोर भूमिका साथै उद्यममैत्री कर्मचारीको अभाव मुख्य हुन् ।
यी सबै कुरा कतै न कतैबाट दक्ष र सक्षम नेतृत्वको अभाव र व्यावहारिक, सीपमूलक मौलिक शिक्षा व्यवस्था नहुनुका नै परिणाम हुन् । नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई विदेशिन थाले ।
त्यसैले त पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौं चढ्न चाहन्छन् भने काठमाडौंका विदेश उड्न चाहन्छन् । हिजो छोराछोरी र आफन्त विदेश जाँदा माला, खादा लगाएर, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटस रंग्याउनु हामीलाई सामान्यझैं लाग्न थालेको छ । समाजमा आज वैदेशिक रोजगारीमा जान्छुभन्दा जसले पनि ऋण दिन्छ । तर, आफ्नै गाउँ ठाउँमा केही उद्यम गर्छु । फार्म खोल्छुभन्दा लगानीकर्ता भेट्न गाह्रो पर्छ ।
विहेबारीकै कुरा गर्ने हो भने पनि विदेश जाने युवालाई समाजले प्राथमिकतामा राख्ने गरेको छ । आफ्ना सन्तानसँग विहे गर्न विदेशमा गएर कमाउने नै चाहिन्छ । तर, आफ्नै गाउँघरमा गरिखान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छन् । त्यसैले, आज नेपालका लाखौं दक्ष जनशक्ति विदेशमा छ । यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजना बनाएर तिनको कार्यान्वयन गर्नु आवश्यक छ ।
अहिले विश्व बजार आर्थिक मन्दीतर्फउन्मुख हुँदै गर्दा हाम्रा छिमेकी देशहरूमा दक्षिणपन्थी रनिषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरूलाई सत्तासिन छन् । अर्कोतिर कोरोना जस्तो महाव्याधिको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ । धेरै नेपाली दाजुभाइ विभिन्न कारणवश गाउँ घर फर्किँदै गर्दा अनि वैदेशिक रोजगारीको लागि जाने विकल्प असहज हुँदै गर्दा एउटा प्रश्न सान्दर्भिक भएको छ,- विपद्मा मात्रै गाउँघर छिर्ने, माटोको ऋण कहिले तिर्ने ?
पर देशमा युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ-आफ्नै गाउँ ठाउँमा प्रयोग मात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ । आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवा हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुन सक्छ । आज सामाजिक सञ्जालको जमाना छ । विदेश बस्ने आफन्त साथीभाइलाई आई फोन, प्ले स्टेसन, डीएसएलआर क्यामेरा मात्रै नमागौं । चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौं । ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौं ।
‘गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ’
आउनुहोस् नेपाल फर्की आ-आफ्नै गाउँ ठाउँका बाँझा खेतबारीमा उद्यमशीलताको रोपाइँ गरौं । आउनुहोस् गहुँ, मकै लगाऔं । सुन्तला, कागती, स्याउ, लिची र आँपका बीउ बाँडौं ।
आज बीऊ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ । आज हामीले आफ्नो गाउँ ठाउँमा उद्यम गरी स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन सक्यौं भने भोलि हाम्रा भाइबहिनी, छोरा नातिले आफ्नो गाउँ ठाउँ छोडीपरदेशमा गएर बस्नुपर्ने छैन । देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ । आउनुहोस् उद्यम गरौं । आफ्नै कर्म भूमिको आँगनमा पसिना बगाऔं ।
(लेखक : यस तेस्रो ध्रुव डटकमका कार्यकारी निर्देशक हुन् । हाल उनी युनिभर्सिटी अफ म्यासाचुसेट्स अमेरिकामा रसायनशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।)
फेसबुक प्रतिक्रियाहरु