मङ्लबार, फाल्गुन ५, २०८२
Breaking News

विचारभन्दा माथि विवाद !

नेपालमा चुनाव आउनु भनेको केवल प्रतिनिधि छान्नु मात्र होइन, यो त सामाजिक सञ्जालको ‘कुरुक्षेत्र’ मा महाभारत लड्नु पनि हो। आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा फेसबुक, टिकटक र एक्स (ट्विटर) का टाइमलाइनहरूमा वाक्युद्ध सुरु भएको छ।

नेकपा, काँग्रेस, रास्वपा र राजावादीहरूका उग्र समर्थकहरूले सामाजिक सञ्जाललाई आफ्नो हतियार बनाएका छन्। भूपू क्रान्तिकारी बसन्ते, एजेन्डाधारी किस्ने, नयाँ सागरे र राजावादी रबिंद्रे दिनरात लाइकको लडाई, कमेन्टको कलह गर्दै बस्छन्। यिनीहरू भन्दा फरक विचार या मत राख्नेलाई ‘विदेशी एजेन्ट’, ‘दलाल’, ‘ठग’, ‘भ्रष्ट’ वा ‘देश जलाउने’ जस्ता संज्ञा दिएर सामाजिक संजालमा आरोप–प्रत्यारोपको वर्षा गरिरहन्छन्। यो प्रवृत्ति देखेर लाग्छ, नेपालको राजनीति अब नीति र विकासका एजेन्डामा होइन, गाली–गलौचको प्रतिस्पर्धामा उत्रिएको छ। बसन्तेलाई लाग्छ कि उनीहरूको दल मात्रै नेपालको सच्चा ‘रक्षक’ हो। उनी फेसबुकमा लेख्छन्: “किस्नेहरू विदेशी एजेन्ट हुन्, दक्षिणाको दक्षिणा र पश्चिमाको पैसा खाएर देश बेच्दै छन्!” बसन्तेको पोस्टमा लाइक कमेन्ट हरूको वर्षा हुन्छ, तर वास्तवमा उनी आफैँले ‘फेक अकाउन्ट’बाट कमेन्टहरू थपिरहेका हुन्छन्। बसन्तेको यो यो ‘साइबर सेना’ विपक्षीलाई ‘ठग’ भन्दै हिँड्छन्, तर आफ्नो दलका नेताहरूका पुराना भ्रष्टाचारका काण्डहरूबारे मौन बस्छन्। उनीहरूको विश्वास छ कि उनीहरूको दल मात्रै ‘क्रान्तिकारी’ हो, र बाँकी सबै ‘दलाल’ पुँजीवादी हुन् । बसन्तेको ‘समृद्ध नेपाल’ को मध्यमा बालकोटको बार्दली छ । यदि कसैले विकासको सुस्त गति, भ्रष्टाचार बारे प्रश्न उठायो भने, बसन्तेको कमेन्ट एउटै हुन्छ— “तँ विदेशी एजेन्ट, डलरवादी!”

बसन्ते, किस्ने, सागरे र रबिंद्रे दिनरात फेसबुकमा कमेन्टको कुस्ती खेलिरहेका हुन्छन्। उनीहरूको कुस्तीको नियम सरल छ: “हामी बाहेक अरू सबै विदेशी एजेन्ट, दलाल, ठग, भ्रष्ट, देश जलाउने।” प्रमाण? आक्रोशको आवेग । तर्क? किबोर्डको कसी ।

विचार भन्दा माथि विवाद !

बसन्ते बिहान उठ्नासाथ मोबाइल खोल्छ अनि आँखाको चिप्रै नपुछी पोस्ट हाल्छ “अबको भिडन्त देश जलाउने र देश बनाउने बिच”। किस्नेले चिया पिउँदै स्ट्याटस हाल्छ “नेतृत्व फेरियो हामी सुध्रियौ” । सागरे चाहिँ लाइभ आएर चिच्याउँछ—“हामी नयाँ हौँ” । रबिंद्रे घाँटीको नसा फुल्ने गरी कराएर अन्तर्वार्ता दिन्छ “नवीन समझधारी गरी रैती बन्न पाऊँ, पुरानो फर्काऔँ !” यी सबै विवेकहीनहरूको साझा नारा “विचारभन्दा माथि विवाद” !

यिनको संसारमा विचार फरक हुनु अपराध हो। कसैले नीति सोध्यो भने “विदेशीको एजेन्ट”। कसैले खर्चको हिसाब खोज्यो भने “दलाल”। कसैले कामको नतिजा माग्यो भने “ठग”। अनि सबैभन्दा लोकप्रिय नारा “देश जलाउने र देश बनाउने।” देश बन्ने कुरा भने फेसबुकको कमेन्ट बक्समै सीमित हुन्छ; सडक, विद्यालय, अस्पताल र उद्योग चाहिँ उही पुरानै कथा सुनाइरहेका हुन्छन्।रोचक के छ यी सब भ्रष्टाचारको विरोध गर्छन् तर आफ्ना नेताको फाइल खोलेर हेर्नु भने “षड्यन्त्र” ठान्छन्। युवाको रोजगारीको कुरा गर्छन् तर बेरोजगार युवालाई ट्रोल बनाउँछन्। शिक्षा र स्वास्थ्यको नारा दिन्छन् तर विद्यालयको छानो चुहिँदा र अस्पतालमा बेड नपाउँदा चुप लाग्छन्। अर्थतन्त्र सुधारको भाषण गर्छन् तर योजना सोध्दा “देशको शत्रु” भन्छन्।

सामाजिक सञ्जालको यो उग्र नाटकमा तथ्य हराइरहेको छ। नीति हराइरहेको छ। दीर्घकालीन दृष्टि हराइरहेको छ। बाँकी छ त केवल लेबल टाँस्ने कला। लेबल टाँस्न सजिलो छ; पुल बनाउने, रोजगारी सिर्जना गर्ने, विद्यालय सुधार्ने र अस्पताल सुदृढ गर्ने कठिन छ। त्यसैले किबोर्ड कुरुक्षेत्रमा स्क्रिन संग्राम चली रहेछ।

चुनाव नजिकिँदै गर्दा बसन्ते, किस्ने, सागरे र रबिंद्रेहरूले ‘मेरा २१ दिन फागुन २१ का लागि’ भनेर घर दैलो अभियान घोषणा गर्छन् तर वास्तवमा उनीहरूको समय सामाजिक संजालमा गाली गर्नमै बित्छ। उनीहरूलाई लाग्छ कि यो ‘डिजिटल क्रान्ति’ हो, तर यो त केवल विष वमन गर्ने माध्यम मात्र भएको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत यो चुनावलाई निष्पक्ष बनाउन अपिल गरिरहेका छन्, तर रबिंद्रे र दुर्गे जस्ताहरू यसलाई ‘विदेशी हस्तक्षेप’ भनेर निराधार आरोप लगाउँछन्। सागरेलाई लाग्छ कि पुराना दलहरू सबै ‘भ्रष्ट’ छन् र उनीहरू मात्रै ‘स्वतन्त्र’। उनीहरूको ‘स्वतन्त्रता’ भनेको अरूलाई गाली गर्ने स्वतन्त्रता मात्रै हो। जब कोही उसको पार्टीको स्पष्ट खाका वा नीतिबारे प्रश्न गर्छ, सगरे ‘सिस्टम नै खराब छ’ भन्दै अरूलाई ‘झोले’ को संज्ञा दिएर गालीको वर्षा गर्न थाल्छ।

गालीको खेती र राष्ट्रवादको मल

यी बसन्ते, किस्ने, सागरे र रबिंद्रेहरू बिहान आँखा मिच्दै मोबाइल उठाउँछन् र आफ्नो ‘भर्चुअल’ शत्रु खोज्न निस्कन्छन्। एक अर्कालाई ‘विदेशी एजेन्ट’, ‘भ्रष्ट’, र ‘देश जलाउने’ जस्ता विशेषण दिनु उनीहरूको दैनिक नित्यकर्म बनेको छ। विडम्बना त के छ भने, यी तीनै जना एउटै चिया पसलमा बसेर देशको बेरोजगारीको चिन्ता गर्छन्, तर फेसबुकमा पुग्ने बित्तिकै आफ्ना नेतालाई ‘भगवान्’ र अर्काका नेतालाई ‘सैतान’ बनाउन व्यस्त हुन्छन्।

उनीहरूलाई लाग्छ कि धेरै गाली गरेपछि आफ्नो नेताले चुनाव जित्छ। यो कोलाहलका बिचमा एउटा गम्भीर प्रश्न हराइरहेको छ— हाम्रो एजेन्डा खोइ?

जब बसन्ते ‘विदेशी दलाल’ भन्दै कराउँछ, के उसले सोचेको छ कि उसको गाउँका कति युवा काम खोज्न किन त्यही ‘विदेशी’ भूमिमा उडिरहेका छन्? जब बसन्ते ‘क्रान्ति’ को कुरा गर्छ, के उसले सरकारी विद्यालयको खस्कँदो गुणस्तर र अस्पतालमा सिटामोल नपाएको अवस्था देख्छ? र जब किस्नेले ‘ठग’ को नारा लगाउँछ, के ऊसँग देशको अर्थतन्त्र सुधार्ने कुनै ठोस योजना छ? पृथ्वी पथ भन्दै गणतन्त्रमा एकल जाती र वंशको शासनको वकालत गर्ने रबिंद्रे दिव्य उपदेशमा भएका ‘नेपाल चार जात, छत्तीस वर्णको साझा फूल बारी हो”, “प्रजा मोटा भया राष्ट्र बलियो हुन्या छ” र जनता जो देखी खुसी उसैलाई कजाइँ दिनु ” जस्ता लोकतन्त्र, समावेशिताका सन्देशलाई बुझेर पनि बुझ पचाउँछ। २४० वर्षे राजतन्त्र र १०४ वर्षे राणा शासनले नेपालमा नातावाद, कृपावाद, विभेद, असमानता र वर्गको पक्षपोषण नै गरी रह्यो र नेपाललाई संसारकै गरिब, विकास पूर्वाधारविहीन र अशिक्षित राज्य बनाइ राख्यो  त भन्ने प्रश्न गरे प्रचण्ड पथ भनेर गाली मात्र गर्छ रबिंद्रे ! राष्ट्रवादलाई खोप अनि धर्मको राजनीतिलाई बुस्टर डोज भनेर प्रचार गर्ने रबिंद्रेहरुलाई प्रश्न गरौँ : भ्रष्टाचार रोक्न कुन साम्राज्यवादले रोक्यो ? शिक्षा सुधार गर्न कुन विदेशी शक्तिले छेक्यो ? तिम्रो पश्चगामी नाराले स्वदेशमै रोजगार कसरी बढाउँछ ?

सामाजिक सञ्जालको यो उग्र नाटकमा तथ्य हराइरहेको छ। नीति हराइरहेको छ। दीर्घकालीन दृष्टि हराइरहेको छ। बाँकी छ त केवल लेबल टाँस्ने कला। लेबल टाँस्न सजिलो छ; पुल बनाउने, रोजगारी सिर्जना गर्ने, विद्यालय सुधार्ने र अस्पताल सुदृढ गर्ने कठिन छ। त्यसैले किबोर्ड बहादुरी फस्टाएको छ, कार्यक्षेत्रको पसिना सुक्दै गएको छ। यही भीडको बिचमा जागरूक मतदाता उभिनु भनेको शान्त भएर ठुलो आवाजलाई प्रश्नले जित्नु हो। जागरूक मतदाता बसन्ते, किस्ने, सागरेको र रबिंद्रेको तालमा नाच्दैनन् । जागरूक मतदाताले अब यी बकम्फुसे फेसबुकेहरु जस्तो गालीगलौजमा अल्झिनु हुँदैन। हामीले उम्मेदवारलाई उनीहरूको ‘कमेन्ट बक्स’ मा होइन, सार्वजनिक मञ्चमा उभ्याएर प्रश्नहरू सोध्नुपर्छ ।

१. भ्रष्टाचार नियन्त्रण: तपाईँको पार्टीले भ्रष्टाचार रोक्न कुन कानुन परिमार्जन गर्छ? फाइलहरू खोल्ने कि केवल फेसबुकमा स्ट्याटस लेख्ने? भ्रष्टाचार नियन्त्रणको ठोस कार्य तालिका के छ? नारामा त सबैले ‘भ्रष्टाचार शून्य सहनशीलता’ भन्छन्। तर तपाईँले आफ्नो क्षेत्रमा हुने योजनाहरूको ‘कमिसन तन्त्र’ रोक्न तपाईँले कुन संयन्त्र बनाउनुहुन्छ? के तपाईँ आफ्ना कार्यकर्तालाई ठेक्कापट्टाबाट टाढा राख्न सक्नुहुन्छ? के तपाईँ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर हरेक वर्ष त्यसको स्रोत पारदर्शी बनाउन तयार हुनुहुन्छ? आयोग र अदालतहरूलाई स्वतन्त्र र प्रभावकारीबनाउने उपाय के छन्? सार्वजनिक खर्च पारदर्शी बनाउन डिजिटल प्रणाली कहाँसम्म लागू हुन्छ?”

२. अर्थतन्त्र र युवा रोजगारी: विदेश जाने लर्को रोक्न स्थानीय स्तरमा कस्ता उद्योग र स्टार्टअपका योजना छन्? युवाहरूलाई गाउँमै रोक्ने ‘एक वडा, एक उत्पादन’ वा रोजगारीको योजना छ? हरेक दिन त्रिभुवन विमानस्थलबाट बिदेसिने युवाको लर्को रोक्न ठुला भाषणले पुग्दैन आगामी ५ वर्षमा यस क्षेत्रका कति युवालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ? स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र साना उद्योग खोल्न बजेटमा कस्तो व्यवस्था गर्नुहुन्छ? आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने रणनीति के हो? कर प्रणाली सरल र न्यायोचित कसरी बनाइन्छ? साना तथा मध्यम उद्यमलाई सस्तो ऋण र बजार पहुँच कसरी दिनुहुन्छ?

३. शिक्षा र स्वास्थ्य: सरकारी विद्यालय र अस्पतालको अवस्था सुधार गर्ने तपाईँको नीति र कार्य तालिका के छ? सरकारी विद्यालय र अस्पतालको गुणस्तर निजी सरह कहिले हुन्छ? शिक्षा र स्वास्थ्य व्यापार होइन, सबैको अधिकार हुनुपर्छ। यस क्षेत्रका सरकारी विद्यालयमा प्राविधिक शिक्षा र पर्याप्त शिक्षकको दरबन्दी पुर्‍याउन तपाईँको भूमिका के हुन्छ? के तपाईँ र तपाईँको परिवारले यसै क्षेत्रको सरकारी अस्पतालमा उपचार गराउने प्रतिबद्धता जनाउन सक्नुहुन्छ? शिक्षक तालिम, पाठ्यक्रम सुधार र विद्यालय पूर्वाधारमा के लगानी छ? स्वास्थ्यमा प्राथमिक उपचारदेखि विशेषज्ञ सेवासम्म पहुँच कसरी सुनिश्चित हुन्छ?

४. विकाश र पूर्वाधार: ऊर्जा परियोजनाको समय रेखा के हो? सहरीकरण र ग्रामीण जोड्ने योजनामा वातावरणीय प्रभाव कसरी व्यवस्थापन हुन्छ? ऋणमा डुबेको अर्थतन्त्र उकास्ने र अधुरा पूर्वाधार योजनाहरू। समयमै सम्पन्न गर्ने ग्यारेन्टी के छ? अधुरा पूर्वाधार आयोजनाहरू सम्पन्न गर्ने ग्यारेन्टी के छ? धेरैजसो ठाउँमा बाटो खनेर अलपत्र छाडिएका हुन्छन्। रुग्ण आयोजना, अलपत्र परेका पुल, सडक वा खानेपानी आयोजनाहरू कुन मितिसम्ममा सम्पन्न हुन्छन्? नयाँ योजना थप्ने सँगै पुरानालाई पूर्णता दिने तपाईँको प्राथमिकता छ कि छैन?

५. जनआवाज सदनमा: संसद्मा जाँदा तपाईँ पार्टीको ‘झोले’ बन्ने कि जनताको ‘आवाज’ ? धेरै सांसदहरू संसद्मा पुगेपछि पार्टीको ह्विप मान्न व्यस्त हुन्छन् र आफ्नो क्षेत्रको समस्या भुल्छन्। यदि पार्टीको निर्णय र यस क्षेत्रको जनताको हित बाझियो भने, तपाईँ कसको पक्षमा उभिनुहुन्छ? आफ्नो क्षेत्रको मुद्दामा संसद्मा तपाईँले कति पटक आवाज उठाउने प्रतिबद्धता गर्नुहुन्छ?

जागरूक मतदाता भावनामा होइन, एजेन्डामा मतदान गर्छ। ऊ गालीलाई म्युट गर्छ, प्रश्नलाई सेयर गर्छ। ऊ युद्धको सट्टा योजना खोज्छ आज के, भोलि के, पाँच वर्ष पछि के? ऊ जागरूक छ, लोकतन्त्रमा समर्थन अन्धो हुनु देशभक्ति होइन; जबाफदेहिता माग्नु नै देश प्रेम हो। फागुन २१ नजिकिँदै गर्दा, बसन्ते, किस्ने र सागरेको शोर अझ बढ्नेछ। तर हामीले निर्णय गर्नुपर्छ हामी शोरको हिस्सा बन्ने कि समाधानको खोजी गर्ने? सामाजिक सञ्जालको तालीले होइन, मतदानको विवेकले देश बन्छ। गाली गलौचले होइन, स्पष्ट योजना र इमानदार कार्यान्वयनले भविष्य उज्यालो हुन्छ।

त्यसैले यसपालि, स्ट्याटस स्क्रोल गर्नु अघि एक प्रश्न सोधौँ यो आवाजले मलाई के सिकायो? र मतदान केन्द्रमा पुग्दा अर्को प्रश्न यो उम्मेदवारले के गर्छ? फागुन २१, नेपालको प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा, राजनीतिक दलबिचको प्रतिस्पर्धा उग्र बन्दै गएको छ। एमाले, काँग्रेस, नेकपा, र रास्वपाका समर्थक र कार्यकर्ताहरूले सामाजिक संजालमा एक अर्कालाई गाली गलौच गर्ने प्रवृत्ति बढ्दो छ। बसन्ते, किस्ने, सागरे र रबिंद्रे जस्ता आफू भन्दा अलग विचार राख्नेलाई विदेशी एजेन्ट, दलाल, ठग, भ्रष्ट, देश जलाउने जस्ता संज्ञा दिएर आरोप प्रत्यारोप लगाउने प्रवृत्ति वास्तवमै हाम्रो लोकतन्त्रको लागि हानिकारक छ। हामीले चुनावमा भाग लिने उम्मेदवारहरूको गुणस्तर र उनीहरूको एजेन्डा बारेमा प्रश्न गर्नुपर्छ, तर व्यक्तिगत गाली गलौच र आरोप प्रत्यारोपमा समय बिताउनु हुँदैन। जागरूक मतदाताले उम्मेदवारका भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र सुधार सँगै पूर्वाधार निर्माणका योजना, एजेन्डा बारेमा प्रश्न गर्नुपर्छ। हामीले हाम्रो मतको मूल्य सम्झनुपर्छ र सही निर्णय लिनुपर्छ।

हामीले हाम्रो देशको भविष्यका लागि सही नेता चुनौँ। हामीले हाम्रो मतको शक्ति चिनेर देशको विकासका लागि काम गर्ने नेता चुनौँ। चुनावमा भाग लिने उम्मेदवारहरूले हाम्रो प्रश्नहरूको जवाफ दिनुपर्छ। हामीले उनीहरूको एजेन्डा बारेमा प्रश्न गर्नुपर्छ र हाम्रो देशको भविष्यका लागि सही निर्णय लिनुपर्छ।

निष्कर्ष

यी बसन्ते, किस्ने, सागरे र रबिंद्रेहरूले बिहान आँखा मिच्दै मोबाइल उठाउँछन् र आफ्नो ‘भर्चुअल’ शत्रु खोज्न निस्कन्छन्। एक अर्कालाई ‘विदेशी एजेन्ट’, ‘भ्रष्ट’, र ‘देश जलाउने’ जस्ता विशेषण दिनु उनीहरूको दैनिक नित्यकर्म बनेको छ। विडम्बना त के छ भने, यी तीनै जना एउटै चिया पसलमा बसेर देशको बेरोजगारीको चिन्ता गर्छन्, तर फेसबुकमा पुग्ने बित्तिकै आफ्ना नेतालाई ‘भगवान्’ र अर्काका नेतालाई ‘सैतान’ बनाउन व्यस्त हुन्छन्। बसन्ते, किस्ने, सागरे र रबिंद्रेहरूले सामाजिक सञ्जाललाई प्रदूषण त गर्लान्, तर त्यसको मूल्य हामी आम नागरिकले चुकाउनु पर्नेछ।

एउटा भोट केवल एउटा टाउको गन्ती होइन, यो त आउने पाँच वर्षको भविष्यको साँचो हो। त्यसैले, यसपालि फागुन २१ मा भोट हाल्न जाँदा कुनै नेताको ‘अन्धभक्त’ या विचारहीन “रैती” भएर होइन, देशको ‘जागरूक नागरिक’ भएर जाऔँ। नेताको आलोचना सुन्न नसक्ने कार्यकर्ता भन्दा नेतालाई प्रश्न सोध्न सक्ने मतदाता बनौँ। गालीको राजनीतिलाई होइन, नीतिको राजनीतिलाई प्रश्रय दिऔँ। नत्र बसन्ते, किस्ने, सागरे र रबिंद्रेहरू सधैँ संजालमा लडिरहनेछन् र देश सधैँ त्यही चियाको चोकमा अल्झिरहनेछ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार