शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • किन जन्मियो उज्यालो नेपाल पार्टी ?
Breaking News

किन जन्मियो उज्यालो नेपाल पार्टी ?

के छ विधान र घोषणा पत्रमा ?

यही बुधवार दिउसो काठमाडौँमा उज्यालो नेपाल पार्टी (उनेपा) ले कुलमान घिसिङ “प्रमुख अतिथि” रहेको कार्यक्रममा आफ्नो विधान र घोषणापत्र सार्वजनिक गर्यो। घोषणापत्रले पुराना दलहरूको नेतृत्व क्षमता माथि प्रश्न उठाउँदै सुसंस्कृत राजनीतिक संस्कार र युवा पुस्ताको चाहना र बदलिँदो राजनीतिक परिवेश अनुरूप सबल र सक्षम वैकल्पिक नेतृत्व निर्माण गर्न आवश्यक रहेको उल्लेख गरेको छ।

विधानको प्रस्तावनामै राजनीतिक परिवर्तन पश्चात् अस्थिर र दिशाहीन राजनीति, राजनीतिक नेतृत्वको असफलता र शासकीय संस्कारको अभाव देखिँदै आएको पृष्ठभूमिमा उनेपाले २०७२ सालको नेपालको संविधानका संघियता, धर्म निरपेक्षता र गणतन्त्र जस्ता मूलभूत सिद्धान्त स्वीकार गर्दै “सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित दिगो विकास” शीर्षकमा सङ्गृहीत उनेपाको घोषणापत्रमा कस्ता नीति र योजना समेटिएका छन् त आउनुहोस् संक्षेपमा चर्चा गरौँ।

नागरिक सर्वोच्चता

विधिको शासन, नागरिक सर्वोच्चता, मानव अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको अधिकारको सम्मान र पालना गर्ने जस्ता लोकतान्त्रिक मूल्य मान्यता स्वीकार गर्दै दलको आधारभूत सिद्धान्त “सामुदायिक समाजवाद” भनेर व्याख्या गरिएको छ जसमा सहभागितामूलक समावेशी लोकतन्त्र र मौलिक बहुसस्कृतिवादमा आधारित राष्ट्रिय एकता समाविष्ट छन्।

दलको प्रतिबद्धतामा समावेशितालाई न्यायको प्रारम्भ, सहभागितालाई लोकतन्त्रको आत्मा, सेवा नै नेतृत्वको धर्म, र योग्यताको सम्मान नै विकासको आधारको रुपमा स्थापना गर्दै लोककल्याणकारी राज्य व्यवस्थाको विकास गर्ने भनिएको छ। यस बाहेक डिजिटल डेमोक्रेसी प्लेटफर्म निर्माण, पारदर्शिता र जबाफदेहिता, भ्रष्ट्राचार शून्य सहनशीलताको नीति अवलम्बन, प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन सहित वातावरणीय अधिकार र जलवायु न्यायको सुनिश्चितता गर्ने र युवा–केन्द्रित नेतृत्व विकास गर्ने जस्ता नयाँ र वैकल्पिक दलहरूका एजेन्डा पनि समेटिएका छन्।

समावेशी समाजवाद

समावेशिता र सामाजिक न्याय र संस्कृति पहिचानका मुद्दा सशक्त ढंगमा विधानमा समेटिएका छन्। सामाजिक र आर्थिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, तारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्प-संख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको समुन्नत विकास, सहभागिता, आत्मसम्मान, समान पहुँच र अधिकार सुनिश्चित गर्ने भनिएको मात्रै छैन ।

प्रारम्भिक रुपमा घोषित केन्द्रीय सदस्यहरूको नामावलीमा समेत यस्तै समावेशी प्रतिनिधित्व देखिएको छ। यस बाहेक समितिमा अन्य वैकल्पिक राजनैतिक दल र पहिचानवादी मोर्चामा सक्रिय नेता, वातावरण र संस्कृति संरक्षण अभियानमा सक्रिय युवा तथा स्वतन्त्र व्यावसायिक पृष्ठभूमिका डाक्टर र ईन्जिनियरहरु पनि समावेश छन्।

शासकीय स्वरूप सुधार

शासकीय स्वरूप सुधारक मामिलामा अस्थिरताको चक्रलाई तोड्न र दीर्घ कालिन योजनामा अघि बढ्न स्थिर सरकार सुनिश्चित गर्न संवैधानिक ढाँचा भित्र रही सांसदका सदन र सार्वजनिक बहस बाटै आवश्यक सुधारहरूको अगुवाइ गर्न संकल्पित छौँ भनिएको छ। राष्ट्रपति र समानुपातिक संसद्को एक कार्यकाल प्रधानमन्त्री, मन्त्री र संसद्को अधिकतम दुई कार्यकाल मात्र हुनेछ।

मन्त्री मण्डलमा ५० % सांसदबाट र ५०% विज्ञहरूको चयन भनिएको छ। त्यस्तै गरी प्रदेशमा प्रत्यक्ष जनता प्रति उत्तरदायी सानो आकारको बलियो संघीयताको अवलम्बन गर्न प्रदेशका मुख्यमन्त्रीहरूको प्रत्यक्ष निर्वाचन, न्यूनतम सरकारी ढाँचा भएको सहकार्यमूलक कर्मचारी तन्त्र (ब्यूरोक्रेसी) र स्थानीय तहमा गैर दलिए नेतृत्वको परिकल्पना गरिएको छ।

मेरिटोक्र्यासी, युवा र विज्ञताको कदर

पार्टीको आन्तरिक संरचनाको हकमा पार्टीको काम, कारबाहीलाई सबै वर्ग, समुदाय, जातजाति, भाषा भाषी र क्षेत्रसम्म सहज रूपमा सञ्चालन गर्न, गराउन संगठन विभाग, स्कूल तथा प्रशिक्षण विभाग, नीति अनुसन्धान विभाग, शिक्षा तथा मानव स्रोत विभाग, विज्ञान तथा प्रविधि विभाग, स्वास्थ्य तथा जनसङ्ख्या विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग लगायत तीन दर्जन भन्दा बढी विभागहरू समेटिएका छन्। युवाको श्रम तथा रोजगारी अभिवृद्धिमा जोड दिँदै पेसागत तथा बुद्धिजीवी विभागहरू निर्माण गर्दै सेवा निवृत्त विज्ञ कर्मचारी एवं प्रवासी नेपाली विज्ञ र उद्यमीलाई युवाहरू सँगै जोडेर सहकार्य गर्ने सञ्जाल निर्माण गर्ने। विज्ञले युवालाई उद्यम र वृत्त विकाशमा परामर्श दिने र लगानी गर्ने वातावरण निर्माण गर्ने जस्ता नवीन अवधारणा पनि समेटिएका छन्।

उज्यालो नेपालको पृष्ठभूमि

उज्यालो नेपाल पार्टी यो स्थान सम्म कसरी आइ पुग्यो भन्ने बुझ्न आउनुहोस् यसको इतिहास तर्फ नजर डालौं। वि.सं. २०७३ साल सम्म नेपालमा दैनिक १८ घण्टासम्मको अत्यास लाग्दो लोडसेडिङ सँगै ऊर्जा क्षेत्रको अवस्था विकराल थियो । नेपाल विद्युत् प्राधिकरणको तत्कालीन नेतृत्वले लोडसेडिङ हटाउने प्रयास सुरु गर्यो र केही महिना मानै कसैले विश्वास नगरेको लोडसेडिङको अन्त्य भयो । त्यस पछि प्राधिकरणले थप बिद्युत् निर्यात गर्दै सधैँ घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउने, बिद्युत् चुहावट न्यूनीकरण गर्ने जस्ता ऐतिहासिक कामहरू सफलता पूर्वक सम्पन्न गर्यो । यस मानेमा प्राधिकरणले ऊर्जाको क्षेत्रलाई साँच्चिकै उज्यालो बनाउन सफल भयो । त्यस पछि उज्यालो भन्ने शब्द सक्षम नेतृत्व, दिगो विकाश र सुशासन (गुड गभर्नेन्स) को प्रतीक बन्यो । उज्यालो पारदर्शी, जनमुखी प्रशासनको बिम्ब बन्यो।

ऊर्जा संकट जन्य अँध्यारो सँगै देशमा व्याप्त कुशासन, असक्षमता रूपी अँध्यारो बाट आशा, उद्यम, उत्कृष्टताको उज्यालो भविष्य निर्माण गर्ने उद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल अभियान सुरु भयो। विगत केही महिनाहरूमा उज्यालो नेपाल अभियान लिएर घिसिङले खाडी मुलुक, अमेरिका र युरोपेली देशहरू भ्रमण गरी नेपाली दाजुभाइहरू सँग भेटघाट र संवाद गरे।

भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूले उज्यालो नेपाल अभियानको भावी योजना, कुलमानको राजनीतिमा आउने सम्भावना र अन्य दलहरूसँग सहकार्य जस्ता प्रश्नहरू गर्ने गरेका थिए । अमेरिकाको बोस्टन शहरको हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा म पनि उपस्थित थिएँ। सहभागीहरूले उनलाई विवेकशील, साझा, स्वतन्त्र र अन्य वैकल्पिक अभियानहरूमा लागेका एवं ठुला दलमा रहेका भए पनि स्वच्छ छविका सक्षम युवाहरूलाई समेत समेटेर अघि बढी नेतृत्व लिन सुझाव दिएका थिए। उनीहरूले देशमा सर्वाङ्गीण आमूल परिवर्तन ल्याउन चाहिने जनशक्ति जन्माउने अभियानको रुपमा पनि उज्यालो अभियान अघि बढाउन आग्रह गरे ।

कुलमानले सबै सुझावहरूलाई स्वागत गर्दै सिधै पार्टी खोल्ने कुरा गरेनन् , तर उचित समयमा उचित कदम चाल्ने बताए। त्यति बेला यो आशा र सुशासनको प्रतीक उज्यालो अभियानलाई देश-विदेशका युवाहरू सँग जोड्ने यात्रामा रहेको हुनाले घिसिङले आफू कुनै दलमा आबद्ध नरहेको भन्दै नयाँ दलहरू र स्वतन्त्र अभियानहरूसँग सहकार्य गर्न उत्सुक रहेको बताउँदै सक्षम युवाहरूलाई देश विदेशबाट आफ्नो अभियानमा सहयोग गर्न आव्हान गर्दै आएका थिए।

प्रवासी नेपालीले देशमा लगानी गर्ने वातावरण मिलाउँदै जलविद्युत र ऊर्जामा लगानी प्रतिफलको सुनिश्चितता गर्न सके नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने सम्भावनाको ढोका खोल्दै उज्यालो अभियान लोडसेडिङको अन्त्य मात्र नभई देशमा व्याप्त निराशाको अँध्यारो चिर्ने र आशाको उज्यालो छर्ने अभियानको रूपमा अघि बढ्दै आएको थियो । देशमा परिणाम दिन मूल राजनैतिक नेतृत्व फेर्न, नेपालीहरूको राष्ट्र निर्माणमा मतदानको अधिकार सहित सहभागितामा देशमा आशा जगाउने सक्षम नेतृत्वको निर्माणको प्रयासमा देश र जनतालाई नजिकबाट बुझ्न उज्यालो अभियानले अभियान र कार्यक्रमहरू चलाएको थियो।

उज्यालो अभियान लिएर घिसिङ मध्यपूर्व देशहरूबाट अमेरिका अनि युरोप भ्रमण सकेर काठमाडौँ फर्किए बित्तिकै जेनजी आन्दोलन भयो। सरकारको बर्बरता पूर्ण दमनमा ६ दर्जन भन्दा बढी युवाहरूले बलिदान दिए सँगै चर्किएको आन्दोलनले भ्रष्ट सरकार ढले सँगै र समग्र नेतृत्व पङ्ती आफ्नै अहङ्कार र भ्रष्टाचारको कारण आम जनताबाट मुख लुकाई सुरक्षित स्थानमा भागे। यस सँगै राज्य विहीनता बाट उत्पन्न हुन सक्ने अराजकता र प्रतिगमन बाट देशलाई बचाउन ६ महिना भित्र अर्को निर्वाचन गर्ने म्यान्डेट सहित अन्तरिम सरकार गठन भयो। यो बदलिएको सङ्क्रमणकालीन अवस्थामा समाजले आशा भरोसा गरेका अनुहारलाई पुनर्निर्माण गर्ने दाइत्व सुम्पिएको हुनाले कुलमान घिसिङले मन्त्री पदभार ग्रहण गरे तर यो सङ्क्रमण काल पछि पुनः २०७२ सालको संविधानको रक्षा गर्दै जेनजी युवाहरूका भ्रष्टाचार निर्मूल र शासकीय सुधारका अग्रगामी माग पुरा गर्न नयाँ विचार बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध दल/पार्टीको आवश्यकतालाई सम्बोधन गर्न उज्यालो नेपाल अभियान दलको रूपमा रूपान्तरण भयो ।

कहाँबाट परिचालित छन् कुलमान ?

कुलमानलाई पहिलो कार्यकालमा माओवादीको सरकारले नियुक्ति दिएको हुनाले कतै यो अभियान माओवादीबाट परिचालित त हैन भन्ने प्रश्न बारम्बार आइ रहन्छ । यसको जवाफमा घिसिङ आफूले हालसम्म कुनै दलको सदस्यता नलिएको प्रस्ट पार्दै नियुक्ति गरेको आधारमै पार्टी सँग जोड्ने भए आफूलाई दोस्रो कार्यकालमा शेर बहादुर देउवाले नियुक्ति दिएको र आफूले सबै भन्दा बढी केपी ओली सँग काम गरेको हुनाले के अब मलाई काँग्रेस/एमाले भन्ने भनेर प्रति प्रश्न गरे ।

उज्यालो नेपाल अभियानले परम्परागत दलसँग सहकार्य नगर्ने पनि उनले प्रस्ट पारे । न उनी दुर्गा प्रसाईँ, ज्ञानेन्द्र शाही या रबिन्द्र मिश्र जस्तो भड्काऊ अभिव्यक्ति दिन्छन् न भीम रावल र स्वागत नेपाल जस्तो खोक्रो राष्ट्रवादका चर्का नारा नै लगाउँछन्। उनले यही व्यवस्थामा रही आम नेपाली जन समुदायको अवस्था सुधार र आर्थिक विकास, प्रशासनिक सुधार, सामाजिक न्याय र अब्बल नेतृत्व चयन जस्ता वैकल्पिक राजनीतिका एजेन्डा वरिपरि रही अभिव्यक्ति दिई रहेका छन् । कुरा भन्दा पनि काम गर्न अब सक्षम नेतृत्व आवश्यक रहेको भन्ने गर्छन्।

उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमको सम्बोधनमा पनि मन्त्री घिसिङले उज्यालो नेपाल अभियान मार्फत विदेशमा रहेका नेपालीहरूलाई भेटेको अनुभव र आफ्नो व्यक्तिगत सफलताको कथाबाट सुरु गरे। त्यसपछि उनले नेपालको ऊर्जा र पर्यटनमा आधारित अर्थतन्त्रमा उत्पादन हुने जलविद्युतको सम्भावनाको चर्चा गरे । अन्तमा नेपालको विकासलाई गति दिन पूर्वाधार विकासका परियोजनाहरूमा द्रुत निर्णायक कदम चाल्नु पर्ने आवश्यकतालाई औँल्याए!

नायकहरूको साथ, भगवानको आशीर्वाद

नेपालमा जलस्रोत र वैकल्पिक ऊर्जाको अथाह सम्भावना चर्चा गर्दै कुलमानले अहिले बढ्दै गरेको विद्युतीय साधनको उचित व्यवस्थापन गरे पेट्रोलियम पदार्थको माग घटी स्वछ इन्धनले वातावरण जोगिनुको साथै स्वदेशी ऊर्जा खपतले आत्म निर्भरता बढाउने कुरा गर्छन् । रोजगारी सिर्जना गर्न सरकारले रेमिट्यान्स बाट प्राप्त रकमको निश्चित प्रतिशत स्वदेशी परियोजनामा लगानी गरी कम्तीमा १०% प्रतिफलको सुनिश्चितता गर्ने नीति लिए ऊर्जा, उद्योग र कृषि जस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न पर्याप्त रकम जुट्ने र त्यसले थप रोजगारी सिर्जना हुने उनी बताउँछन्।

सही स्थानमा सक्षम नेतृत्वको चर्चा गर्दै उनले उज्यालो नेपाल अभियानलाई डा. भगवान कोइराला, सन्दुक रुइत र महावीर पुन जस्ता आफ्नो क्षेत्रमा सफल व्यक्तिहरूको आशीर्वाद र समर्थन मिल्ने दाबी गर्छन्। नायिका रिमा विस्वकर्मा उनेपा बाट सक्रिय राजनीति सुरु गरी सकेकी छिन।

उज्यालो अभियानमा रवि, चन्द्र र ताराहरूको भूमिका

कुलमान वैकल्पिक र स्वतन्त्र अभियानहरूबाट उदाएका युवा नेताहरू प्रति नरम छन् र सहकार्य गर्न उत्सुक देखिन्छन्। रवि लामिछाने, चन्द्रकान्त (सी के) राउत, बालेन, हर्क, गोपी हमालसँग सहकार्य गर्न आफू संवादमै रहेको र नयाँ आएका सक्षम युवाहरूलाई उज्यालो अभियानले आस्था भन्दा पनि आशाको आधारमा साथ दिने सङ्केत गर्छन्। लामो प्रशासनको अनुभव बटुलेका कुलमानलाई लोकप्रियता र लोकप्रियतावाद बिचको भेद थाहा छ।

समाजमा ख्यातिप्राप्त इमानदार र लोकप्रिय व्यक्तिहरू मिलेर एकताको सन्देश दिन सके उज्यालो अभियानको आकाशमा एकै पटक रवि, चन्द्र र ताराहरू अटाउन सक्छन्। तर रवि/चन्द्र चम्किँदा ताराहरू ओझेलमा पर्ने या चन्द्रहरूले रविलाई ग्रहण लगाउने हो भने परम्परागत दलहरूको असक्षमता, अकर्मण्यता, अहङ्कार र भ्रष्टाचार विरुद्ध बढ्दै गएको विकल्पको चाहना तितरबितर हुने हो कि भन्ने आशङ्का कुलमानमा देखिन्छ। ‘रवि दाइ हाइ हाइ’ भन्ने रास्वपाको एउटा गुट र बालेन-हर्कका समर्थकहरूको अराजक क्लब सँग मिलेर जान सहज पक्कै छैन । अनि यी समाजमा व्याप्त निराशा भजाई आफू भाइरल भएकाहरूको एक आपसमा पानी बाराबार कै अवस्था छ।

सबै चरम व्यक्तिवादमा डुबेका आला काँचाहरूलाई समेटेर सँगै लाने कार्य त्यति सहज छैन। कुलमानले प्रयास गरे पनि बालेन, रवि, हर्कको अहङ्कारले कुलमानको ‘कुल फ्याक्टर’ स्विकार्लान् भन्ने कुनै निश्चितता छैन। त्यसैले पनि होला शायद कुलमान अहिल्यै कुनै दल या समूहमा जोडिने भन्दा पनि उज्यालो नेपाल अभियानले सबै राम्रा अभियानहरूसँग सहकार्य गर्ने मात्र भन्छन् । यी सबै माझ सुदूर पश्चिम बाट स्वतन्त्र राजनीति गरेका डा. तारा जोशी लगायत कानुन तथा मानवीय शास्त्रमा विशेषज्ञता भएका डा. राजु थापा र मुक्त सिङ जस्ता सक्षम युवा भने उनेपाको केन्द्रीय समितिमा सक्रिय छन्।

सफल होला त उज्यालो नेपाल ?

जेनजी आन्दोलन बाट अपदस्त सरकारका ऊर्जा मन्त्रीले व्यक्तिगत रिषिवी लिएर कुलमानलाई बर्खास्त गर्नु सुतेको बाघलाई ढुङ्गा हान्नु नै थियो। अब त्यो बिउँझिएको बाघले सिकार गर्ला या चिडियाखानामा थुनिएला भन्ने कुरा आउँदा दिनले देखाउला। ‘उज्यालो नेपाल’ अभियान एक पटक आकाशमा गर्जन सहित चम्किने क्षणिक चट्याङको बिजुली बन्ला या उनले अन्त्य गरेको लोडशेडिंग झैँ दिगो बन्ला भन्ने कुरा कुलमानलाई स्वदेश तथा विदेशमा रहेका युवा, बुद्धिजीवी र पेशा कर्मीहरूले कत्तिको स्थान दिन्छन् भन्नेमा नै भर पर्नेछ । सबै भन्दा महत्त्वपूर्ण कुरा उनलाई नेपाली दाजुभाइ दिदी बहिनीको कति साथ मिल्छ भन्ने नै हो।

(अनुसन्धानमूलक संस्था निरीका सदस्य डा. जोशी हाल बोस्टनस्थित हार्वर्ड इनोभेसन ल्याब कम्पनीमा वैज्ञानिकको रुपमा कार्यरत छन् । डा. जोशीले उज्यालो नेपाल अभियानको लागि विभिन्न क्षेत्रका विशेषज्ञहरूसँग भेटघाट गरी/गराइ सुझाव दिँदै आएका छन्। यहाँ अभिव्यक्त विचार उनका निजी हुन्।-सम्पादक)

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार