मीनबहादुर मण्डेल
भुवो पर्व हिन्दु धर्मालम्बीहरूको मौलिक पर्व नै हो । भारतको सिन्धुघाँटीको सभ्यता विकसित भएसँगै भुवो, गैरा, शिवरात्रिलगायतका मेलाहरू हिन्दु सभ्यता विस्तारसँगै भएको पाइन्छ । कुरुक्षेत्रबाट हरिद्वार उत्तरखण्ड हुँदै गैरी डोटी भएर बझाङगढमा आएर मोतुवाका बारामा ठकुरीहरूले भूवाखेल खेल्यो भन्ने भनाइ छ । त्यसपछि गाउँ गाउँमा भूवाखेल खेल्ने गरेको पनि कतिपयको भनाइ छ ।
भस्सो कसरी उत्पत्ति भयो भन्ने विषयमा विभिन्न मतहरू छन् । भुवो/भस्सो खासगरी भूवा नामले प्रख्यात छ, शास्त्रीय भनाईअनुसार महाभारत कालमा काैरव-पाण्डवहरूले शस्त्रकला सिक्नेक्रममा हातहतियारसहित गरेको अभ्यास तथा नाचखेलको एक रूप भस्सी, भुवा, चाली, वगली बनेको पाइन्छ। भूवासँग भएको सगुन आँखर पनि काैरव-पाणडवसँग सम्बन्ध राख्दछ ।
पाण्डवहरूलाई जन्मदिनका लागि वद्रीपहाडमा देउताहरूको उपासना गरि, बरदान मागेर पाँच पाण्डवको जन्म भएको हुनाले गङ्गा जमुनामा कुन्ती, माद्रीले वरदान माग्यो भन्ने अर्थ हो । कुन्ता, मैता पाँच पाण्डवकी माता हुन् । पाणडवहरूले भूवाखेल सिकेको गुरु द्रोणाचार्यबाट हो भन्ने भनाइ छ । यस खेलको थप अभ्यास वनवासमा गरेको पाइन्छ । काैरव-पाण्डवहरूको लडाइँ सकिएपछि पाण्डवहरूले विजयको खुशीमा फेरि एकपटक यो खेल कुरुक्षेत्रको मैदानमा खेलेको देखिन्छ ।
भुवा पर्वको ऐतिहासिक पृष्ठभूमि द्वापरयुगमा पाण्डव र कौरवबीच भएको महाभारत युद्धसँग जोडिएको छ। पौराणिक कथनअनुसार, महाभारत युद्धमा पाण्डवहरूले कौरवमाथि विजय हासिल गरेपछि खुसियाली व्यक्त गर्न भुवा खेलिएको थियो । यो पर्व पाण्डवहरूले आफ्नो शक्ति, धैर्य र विजयको उत्सवका रूपमा मनाएको किंवदन्ती छ ।
भुवोको ऐतिहासिकता
यो पर्व विशेषगरी हिन्दू संस्कृति र समाजमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । युद्धको अन्त्यपछि पाण्डवहरूले गरेको विजय उत्सवको प्रतीकस्वरूप यो खेल गाउँ गाउँमा सुरु भयो । यसमा मानिसहरूले एक आपसमा शक्ति प्रदर्शन, नाचगान र परम्परागत खेलमार्फत् एकताको सन्देश दिएका छन् ।
यो पर्व विशेषगरी नेपालका सुदूरपश्चिम र कर्णाली क्षेत्रका ग्रामीण समुदायमा अझै पनि प्रचलित छ । भुवा पर्वले न केवल धार्मिक पृष्ठभूमिलाई सम्मान गर्छ । तर, परम्परागत संस्कृतिको जगेर्ना गर्दै सामूहिकता, सहयोग र मनोरञ्जनको माध्यम पनि बनाएको छ । तर, आधुनिक समयसँगै यस पर्वको महत्त्व र उल्लास क्रमशः घट्दो छ । तथापि, यो हाम्रो सांस्कृतिक सम्पदा हो, जसलाई बचाउन र भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी सबैको हो।
मालदेखि पर्वतसम्म
भुवोको जन्म माल/मद्रास (तराइ क्षेत्र) मा भएको मानिन्छ । हस्तिनापुर अजुध्याकोट पाण्डवले राज्य गरेको ठाउँ ढुङ्गी बजार हरिद्धारमा तीर्थ गर्दै बर्दिनाथबाट गढवाल नैनिताल, दगौली, गल्धाम, गौचर, भावर, टनकपुर, वारिमण्डी, हात्तीढुङ्गा, कौवानी, सानागौडा बाङघाट कल्यान, निगापानी, तेल्याको लेक हुँदै चौसाला घटालमाडु (भीमको पुत्र नामले चर्चित रहेको ठाँउ) र घटालदेव राक्षसनीबाट जन्मेको हुनाले अत्यन्तै शक्क्तिशाली देवताको रुपमा लिइन्छ । त्यहाँबाट गैरा डोटी, तिलमड्या डडेलधुरा पोखराको मष्टामाडु धनपाकाचौका, मारखण्डापानी, खुनीसिराड, चामागाड, ढुङ्गाड, फलिण्ड्या, डास, बझाङगाड, देउरासागुरी, पाल्ती छडा, झोता, झनाना, जुजी, मष्टामाडु, देउलपाटन, पुगेपछि गाउँ गाउँमा पुगेको भनेर किम्बदन्तीमा सुन्नमा आउन्छ ।
सुर्मा गाउँपालिका वडा नम्बर ४ को भुवखेल सुर्मा देवीको नाचनथली थकुन्नाडाको पाटनढुङ्गा जहाँ भुवाखाडा पाण्डवको भुवखेल खेलेर शुरुवात र बिसर्जन गर्ने गरिन्छ ।
यो भुवा पर्व पूर्णिमाको दिनमा गाउँ भरीका मान्छेहरु जम्मा भएर हात हामा ढाल तरवार खुकुरी अन्य स्थानीय हतियारहरु पन्चे बाजाको धुनमा बडो मनोरञ्जन साथ भुवो खेलेर सुरुवात (जगाइन्छ ) गर्ने गरिन्छ । सो सुरुवातको दिन पाँच पाण्डपको धुमधाम पुजाआजा गरेर स्थानीय सुर्मादेवीको पवित्र भूमि थकुन्नाडाको जेठो अन्नको रुपमा मास्याको खाजा पाण्डवलाई चढाउने चलन रहिआएको छ । भुवखेल खेल्दा खेरी मालदेखि पर्वत सुर्मा गाउँपालिकाको पवित्र भूमि थकुन्नाडासम्म आएको फागहरु गाउने गरिन्छ । सुर्मा थकुन्नाडामा भुव खेल खेल्ने सम्पूर्ण यस वडा नम्बर ४ का गाउँबासीहरु नै हुन् ।
भुवो औंसी
औंसीको दिन बेलुका फेरि भुवो खेल खेलेर धिंया भात खाने चलन रही आएको छ । घिया भात भनेको गाउँभरबाट प्रत्येक घरबाट घ्यू र चामल ल्याएर भुवाखडामा पकाउने र भुवो खेल खेल्ने व्यक्तिहरुले खाने र त्यहाँ दाउँराको रुपमा जलाएका राकाहरुले भुवो खेल खेल्दै टाढा फाल्ने चलन चल्ती रहिआएको छ । बलेका आगाका राँकाहरु फालेको ठाउँमा एक वर्ष भुवा खडाबाट लखेटेर चौसिंगे ठूलो खसी बाखालाई उसको शरीरभरि कालो रातो कपडा राखेर कालो मुसो दलेर कसैलाई पनि भूत पिचास नलागोस् सबै गाउँ बासीको पाँच पाण्डव जस्तै शक्क्ति शाहास होस् भनेर सोही ठाउँमा काट्ने चलन पनि रहेको छ ।
भुवो पर्वको सुरुवात खास गरी द्वितीयाको दिन देखि गर्ने गरिन्छ । सो दिनमा चामल र हल्दीलाई स्थानीय प्रविधि ओखलमा कुटेर बनेकोलाई यहाँको स्थानीय भाषामा पिठा (टिका) भनेर भनिन्छ । त्यस पिठालाई सो अवधिभर जहाँ जहाँ खेलिन्छ त्यहाँ त्यहाँ सो दिन नै वितरण गर्ने गरिन्छ ।
फेसबुक प्रतिक्रियाहरु