बझाङ । शुक्रबार बिहानै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा औषधी व्यवस्था विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल प्रहरीसहितको अनुगमन टोली केदारस्यूँ गाउँपालिकाको झोता बजारमा पुग्यो । झोतामा आधा खुला र आधा बन्द गरिएको रितु पोलिक्लिनिकमा पुगेपछि फार्मेसी सञ्चालक सर्जनचन्द्र सुवेदीलाई टोलीले कागजातसहित फार्मेसी खोल्न अनुरोध गर्यो । सुवेदीले इन्कार गरे ।
सुवेदी पोलिक्लिनिकमा फार्मेसी नचलाएको, चलाउने प्रक्रियामै रहेको, आफूसँग चाबी नै नभएको, साता दिनअघि नै पोलिक्लिनिकका मुख्य सञ्चालक अक्कल बोहराले चाबी लिएकोलगायत अनेक बाहना गर्दै फार्मेसी खोल्न तयार भएनन् । अनुगमन टोलीले फार्मेसी चौबीसै घण्टा खुल्ने गरेको जानकारी पाएपछि जनप्रतिनिधिसहितको रोहबरमा ताला नै काट्ने तयारी गर्यो । फार्मेसीको बाहिर पट्टि पोलिक्लिनिकको प्रचार सामाग्रीमा समेत चौबीसै घण्टा सेवा, फार्मेसी, औषधीमा १० प्रतिशत छुटलगायतका कुराहरू देखेपछि गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको रोहबरमा ताला काट्ने निर्णय गर्यो ।
अबैध तरिकाले निर्बाध रूपमा सञ्चालन भइरहेको पोलिक्लिनिकलाई कारबाही गर्न गाउँपालिका अध्यक्षलाई पटक–पटक फोन गर्दा पनि नआएपछि सात घण्टा बिताएर त्यत्तिकै फर्कनुपरेको औषधी व्यवस्था विभाग शाखा कार्यालय बाँकेकी कार्यालय प्रमुख निनु श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार बिहान १० बजेदेखि जनप्रतिनिधिको पर्खाईमा बस्दा बस्दै साँझ ५ बजेसम्म पनि नआएपछि पोलिक्लिनिकलाई ठाडो निर्देशनसहितको पत्र टाँसेर निस्कनु पर्यो ।
अध्यक्ष बोहराले पहिलो पटक गरेको फोनमा अनुगमन पालिकाले नै गर्छ भन्दै अन्य ठाउँमा जान आग्रह गरेका थिए । ‘दोस्रो पटकको फोनमा एकछिनमै आउने जानकारी दिनुभएको थियो,’ सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले भनिन्, ‘एक छिनमै अनुगमन टोलीलाई सहयोग गर्न आउने भन्नुभएका बोहराले दशौँ पटकको फोनपछि स्वीचअफ गरेर सम्पर्कबिहीन हुनुभयो ।’
जनप्रतिनिधिको उपस्थितिमा फार्मेसी चेकजाँच गर्ने भनेर लामो समय कुर्दा पनि नआएपछि पालिकाका उपाध्यक्ष मनिषा धामीलाई जानकारीसँगै उपस्थित हुन वा कुनै प्रतिनिधि पठाइदिन आग्रह गरेको उनले बताइन् । ‘उहाँले एक घण्टामै आउँछु भन्नुभयो,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘एक घण्टामै आफैँ आउँछु भन्ने उपाध्यक्ष दुई घण्टासम्म पनि नआएपछि फोन अफ गरेर सम्पर्कबिहीन हुनुभयो ।’
भाइको अवैधानिक पोलिक्लिनिक बन्द नगराउन दाइ सक्रिय
स्रोतका अनुसार गाउँपालिकाका अध्यक्ष गणेश बोहरा र पोलिक्लिनिकका मुख्य सञ्चालक अक्कल बोहरा सहोदर दाजुभाई हुन् । ‘भाइले लामो समयदेखि अवैधानिक रुपमा पोलिक्लिनिक सञ्चालन गरेको हुँदा उहाँ भाग्नुभएको हो । उहाँ मात्रै होइन, भाइको पोलिक्लिनिक जोगाउनका लागि अध्यक्ष बोहरा नै सक्रिय रुपमा लाग्नुभएको छ ।’ स्रोतले भन्यो ।
रितु पोलिक्लिनिक पालिका सरकारको सत्ताकै आडमा जस्तो पनि उपचार गर्दै, बझाङी जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको स्रोतले बताएको छ । ‘पोलिक्लिनिकले जस्तो पनि औषधी विक्री गर्दै आएको छ ।’ उपचारका लागि पनि सानै बिराममा धेरै औषधी थोपरेर बेच्ने गरेको स्रोतको दाबी छ ।
अनुगमन टोली जनप्रतिनिधिको पर्खाईमा बसेकै बेलामा पोलिक्लिनिकमा भेटिएका सञ्चालक सुवेदीले सबै सटरहरू बन्द गरेर मोटरसाइकलमा हुइकिए । यता पोलिक्लिनिकका बिरामीहरू थपिदै गएका छन् । बिरामी पनि कतिसम्म भने खुट्टाको हड्डीसमेत टुटेकाहरूलाई थप उपचारका लागि आउनु भनेको भन्दै रितु पोलिक्लिनिक पुगेका थिए । ‘मालिकले फार्मेसी दर्ता प्रक्रियामै रहेको भन्छ, यता यस्ता जटिल बिरामीलाई पनि भोलि आउनु भनेर पठाएको रहेछ । सबै बिरामीको उपचारमा आफूले जानेको भन्दै उपचार गर्ने रहेछन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन् ।
जयपृथ्वी राजमार्गमै रहेको पोलिक्लिनिकको आँगनमै कुरेका अनुगमन टोलीलाई छलेर पालिकाका अध्यक्ष, उपाध्यक्ष झोता बजारमै रहेको भैरव माविमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्डको कार्यक्रममा सहभागी थिए । ‘यसै बाटो भएर अध्यक्ष, उपाध्यक्षको टोली रनिङ शिल्डको कार्यक्रममा जानुभएछ,’ केदारस्यूँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमर विष्टले भने, ‘व्यस्तता भए पनि एकपटक अनुगमन टोलीलाई भेट्नु पर्दथ्यो । स्वास्थ्य क्षेत्रका अन्य समस्या, सुधारका विषयमा पनि कुराकानी गरेमा सुधार हुन्थ्यो ।’
लागूऔषध विक्री मेडिकलविरूद्ध मुद्दा
जिल्ला सदरमुकाम चैनपुरमा अवैध लागूऔषध विक्री गर्ने मेडिकल सञ्चालकविरूद्ध मुद्दा दर्ता भएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यलय नेपालगञ्जबाट खटिएको टोलीले चैन मेडिकलविरूद्ध मुद्दा दर्ता गरेको हो । त्यस्तै दर्ता नभएरै सञ्चालनमा भइरहेको अमिसा अस्पताल पनि सिल गरेको छ । दर्ता प्रक्रियामा नगएरै सात महिनादेखि सञ्चालन गरेको भन्दै अस्पताल सिल गरेको हो ।
मेडिकल व्यवस्था विभाग शाखा कार्यालय प्रमुख निनु श्रेष्ठले सामान्य प्रक्रिया पनि पूरा नगरी अवैधानिक ढंगले सञ्चालनमा रहेका फार्मेसीलाई कानुनअनुसार कारबाही भइरहेको बताइन् । उनले अनुगमनका क्रममा भेटिएका सबै मेडिकलमा चेकजाँच गर्दा कानुनी प्रक्रिया पूरा नगरेका, लागूऔषध बेच्ने गरेका मेडिकललाई कानुनी कारबाही गरेको बताइन् ।
फेसबुक प्रतिक्रियाहरु