बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • कृष्ण दमाई महाराज र जातीय भेदभाव अन्त्यको गन्थन-मन्थन !
Breaking News

कृष्ण दमाई महाराज र जातीय भेदभाव अन्त्यको गन्थन-मन्थन !

आचार्य भनिएका कृष्ण महाराजज्यूले पशुपतिमा जारी कोटी होममा प्रवचन दिएपछि सामाजिक सञ्जाल रङ्गियो! छुवाछूत सदाको लागी सकिएझैँ चर्चा भयो ! के रुकुम पश्चिमको सोती गाउँमा या जाजरकोट जस्ता ठाउँमा जहाँ अन्तरजातीय विवाहको नाउँमा केही वर्षअघि नवराज बिक सहित ६ जना युवाहरूको ज्यान जाने गरी केही वर्ष अघि भएको जातीय विभेद जन्य आपराधिक घटना घट्ने समाजमा परिवर्तन आयो ? पूर्ण रुपमा नआएको भए आमूल सुधारको लागी कस्ता ठोस कदम चाल्नु पर्ला ? यो गन्थन यसै सेरोफेरोमा केन्द्रित रहने छ !

पशुपतिको जात्रा सिद्राको व्यापार भने जस्तो कथा वाचन, कोटी होम जस्ता सामाजिक-धार्मिक काम हुने ठाउँ नेता, मिडिया, टिकटकमा नाम चलेका प्रभावी(ईन्फ्लुएन्सर), भाइरल अभियन्ता पनि लाइक र फलोवर बढाउनका लागी सेल्फी हान्न, अन्टसंट शेयर गर्न लाइभ बसेका हुन्छन् ! कृष्ण महाराजज्यूले कोटी होमको प्रवचन पछि हाम्रो सामाजिक सञ्जाल रङ्गियो, न्युज बने ! कन्टेन्ट भाइरल हुँदै गएपछि दमाईलाई पण्डित बनाउने कुरा स्टन्टबाजी जस्तो भो भिडियो र टिकटक बनाउने, फोटो खिचेर सुधारक हुँ भनेर देखाउने होड भयो !

नेपालका प्राय सबै फेसबुके चटके प्रभावीहरू त्यहाँ पुगे र फोटो हाले! वास्तविक दलित र सीमान्तकृत वर्गका मुद्दामा काम गर्ने संस्थाहरूलाई पश्चिमाहरूबाट परिचालित भनेर गाली गर्दै संजालमा रंग्याउने भारतका उग्र हिन्दुवादी सङ्गठन द्वारा परिचालित संघ संस्थाहरू पनि त्यहाँ पुगे ! ‘शाहको नाति सबैभन्दा माथि’ भन्ने जाती-नश्लवादीहरु “धर्म रक्षक” बन्दै फोटो हाल्न उद्धत देखिए !

यो सब चटक मध्य दलित हितमा सधैँ कलम चलाउने जस्ता प्रगतिशील लेखकले जति स्थान पाउनु पर्ने थियो पाएनन् ! लङ्का जित्ने हनुमानको भन्दा पगडी गुथ्ने ढेडुहरूको चर्चा बढी भई रहेछ!

आउनुहोस् चर्चा शास्त्रहरू बाटै गरौँ ! ऋग्वेद संहिता, मण्डल १० , सूक्त ९० , ऋचा २ मा :

ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः ।

ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥

भनिएको छ अर्थात् सृष्टिको मूलमा त्यो परम ब्रह्मको मुख ब्राह्मण थियो, बाहुहरू क्षत्रीका कारण बने, उसका तिघ्रा वैश्य बने र खुट्टाबाट शूद्र उत्पन्न भए । यसै श्लोकको अपभ्रंश मनुस्मृति, अध्याय १ , श्लोक ३१ मा देखिन्छ:

लोकानां तु विवृद्ध्यर्थं मुखबाहूरूपादतः ।

ब्राह्मणं क्षत्रीयं वैश्यं शूद्रं च निरवर्तयत् ॥

अर्थात् समाजको वृद्धिको उद्देश्यले उस (ब्रह्म ले ) मुख, बाहुहरू, तिघ्रा एवं खुट्टाबाट क्रमशः ब्राह्मण, क्षत्रिय, वैश्य तथा शूद्रको निर्माण गर्‍यो ।

शास्त्रमा यसो पनि भनिएको छ :

जन्मना जायते शूद्रः संस्काराद्विज उच्यते।

वेदपाठात् भवेत् विप्रः, बह्म जानाति ब्राह्मणः।।

अर्थात् जन्मँदा सबै शूद्र हुन्छन् जसले सुसंस्कार प्राप्त गर्छन् उनको फेरी जन्म भएको मानिन्छ (द्विज -दोस्रो जन्म पाएका) । वेद पठन पाठन गर्ने विप्र बन्छ र जसले ब्रह्म जान्छ त्यही ब्राह्मण हो! कर्मको आधारमा भएको वर्गीकरण विकृत भएर कालान्तरमा सङ्कीर्ण जातिवाद भो। भेदभाव गर्ने के बाहुन? ब्रह्म जानातीति ब्राह्मणः, ब्रह्म जानेकोले त सबैमा ईश्वर देख्छ फेरि के को जात–पात? त्यसरी नै सामाजिक न्याय भुली विभेदको पक्ष पोषण गर्ने कसरी रक्षक क्षत्रिय हुन सक्छन्?

हिन्दु धर्मको कलङ्क हो जातिवाद! हामीले जति बचाउ गरे पनि हुन्न! वेदमा त्यही अर्थमा नलेखेको भए पनि (जातीय विभाजन जन्म हैन कर्मको आधारमा गर्न खोजिएको हुनु पर्छ) तर मनुस्मृति जस्ता ग्रन्थ अत्यन्त सङ्कीर्ण र पश्चगामी छन् र हाम्रो मुलुकी ऐन त्यसमै आधारित थियो! बाहुन, क्षेत्रीले अन्य जातिलाई दमन गर्न बनाएका नियम! मनुस्मृति र मुलुकी ऐनले समाजमा विभेद संस्थागत गर्‍यो बाहुनलाई शस्त्र पढ्ने ठेकेदार बनायो त दलितलाई मन्दिर पस्न बाट निषेध गर्‍यो! दुर्गम गाउँ घरमा आज पनि ‘दमाई’ले छोएको पानी चल्दैन, मठ-मन्दिरमा दलितलाई प्रवेश समेत छैन, उसलाई शास्त्र र समाजले पण्डित बन्न दिँदैन।

तर शताब्दी औँ सम्म दिएको विभेदको घाउमा मलहम लगाउन कृष्ण महाराजज्यूले पशुपतिमा जारी कोटी होममा दिएको एउटा प्रवचन त्यसलाई पनि आफ्नो नाम कमाउने चटक बनाएर मात्र पुग्दैन ! दलित भनेर विभेद गरेको वर्गलाई पण्डित बनेर कथा भन्न दिनु सदियौँ देखी भएको विभेदको घाउमा मलहम लाउने प्रयास हो तर त्यतिले पुग्दैन सीमान्तकृत वर्गको उत्थान गर्न ठोस कदम चाल्नु पर्छ ! सांसदबाट सङ्कल्प प्रस्ताव पारित गरेर ऐतिहासिक रुपमा छुवाछुतको नाममा भएका सबै भेदभाव र अपराधका लागि सीमान्तकृत वर्ग सँग क्षमा माग्नु पर्छ। शिक्षा, रोजगारी आदिमा सुधार, मनुस्मृति जस्ता ग्रन्थको संशोधन या बन्देज र छुवाछुत माथि अझै कडा कानुन या जति पनि दलित जाती छन् सबैलाई लामिछाने, जोशी, शर्मा जस्ता जात दिएर तीन पुस्ते नागरिकता नै बदलेर गए अर्को पुस्तमा विभेद घट्ला !

जातीय विभेद सदाको लागी अन्त्य गर्न यस्ता ठोस क्रान्तिकारी कदम चाल्नु पर्छ एक पटक कृष्ण दमाई महाराजज्यू लाई वेदिमा बसाएर, कथा भन्न लगाएर मात्र पुग्दैन !

श्री पशुपतिनाथले सबैको आँखा उघारुन् !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार