शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • उम्मेदवार छनाैटमा विवाद : बैठकबाट बाहिरिए शेखर र शशांक 
समाचार

उम्मेदवार छनाैटमा विवाद : बैठकबाट बाहिरिए शेखर र शशांक 

काठमाडौं । नेपाली कांंग्रेसको बैठकमा उम्मेदवारको विषयमा विवाद भएपछि बैठकबाट शेखर कोइराला र शशांक कोइराला बाहिरिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले इलामका सभापति डम्बर खड्कालाई उमेदवार बनाउने अडान राखेपछि शेखर कोइरालाले स्थानीयको सुझाव छाडेर निर्णय लिन नहुने बताएका छन् । उनले निकटतामात्रै हेरेर निर्णय लिने भए हार र जितका जिम्मा लिनुपर्ने चुनौती दिएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा महामन्त्री गगन थापाले सभापति र उपसभापतिसँग छलफल गरेका थिए । तर, उनीहरूले अडान नछाडेपछि महानमन्त्री थापाले शेखरलाई देउवा र खड्कासँग संवाद गर्न आग्रह गरेका थिए ।

संवादका क्रममा शेखरले स्थानीयको चाहनालाई बेवास्ता गरे पार्टीलाई दुर्घटनामा पुर्‍याउने चेतावनी दिएका थिए । शेखरले इलाम–२ मा भेषराज आचार्यलाई उमेदवार बनाउनुपर्ने अडान लिएका छन् । “इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठिक छ, होइन भने जित हारको जिम्मा तपाईं नै लिनुस्,” शेखरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने ।

शेखरको भनाइमा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाएका थिए । “शेखर दाइले भनेको कुरामा मेरो पनि सहमति हो,” यति भनेर दुवै नेता बैठकबाट बाहिरिएका थिए । बझाङको प्रदेशसभा उमेदवारका विषयमा पनि कांग्रेस बैठकमा विमति भएको छ । बैठकमा सहभागी ती नेताका अनुसार पार्टीको निर्णयविपरीत बझाङमा टिकट दिन लागिएको भन्दै शेखरले असहमति जनाएका थिए ।

“पार्टीले निर्णय गरेको छ । हारेको व्यक्तिलाई टिकेट नदिने भनेर,” नेता शेखरको भनाइ उद्धृत गर्दै ती नेताले भने, “फेरि तपाईंहरू हारेकोलाई बझाङमा टिकट दिन खोज्दै हुनुहुन्छ । के गर्न खोजेको ?”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै