शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेकपा (एस) बाट भानुभक्त जोशी मन्त्री बन्दै, को हुन् जोशी ?
Breaking News

नेकपा (एस) बाट भानुभक्त जोशी मन्त्री बन्दै, को हुन् जोशी ?

बझाङ । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम पठाएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएको हो ।

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अब टुंगिएको छ । नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् ।

गठबन्धनमा जसपा पनि छ । तर अहिलेसम्म जसपाले मन्त्रीहरूको नाम दिइसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

को हुन् जोशी ?

वि.सं २०३५ सालमा शान्ति मावि चौघानपाटा पढ्दै गर्दा राजनीति चेत पलाएका भानुभक्त जोशीले २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन राजा महेन्द्रको शासनकालदेखि आजसम्म मुलुकमा भएका हरेक परिवर्तनका साक्षी बनेका जोशी परिवर्तनको आन्दोलनमा दर्जनौँ पटक गिरप्तारीमा परे ।

२०४६/४७ सालको आन्दोलनमा उनी विद्यार्थी संगठनबाट अग्रपंतिमा रहेर काम गरे । आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवको रुपमा काम गरेका जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे । तर, झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।

२०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा सदस्यको मूख्य काम संविधान बनाउनु थियो । तर, २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्षको तोकियो । ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुर्नगठन हुँदा झलनाथ खनालको क्याबिनेटका वन तथा भू–संरक्षणमन्त्री जोशी थिए । उनको कार्यकाल ४ महिना मात्रै रह्यो ।

नेकपा एमालेमा हुँदा जोशीले जिल्लामा विभिन्न पद सम्हाल्दै जिल्ला नेतृत्व, अञ्चल कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरे भने गत वर्ष मात्रै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको उनी स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छन् । ०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका युवा नेता ऐन महरलाई हराउँदै निर्वाचित भएका हुन् ।

यसअघि आफू मन्त्री  पदमा रहँदा महत्वपूर्ण काम गरेको जोशी सम्झन्छन् । २०५१ सालमा नेकपा एमालेको सरकार हुँदा जेष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षाभत्ता, आफ्नो गाउँ आफैं बनाऔंजस्ता दर्जनौँ लोकप्रिय काम गरिएको थियो । त्यससमय राजनीति स्थायित्व नभएकै कारण जुनसुकै सरकार आए पनि ५ वर्ष नटिक्ने अवस्था भएका कारण धेरै काम गर्न नसकेको उनले बताए ।

उनी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै