शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गाजामा एलन मस्कले इन्टरनेट दिने भएपछि रुष्ट बन्यो इजरायल
Breaking News

गाजामा एलन मस्कले इन्टरनेट दिने भएपछि रुष्ट बन्यो इजरायल

इजरायलको हवाई आक्रमणले लगभग ५० प्रतिशत भौतिक पूर्वाधार ध्वस्त भइसकेको गाजास्ट्रिपमा विश्वका धनाढ्य व्यक्ति एलन मस्कले इन्टरनेट सेवा दिने घोषणा गरेका छन् ।

गत अक्टोबर ७ मा हमासले हजारौँ रकेटहरू प्रहार गर्दै इजरायलविरुद्ध आक्रमण सुरु गरेको थियो । अमेरिकाको समर्थन पाएको इजरायलले त्यसपछि यस्तो घातक हमला थालेको छ, जसले गाजामा विकराल अवस्था निम्तिएको छ ।

इजरायलले घेराबन्दी नै गरेर त्यहाँ खाद्यवस्तु, औषधि, खाने पानी साथै इन्टरनेटमा प्रतिबन्ध लगाएपछि त्यहाँको अवस्था नाजुक बन्दै गइरहेको छ । अन्तर्राष्ट्रिय एजेन्सीहरूले इजिप्ट हुँदै गाजामा मानवीय सहायताका सामग्रीहरू पठाउन सुरु गरेका छन् ।

तर, पूर्वाधारहरूमा ठूलो क्षति हुँदा र इन्टरनेट बन्द हुँदा गाजाबाट अन्तर्राष्ट्रिय एजेन्सीका स्वयंसेवकहरूले सञ्चार गर्न पाइरहेका छैनन् । यस्तोमा सामाजिक सञ्जाल ट्विटर, स्पेस एक्स, टेस्लाका मालिक मस्कले त्यहाँ नि:शुल्क इन्टरनेट सेवा दिने वाचा गरेका छन् ।

हाल पृथ्वीका कक्षहरूमा मस्कका ५ हजार स्टारलिंक स्याटेलाइटहरू तैनाथ छन्, जसले ६० भन्दा बढी देशमा इन्टरनेट सेवा दिइरहेको छ । यस्तोमा गाजामा पनि मानवीय सहायताका लागि इन्टरनेट दिने मस्कको भनाइ छ । यसअघि रुसले युक्रेनमा आक्रमण थाल्दा त्यहाँ पनि इन्टरनेट सेवा प्रभावित हुँदा मस्कले नै स्याटेलाइटमार्फत युक्रेनमा इन्टरनेट सेवा दिएका थिए ।

तर, मस्कको घोषणाबाट इजरायल भने खुसी छैन । इजरायलले स्टारलिंक इन्टरनेट सुविधा गाजामा दिइँदा त्यसले हमासलाई फाइदा पुग्ने बताएको छ । इन्टरनेट सुविधा हमासको पहुँचमा गए झनै आतंकवादी गतिविधि बढ्ने इजरालको भनाइ छ । उसले गाजाभित्र इन्टरनेट सुविधा रोक्न आफूले सक्दो प्रयत्न गर्ने भन्दै मस्कको विरोध जनाएको छ ।

यसअघि मस्कले हालै गाजाका २२ लाख जनसंख्यालाई इन्टरनेट र सञ्चारको पहुँचबाट वञ्चित गरिनु अन्याय हुने भन्दै पत्रकार, स्वास्थ्यकर्मी र मानवअधिकारकर्मीको हितका लागि भए पनि त्यहाँ इन्टरनेट सेवा दिइनुपर्ने बताएका थिए ।

गत हप्ताको शुक्रबार राति इजरायलले हमासका १५० स्थानमा घातक आक्रमण गर्दा त्यही आक्रमणले गाजाको इन्टरनेट प्रणालीमा ठूलो क्षति पुगेको बताइएको छ । सोमबारसम्मको तथ्यांकअनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा ८ हजार ५ प्यालेस्टाइनीले ज्यान गुमाएका छन् । यस्तै, हमासको कारबाहीमा इजरायलमा १४ सयले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै