शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपाल कम्युनिष्ट पार्टीद्वारा भूकम्प पीडितलाई राहत
Breaking News

नेपाल कम्युनिष्ट पार्टीद्वारा भूकम्प पीडितलाई राहत

चैनपुर (बझाङ) । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) भूकम्पग्रस्त क्षेत्र बझाङ पुग्नुभएको छ । बझाङका विभिन्न क्षेत्रमा पुगेर राहत वितरणसँगै अनुगमन गर्नुभएको हो ।
आइतबार विप्लवले जिल्ला विपद् व्यवस्थापन समिति बझाङलाई नगद रकमसहित राहत समाग्री हस्तान्तरण गर्नुभएको नेकपाका केन्द्रीय सदस्य भरत मल्लले बताउनुभयो । मल्लका अनुसार विपद् व्यवस्थापन समितिलाई पार्टीको तर्फबाट एक लाख रूपैयाँ नगद र एक सयवटा कम्बल सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीलाई हस्तान्तरण गर्नुभएको हो ।

केन्द्रीय सदस्य मल्लले इजरायलमा विद्रोही पक्ष हमासको आक्रमणमा परी ज्यान गुमाएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको परिवारलाई नगद रू. १० हजार सहयोग गरेको बताउनुभयो । “ज्यान गुमाएका गणेशको परिवार र सोही वडामा भूकम्पबाट ज्यान गुमाएकी गुनमतीदेवी धामीको परिवारलाई रू. १० हजार रूपैयाँ पार्टीको तर्फबाट नगद सहयोग गरेका छौँ ।” उहाँले भन्नुभयो ।
शनिबार बझाङ पुग्नुभएका विप्लवले वित्थडचिर, केदारस्यूँ, दुर्गाथली, जयपृथ्वी नगरपालिकाका भूकम्प पीडितलाई भेट्नुभएको छ ।

बझाङ उद्योग वाणिज्य संघद्वारा पीडितलाई राहत

जिल्लाको सबैभन्दा ठूलो निजी क्षेत्र बझाङ उद्योग वाणिज्य संघले भूकम्पबाट क्षति पु¥याएका ९ पालिकामा राहत वितरण गरेको छ । गएको मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट क्षति भएका पीडितलाई राहत दिएको वितरण गरेको हो ।

अध्यक्ष दानबहादुर सुर्मेलीका अनुसार जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, तल्कोट, खप्तडछान्ना, थलारा, मष्टा छविसपाथिभेरा, दुर्गाथली र केदारस्यूँ गाउँपालिकामा त्रिपाल, चामल, चिउरा, स्वयाबिन वितरण गरिएको छ । अध्यक्ष सुर्मेलीले भने, “हामीले धेरै निकायलाई पहल गरेर करिब १० लाख बराबरको राहत सामाग्री पीडितका लागि पालिकालाई वितरण गरेका हौँ ।”

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) केन्द्रीय समिति, एफएनसीसीआई सुदूरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर उद्योग वाणिज्य संघ, डोटी उद्योग वाणिज्य संघ र बझाङ उद्योग वाणिज्य संघको सहकार्यमा भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको अध्यक्ष सुर्मेलीले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार