मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • गाडीभाडा नहुँदा चोरी, प्रतिकार गर्दा चक्कु प्रहार
Breaking News

गाडीभाडा नहुँदा चोरी, प्रतिकार गर्दा चक्कु प्रहार

बझाङ । गत साता चैनपुरमा आमा छोरालाई चक्कु प्रहार गर्ने आरोपी पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्याने चौधरी पक्राउ परेका हुन् । सोमबार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले आरोपीलाई सार्वजनिक गरेको हो । चौधरी गएको सोमबार मादक पदार्थ सेवन गरी सुनिता विकको कोठामा गएर विकसहित उनका दुई नाबालक छोरालाई चक्कु प्रहार गरी फरार रहेका थिए ।

सदरमुकाम चैनपुरमा ज्याला मजदुरी गर्दै आएका चौधरी चोरी गर्न कोठाभित्र पसेको र विक परिवारले प्रतिकार गरेपछि भान्छाबाट चक्कुले प्रहार गरी मोबाइल लुटेर भागेका थिए । लुटिएको मोबाइलका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । आरोपित चौधरीमाथि अहिले जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए ।

‘आरोपी केही दिनयता गाडीभाडा नपाएर चैनपुरमै रोकिएको रहेछ । त्यस दिन घटना घटाएर दोस्रो दिन नै कैलाली गएर घरमा बसेको अनुसन्धानबाट देखिएको छ,’ नायब उपरीक्षक भण्डारीले भने । उनका अनुसार मदिरा खाएर चोरी गर्ने उद्देश्यले घटना घटाएको देखिन्छ । ‘विकको कोठामा राति उज्यालै रहेछ । बाहिरबाट हेर्दा झ्याल छेउमा मोबाइल देखेपछि कोठाभित्र पसेको र परिवारका सदस्यले थाहा पाएपछि अन्धाधुन्ध भान्छाबाट चक्कु लिएर प्रहार गरेको देखिन्छ ।’ उनले भने । आरोपित चौधरी मजदुरी गर्न चैनपुरमा ६ महिना अगाडि आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार