रेडियोधर्मी तत्व भन्नाले के हो ?
हाम्रो वरिपरि पाइने हरेक वस्तु वा पदार्थ विभिन्न प्रकारका तत्वहरूबाट बनेको हुन्छ । ती तत्वहरूको सानो अंशलाई परमाणु (एटम) भनिन्छ । उक्त परमाणुको भित्री केन्द्रीय भागलाई “न्यूक्लियस” वा “केन्द्रक” भनिन्छ । जसमा प्रोटोन र न्युट्रोन नामक सब (एटोमिक पार्टीकल्स) रहेको हुन्छ । त्यस न्यूक्लियस वा केन्द्रक शब्दबाट न्यूक्लियर शब्द आएको हो ।
न्यूक्लियस कुनै सामान्य तत्व (स्टेबल मटेरियल) को हो अथवा रेडियोधर्मी तत्व (रेडियोएक्टिव मटेरियल) को हो भन्ने कुरा हामीले बुझ्न जरूरी छ । कुनै तत्व स्टेबल हो अथवा रेडियोधर्मी भन्ने कुरा उक्त पदार्थको न्यूक्लियसमा रहेको न्युट्रोन र प्रोटोनको संख्याको अनुपातमा निर्भर गर्दछ । रेडियोधर्मी पदार्थको न्यूक्लियसमा न्युट्रोनको संख्या प्रोटोनको भन्दा निक्कै बढी हुनाले त्यस्ता रेडियोधर्मी पदार्थको न्यूक्लियसबाट आल्फा-रे, बिटा-रे, गामा-रे आदि जस्ता रेडियोधर्मी विकिरणहरु निस्किन्छ जसलाई आयनाईजिङ विकिरण पनि भनिन्छ ।
विकिरण दुई प्रकारका हुन्छन् आयनाईजिङ र नन्-आयनाईजिङ । आयनाईजिङ विकिरण भन्नाले धेरै ऊर्जा भएको विकिरण जुन अरू तत्वसँग ठोकिँदा त्यस तत्वबाट इलेक्ट्रोन निष्कासन गरी त्यसलाई रेडिकलमा परिणत गर्दछ, जस्तै अल्फा-रे, गमा-रे आयनाईजिङ विकिरण हुन् ।
नन्-आयनाईजिङ विकिरण भन्नाले कम ऊर्जा भएका विकिरण जसले कुनै तत्वसँग ठोकिँदा कुनै पनि असर गर्दैन, जस्तै भिसिबल-रे, इन्फ्रारेड-रे ,रेडियो वेब आदि नन्-आयनाईजिङ विकिरण हुन् ।
विकिरण भन्नाले के हो ?
रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थ आफू स्टेबल अवस्थामा आउनका लागि त्यस्ता शक्तिशाली रेडियोधर्मी विकिरणहरू निकाल्छ । यी रेडियोधर्मी विकिरणहरूले मानव शरीरलाई प्रतिकुल असर पार्छ । हाम्रो वातावरणमा विभिन्न प्रकारका रेडियोधर्मी पदार्थहरू प्राकृतिक रूपमै पाइन्छन् जसले निरन्तर त्यस्ता विकिरणहरू निकाली रहन्छ । प्राकृतिक रूपमा पाइने त्यस्ता रेडियोधर्मी विकिरणको मात्रा निकै कम हुनाले नकारात्मक असर तुरून्त भने देखिँदैन । हालसम्म प्राकृतिक र अप्राकृतिक, (कुनै तत्वका आइसोटप सहित) गरी जम्मा ३८ रेडियोधर्मी तत्व देखिएका छन् । तीमध्ये हामीले धेरै सुन्दै आएको पदार्थ युरेनियम हो । कोबाल्ट, रेडियम, पोलोनियम, थोरियम, प्लुटोनियमजस्ता अन्य रेडियोधर्मी पदार्थहरूका बारेमा पनि कहिलेकाहीँ चर्चा गरिएको सुनिन्छ ।
रेडियोधर्मी पदार्थबाट निस्कने विकिरण उपयोगी या हानिकारक ?
रेडियोधर्मी चीजहरू उपयोगीका साथै हानिकारक पनि हुन सक्छन् । केही ठूला शहरहरूमा, अत्यधिक बिजुली उत्पादन गर्न यूरेनियमको प्रयोग गरिन्छ । विभिन्न क्यान्सरजन्य रोगको उपचार गर्न पनि रेडियो थेरापी पद्धतिमा यस्ता विकिरणहरूको प्रयोग गरिन्छ । एक्स रे, सिटी-सक्यानजस्ता उपयोगी मेडिकल उपकरणहरूमा पनि भित्री अंगको तस्बिर लिन यस्ता विकिरण प्रयोग गरिन्छ । कतिपय ठाउँमा पृथ्वीको भित्री भागमा रहेको युरेनियमबाट निस्केको ऊर्जा भूकम्पको कारकको रूपमा पनि लिइएको छ । विनाशकारी परमाणु बम पनि रेडियोधर्मी पदार्थबाटै बनाइन्छ ।
प्रकृतिमा पाइने पोटासियम-४०, थोरियम, युरेनियम रेडियम आदिलाई प्रकृतिमा पाइने रेडियोधर्मी तत्व (Naturally occurring Radioactive Material) भनिन्छ । सामान्य सुरक्षित विकिरणको मात्रा कति हो?
प्राकृतिक होस् वा मानव निर्मित दुवै किसिमका रेडियोधर्मी तत्वले हामीलाई विभिन्न डोज दिइरहेका हुन्छन् । हामीले दैनिक जीवनयापन गर्ने वातावरणमा रेडियोधर्मी विकिरणको जोखिम कति छ भन्ने कुरामा हाम्रो चाँसो हुनुपर्छ । सामान्य तया UNSCEAR द्वारा तोकिएको सुरक्षित विकिरणको मापन १ मिली सिभट प्रति वर्ष (msv/yr) मानिन्छ ।
हामीले खाने फल केरामा पनि रेडियोधर्मी Potasium-४० पाइन्छ । वैज्ञानिकहरूले केराले मान्छेलाई कति डोज दिन्छ त भनेर बनाना इक्विवभ्यलेन्ट डोजको निर्माण गरे (BED) । १ BED= ०.१ माइक्रो सिभट हुन्छ, जुन सुरक्षित विकिरणको मापनभन्दा धेरै कम हो । धेरै केरा खानाले पनि हाम्रो शरीरमा रेडियोधर्मी विकिरणको मात्र बढाउन सक्छ ।
एकचोटी x-ray गर्दा ५ माइक्रो सिभट विकिरणको सम्पर्कमा हामी आउँछौ । जुन ५० केरा खाए बराबर हुन्छ । हाम्रो वरिपरि माटो, ढुंङ्गा, कस्मिक विकिरणबाट एक दिन पृथ्वीमा बस्दा हामी १० माइक्रो सिभट डोज हामी प्राप्त गर्छौँ । जुन १०० केरा खाए बराबर हुन्छ । हामीले ३५ हजार फिट उचाइमा हवाइजहाजको सवारी गर्दा एक घण्टामा ३ माइक्रो सिभट, यानकी २४ घण्टा हवाइजहाजको सफर गर्दा ७२० केरा खाए बराबरको डोज प्राप्त हुन्छ । एक चोटी CT-scan अबल गर्दा हामीलाई १० हजार माइक्रो सिभट डोज प्राप्त हुन्छ ।
सिग्रेटमा पनि Polonium-२१० को मात्र भेटिन्छ । दिनको १ प्याकेट धुम्रपान १ वर्षसम्म गर्दा २४ हजार माइक्रो सिभट डोज प्राप्त हुन्छ । जुन दुई लाख ४० हजार केरा खाए बराबर हुन्छ । पटकपटक एक्स–रे, सिटिस्क्यानमार्फत् तस्बिर लिँदा, धेरै हवाईजहाजमा सफर गर्दा विकिरणले पार्ने असर सामान्य अवस्थाको भन्दा बढी हुन जान्छ । यदि हाम्रो शरीरमा विकिरणको मात्रा धेरै भयो भने क्यान्सरको जोखिम बढ्छ, अनुवंशमा उत्परिवर्तन आउँछ । मस्तिष्कको विकासमा असर पुग्ने हुन्छ । धेरै नै विकिरण छ भने मान्छेको मृत्युसमेत हुन्छ ।
नेपालमा विकिरणको प्रयोगको अवस्था कस्तो छ ?
नेपालमा मेडिकल क्षेत्रमा विकिरणको प्रयोगको इतिहास लगभग १०० वर्ष पुरानो छ । नेपालमा सर्वप्रथम एक्स–रे विकिरणको प्रयोग सन् १९२३ मै मिलिटरी अस्पतालमा भएको थियो । त्यसैगरी सिटी स्क्यानको प्रयोग सबैभन्दा पहिला सन् १९८८ मा वीर अस्पतालमा भएको थियो ।
हाल एक्स रे तथा रेडियोधर्मी विकिरणहरूको प्रयोग अत्याधिक र विकसितरूपमा चिकित्सा क्षेत्रमा राडिएसन थेरापीद्वारा बिरामीको रोगहरूको परीक्षण तथा उपचारमा हुँदै आएको छ । हाम्रो देशमा विकिरणको प्रयोगको इतिहास झण्डै एक सय वर्ष पुरानो भए पनि यसको प्रयोग र व्यवस्थापनसम्बन्धी कुनै कानुन थिएन । हालैमात्र प्रतिनिधि सभाबाट रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धि बिधेयक, २०७६ पारित भएको छ ।
सन् २००८ मा नेपालले आईएईए (IAEA) को सदस्यता लिएको थियो । आईएईएले शान्तिपूर्ण रूपमा आणविक ऊर्जाको उत्पादन कार्यक्रमबारे अनुसन्धान, सुरक्षित मापदण्ड, रेडियोधर्मी पदार्थको ओसारपसार, रेडियोधर्मी फोहोरको व्यवस्थापन आदिबारे काम गर्दै आएको छ ।
नेपालमा युरेनियमको सम्भावना के कस्तो छ ?
केही वर्षअघि खानी तथा भू-गर्भ विभागले गरेको अध्ययनअनुसार नेपालका पनि विभिन्न ठाउँहरू जस्तै माथिल्लो मुस्ताङ, बैतडी, मकवानपुर, काठमाडौँको केही ठाउँमा विकिरणको मात्रा बढी भएको देखिन्छ जुन युरेनियमको कारणले हुन सक्छ । तर यो कति मात्रामा छ ? यसबाट निस्कने विकिरणले वरपरको वातावरणमा परेको असर (Health Hazard Indiced) को बारेमा भने कुनै अध्ययन नभएको देखिन्छ । हाम्रो सन्दर्भमा आर्थिक सामथ्र्य नभएको, सडक गतिलो नभएको, भूकम्पको उच्च जोखिम रहेको देशमा आणविक ऊर्जा निकाल्न भट्टी बनाउने कल्पना असम्भव जस्तो नै देखिन्छ । नेपालजस्तै गरिब अफ्रिकी मुलुक नाइजरमा त्यहाँको युरेनियम खानीमाथि फ्रान्सले लगानी गरी धेरै युरेनियम निर्यात हुने गर्छ । तर, त्यो मुलुक अझै पनि गरिबीमै रुमल्लिएको छ । उल्टै त्यहाँको पानीका स्रोत कृषियोग्य जमिन रेडियोधर्मी पदार्थबाट प्रदूषित भएका छन् । मानिसहरूमा स्वास्थ्य समस्या थपिएको छ । सन् २०११ मा जापानमा फुकुयामामा भएको आणविक भट्टीको दुर्घटनाले निम्त्याएको विकिरणको खराब असरलाई देखेर आणविक भट्टिलाई निरुत्साहित गर्नुपर्छ भन्ने आवाजहरू पनि सुनिन्छन् ।
हाल के गर्न सकिन्छ ?
प्रकृतिमा पाइने रेडियोधर्मी पदार्थको उत्खनन्, प्रशोधन, ओसारपसार र सुरक्षित प्रयोग कति सहज छ, आर्थिक लगानी कति आवश्यक हुन्छ र अन्तर्राष्ट्रिय कानुन आदिबारे सबैले जान्न जरूरी छ । खानी तथा भूगर्भ विभागको २०७०/७१ को वार्षिक प्रतिवेदनअनुसार विभिन्न ठाउँमा रहेको युरेनियम कुन ग्रेडको छ ? यसको मात्रा कति छ, यसबाट निस्केका विकिरणले मानवलाई कति डोज दिइरहेको छ, मान्छेको स्वास्थ्यमा असर परेको छ कि छैनजस्ता कुराहरूको प्रयोगात्मक अध्ययन भएका छैनन् ।
ग्यालेक्सी टिभीले तयार परेको एक रिपोर्टका अनुसार मकवानपुरको बाकैया गाउँपालिकामा रहेको युरेनियमको स्रोत हुँदै बगेको खोलामा पनि विकिरणको मात्रा बढी रहेको र त्यो पानीको प्रयोगबाट विभिन्न स्वास्थ्य समस्याहरू देखिएको बताएको छ । त्यो रिपोर्टअनुसार गाउँमा ३६ जना क्यान्सरबाट ग्रसित भई मृत्यु भएको र त्यहाँका बासिन्दाहरू धेरै किसिमका छालाका रोगहरूबाट ग्रसित देखिएका छन् । यी सबै बेथितिको कारक त्यही युरेनियम होइन भन्न सकिन्न । त्रिभुवन विश्वविद्यालयका शोधकर्ता देवेन्द्र उपाध्यायको नेतृत्वमा बैतडीको गराङ गाउँमा हामीले विकिरणको मापन गरेउ । त्यहाँ पनि हामीलाई केही क्यान्सरले ग्रसित र अबनर्मल बच्चाहरू देखिन पुगे ।
धेरै बढी विकिरण भएको ठाउँबाट लिएको निर्माण सामग्रीबाट बनेका घरभित्र बस्दा पनि टाउको दुखाई, चिडचिडा पन हुन हुनसक्छ र घरभित्रै बस्दा नि क्यान्सर जन्य रोगको सिकार बन्न सकिन्छ । तसर्थ अहिलेको सन्दर्भमा युरेनियम उत्खनन् र निर्यातमा बढी चासो न राखी युरेनियम भएको ठाउँ वरपरको वातावरण र बस्तीमा बसोबास गर्ने मानिसको स्वास्थ्यमा कुनै प्रतिकूल असर परे न परेको (Health Hazard Indices), कृषि उत्पादन र पानीमा विकिरणको मात्रा कतिको छ ? बढी रेडियोधर्मी विकिरण भएको निर्माण सामग्री जस्तै माटो, इटा, बालुवा, ढुंङ्गाले बनेको घरमा बसोबास त भइरहेको छैन ? जस्ता कुराको अध्ययन गर्न गराउन सम्बन्धित निकाय र शोधकर्ताहरूको ध्यानाकर्षण हुन जरूरी छ ।
फेसबुक प्रतिक्रियाहरु