आइतवार, पुस ७, २०८१
  • होमपेज
  • प्रचण्ड-मोदी भेटको सन्देश
Breaking News

प्रचण्ड-मोदी भेटको सन्देश

काठमाडौँ । नेपालका प्रधानमन्त्रीहरूको एक परम्परा छ । संसदमा बहुमत लिने, राष्ट्रपतिबाट शपथ लिने र भारत भ्रमण गर्ने ! यसै परम्परा धान्दै प्रधानमन्त्रीले गर्दै गरेको भारत भ्रमणको स्वतन्त्र समीक्षामा यो लेख केन्द्रित रहने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा प्रधानमन्त्रीले भने जस्तो यो भ्रमण ‘नयाँ रेकर्ड’  बनाउने  सपना भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनय मोहन क्वात्रासँग भएको भेटमा केही ठोस सहमति नहुने अवस्था सिर्जना भएपछि बुधवार भ्रमण सद्भावना भ्रमणमा मात्रै सीमित हुने अड्कल बाजी हुन थालेका थिए । तर, बिहीबार राजनीतिलाई अलग राखी भारतमा नेपाली विद्युत्को बजार सुनिश्चित गर्ने दीर्घकालीन सम्झौता नगरे तल्लो अरुण, फुकोट कर्णालीजस्ता परियोजनामा भारतसँग सहकार्य नगर्ने अडान राखेर नेपाल भारतबीच ७ सम्झौता गरेर आउनुको केही श्रेय त दिनैपर्छ प्रधानमन्त्रीलाई ।

पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणलगायतका समझदारीमा हस्ताक्षर हुनुले आर्थिक सहकार्यको ढोका खोल्ने छ । कृषिमा सहकार्य, देशमै मल उत्पादन गर्न प्लान्ट बनाउन सहयोगदेखि गौतम बुद्धमा इन्स्ट्रुमेंटल ल्यांडिंगको बाटो खुल्नु पनि सकारात्मक नै हो । प्रतिकुल अवस्था माझ पनि प्रधानमन्त्रीले कूटनैतिक सम्बन्ध नबिगारेर, कुनै घाटाको सम्झौता नगरी बिग्रिन लागेको माहौल सम्हाल्दै नेपाल भारतबीच पेट्रोलियम पाइप लाइन, रेल, सडक, पानी जहाज र विद्युत् पारवहनमा सम्झौता स्वागत योग्य छन् । अब यी सम्झौताहरूको सफल कार्यान्वयनतर्फ ध्यान जानुपर्छ । पञ्चेश्वर तीन महिनामा के हुन्छ हेरौँ ।

नेपालमा महेन्द्रनगर र बुटवल हुँदै जहाज भित्रिने सम्झौता हुन नसक्नु र सीमा विवाद संवादबाट सुल्झाउने भनेर मोदिले भने पनि ईपीजीको प्रतिवेदनमा काम गर्न आन्तरिक तैयारी र कूटनीतिक बल पुगेन यो पाली ।

अर्थ र परराष्ट्र कर्मचारी र कूटनैतिक नियोगका कर्मचारीको उपस्थिति सदाझैँ थियो । प्रधानमन्त्रीसँग परिवारका सदस्य (श्रीमती, छोरी) जाने चलन सधैँको हो । राजासँग पनि रानी जान्थे । मेरा बुवा पण्डित र शिक्षक हुनुहुन्थ्यो । बुवासँगै म पनि स्कुल र पूजामा जाने गर्थेँ । मेरा बुवा प्रधानमन्त्री भएका भए विदेश भ्रमणमा म पनि जाने थिएँ । यसमा राजनीतिभन्दा पनि मानवीय र पारिवारिक दृष्टिकोणले हेर्नुपर्छ । तर गत वर्ष जस्तो देउवा पत्नीले जस्तो भाजपाको कार्यालय पुगेर केही नेतालाई राखी बाँधिनन् स्वकीय सचिवको भूमिकामा गएकी प्रचण्ड पुत्रीले । अब छोरीलाई सचिवको भूमिकामा किन राखियो भन्ने छुट्टै बहसको विषय बन्न सक्छ ।

खोक्रो राष्ट्रवादी नाराहरूसँगै सञ्जालमा धेरै भ्रम फैल्याइयो । विमानस्थलमा को स्वागत गर्न आयोदेखि सोफामा को कसरी बस्योजस्ता सतही विषयले सञ्जालमा चर्चा पाउँदै गर्दा प्रतिकुल अवस्था माझ पनि प्रधानमन्त्रीले कूटनैतिक सम्बन्ध नबिगारेर नेपाल भारतबीच केही आर्थिक विकासका सम्झौता गरेर आउनुलाई समेत पूर्वाग्रही आलोचना गर्नुमा केही तुक छैन ।

पहिलेका प्रधानमन्त्रीहरू देउवा या ओली जाँदा पनि यो भ्रमण र सम्झौताहरूभन्दा विशेष अरू उल्लेख्य  केही भएन । ओलीको प्रतिपक्षमा हुँदा लाग्ने चर्को चुच्चे नक्साको नारा सत्तामा हुँदा तब बन्द हुन्छ जब रातारात रअका एजेन्ट गोप्य भेट गरेर जान्छन् । राजावादीहरूले पनि खोक्रो राष्ट्रियता र उहिले राजाको सम्मान थियो भनेर भ्रम छर्नु पहिले इतिहास स्मरण गर्नु । त्रिभुवनलाई राजा भारतले बनाएको हो राणाहरू हटाएर । कालापानीमा भारतीय सेना महेन्द्रको पालामा राखिएको हो । ज्ञानेन्द्र र उनका समर्थकले पहिले परिचालित भएर (आर्थिक या पद पाउने प्रलोभनमा परेर) नेपालमा साम्प्रदायिक दङ्गा फैल्याउने उग्र धार्मिक समूहहरूसँग संलग्नता त्याग्नु अनि स्वाभिमानका नारा लगाउनु ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार