शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • इन्टु मिन्टू सडकमा, बा’हरू सदनमा !
Breaking News

इन्टु मिन्टू सडकमा, बा’हरू सदनमा !

काठमाडौँ । नेपालमा व्याप्त भ्रष्टाचार र तस्करीको बारेमा केही भन्नै परेन ! तर हरेक नेताले भ्रष्टाचार विरोधी चर्का नारा लगाए पनि, सबै ठूला काण्डहरू माथि कारबाही हरेक गठबन्धनका ‘साझा न्यूनतम कार्यक्रममा’ समेटे पनि व्यवहारमा न्यूनतम कारबाहीसमेत नहुनुले साझा संलग्नता पुष्टि हुन्छ। अनुसन्धान भए पनि कर्मकाण्डी हुने गरेका छन्- केटाडीका खेल जस्ता !

१. आदे पादे नुन चाँदे

केटाकेटी खेल्दै गर्दा पादको गन्ध आयो तर कसैले मैले पादेको हो भनेर स्वीकार नगरे हरेक शब्दमा एक जना कहाँ औँला देखाएर ‘आदे पादे नुन चाँदे, तामा गाग्री ठास, ठूस’ भनेर गन्ने गर्छन्। जसकोमा गएर ‘ठूस’ रोकियो उसैले ‘ठूस्कायो’ भनेर निर्णय सुनाइन्छ । यो खेलको रमाइलो पाटो के हो भने ‘आदे पादे’ अनुसन्धानपछि ‘ठास, ठूस’ मा गनिन्न पुगेकाले प्राय यो निर्णय अस्वीकार गर्छन् र आफैँ ‘नुन चाँदे’ अनुसन्धान फेरि सुरू गर्छन् ! यो क्रम केही बेर चल्छ तबसम्म पादको गन्ध आउन बन्द हुन्छ र बच्चाहरू यो काण्ड बिर्सिन्छन् र ‘चोर पुलिस’ खेल्न जान्छन् !

ठिक यसरी नै नेपालमा कुनै भ्रष्टाचारको काण्डको दुर्गन्ध फैलियो भने नेताहरू, प्रशासन र भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्ने निकायहरू ‘आदे पादे’ अनुसन्धान सुरू गर्छन्। जसकोमा गएर ‘आरोप’ रोकियो उसैले ‘कुम्ल्यायो’ भनेर मिडियाबाजी गरिन्छ। फेरि आरोपीका सुप्रिम नेताले आफैँ ‘सुन चाँदी’ अनुसन्धान फेरि सुरू गर्छन् ! यो क्रम केही बेर चल्छ तबसम्म काण्डको हल्ला बजारमा बन्द हुन्छ । लगत्तै नेता र जनताहरू) यो काण्ड बिर्सिन्छन्, ‘ठास, ठूस’ मा गनिन्न पुगेका फुस् हुन्छन् र अर्को ‘ लुकामारी र चोर पुलिस’ खेल सुरू हुन्छ !

२. लुका मारी र चोर पुलिस…

लुकामारीमा सुरूमा केही नगरी दशसम्म गन्दै बसिन्छ र चोरलाई लुक्न दिइन्छ । अनि ‘भए पनि नभए पनि आएँ’ भनेर खोज्न जाँदासम्म एउटा ‘चोरले’ पिठ्यूँ पछाडिबाट ढ्याप्प दिन्छ अनि बिचरा ‘पुलिसले’ फेरि सुरूदेखि खोजी गर्नुपर्छ । यो त भयो घर भित्रको लुकामारी । खुला मैदानमा खेलिने ‘चोर पुलिस’ मा पनि केही भाग्न नभ्याएका चोरलाई समातेर एक लाइनमा राख्दै अलि सिपालु चोर आएर समातिएका अरू चोरलाई हिरासतबाटै बचाएर भगाई लान्छ । यसरी यो संगठित अपराध निरन्तर चलि रहन्छ।

यसरी नै नेपालको ‘चोर पुलिस’ खेलमा लुकामारी चल्छ । सुरूमा केही संसदीय समिति नबनाई संसद् अवरुद्ध गरी चोरलाई लुक्न दिइन्छ अनि खोज्न जाँदासम्म एउटा ठूलो ‘चोरले’ उच्च नेतृत्वसँग मिलेर पिठ्यूँ पछाडिबाट ढ्याप्प दिन्छ र पुलिसले फेरि सुरूदेखि खोजी गर्नुपर्छ । मैदानमा ‘चोर पुलिस’ मा पनि केही भाग्न नभ्याएका चोरलाई समातेर हिरासतमा राख्दै गर्दा सिपालु चोर आएर समातिएका अरू चोरलाई हिरासतमै ‘डिल सेटल’ गर्छ। यसरी संगठित अपराध निरन्तर चलिरहन्छ।

यिनै केटाकेटीका खेलजस्ता फितला अनुसन्धानले गर्दा भ्रष्टाचारीको खोज पनि ‘कुखुरी काँ’ जस्तै निष्कर्ष हीन हुने गरेको छ।

कुखुरी काँ
कमिसन खा
खै कमिसन ?
बिचौलियाले खायो
खै बिचौलिया ?
कर्मचारी खोज्न गयो
खै कर्मचारी ?
पुलिस चौकी गयो
खै पुलिस ?
अदालतमा गयो
खै न्यायाधीश ?
मन्त्री भेट्न गयो ?
खै अक्तियार ?
दुलाभित्र पस्यो
खै दुलो ?
भागबन्डाले कुल्च्यो
खै सुशासन ?
खोलाले बगायो
खै खोलो ?
नेताले बेच्यो !

अब समाधान के त ? एउटा साथी जंगलमा र इन्टु मिन्टू लण्डनमा !

३. एउटा साथी जंगलमा

एउटा दलाल हिरासतमा रोई रोई बसेछ । उसको साथी कोही पनि छैन, उठ् साथी उठ् । आफ्ना पुराना साथीलाई चिन ! अब समातिएर हिरासतमा भएका हरेक बिचौलियालाई उठ्न लगाएर संगठित अपराधको खेलमा सँगै लागेका आफ्ना सबै साथी चिन्न लगाउनुपर्छ। पहिचान भएकालाई हिरासतमा हाल्दै जानुपर्छ अनिजम्छ इन्टु मिन्टू लण्डनमाको खेल !

४. इन्टु मिन्टू लण्डनमा !

इन्टु मिन्टू लण्डनमा
हाम्रा बाहरू सदनमा
अक्तियार र पुलिस दाइ
भ्रष्टको घण्टी बजाई देऊ
टिनिनिनिनिनिनी झ्याप्पै !

अब केही दलाल, बिचौलिया र तिनको संरक्षणमा लागेका भ्रष्ट नेताहरूलाई टिनिनिनिनिनिनी झ्याप्पै नगर्दासम्म यो भ्रष्टाचार विरुद्धको कर्मकाण्डी केटाडीका खेल चलिरहन्छ !

अघिल्लो समाचार

I envelop myself
I envelop myself

अर्को समाचार

Khaptad : Now the center of spiritual tourism
Khaptad : Now the center of spiritual tourism

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार