शनिबार, जेष्ठ ५, २०८१
Breaking News

जादुगर तिमी

कैयौं जादुमय प्रहार
एक निरिह, निराश्रीतमाथि
बज्र समान बर्सिन्छन् तिम्रा ।
जङ्गलको सम्राट सिंहले
मृगको एक नवजात बच्चालाई
जसरी पञ्जाले खेलाई खेलाई आफ्नो सिकार बनाउँछ,
अपहरित अवलालाई लुटेराले जसरी जिस्काई जिस्काई अस्मिता लुट्छ
तिमी पनि त्यहि ड्याङको मूला
साँचो मनले एक बार, वसस् एक बार
जसले तिमीसम्म क्रन्दनको विगुल भरी
आत्मियताको आमन्त्रण दिन्छ
तिमी मुसोको खोजी गर्दै चियाउने बिरालो जस्तै
बल्छी फिजाउने माझी जस्तै
अनेक यत्न, प्रयत्नका साथ–साथ रहन्छौ
ती मानिएका सात जुनी हैनन्
जुनी–जुनी, कल्प कल्पान्तरसम्म
तिम्रो जादुमय खेलरूपी चलचित्रको
मध्याह्नमा छु म पनि
दर्शकको कौतुहल, सज्जनको सहानुभूति र दुर्जनको बदलाको दृश्यावलोकन गर्न सकिनेछ
चलचित्रको पछिल्लो भागमा
तिम्रो जादुगरीले
त्रिकालभरि तीन वटा रूप फेर्दछ
सुन्दर मन त देख्नै नहुने
जसरी सुन्दर तनको पछाडि
लैला मजनु बन्छन् कलियुगेहरू
र विश्वस्त हुन्छन् पट्मुर्खहरू
तिमी पनि त्यही खेतको मूला
येनकेन प्रकारेण मन कृष्ण निवेशयतः
यही धन्धा हुन्छ तिम्रो
नवयुवकजस्तो तिमी
र नवयौवनाजस्ता तिम्रा चाहनेवाला
आवेश, उन्माद वशिभूत, अदूरदर्शी, अदूरगामी
जब तिम्रो नामको सिन्दुररूपी संकल्पको
रेखी पुरिन्छ हाम्रो हृदयभरि
तब तिमी पनि रंग फेर्छौँ छेपारोलेझैं
र भैदिन्छौ घुमाउँरो या तटस्थ
कहाँ सजिलो छ र असली प्रेमपथको यात्रा
सैद्धान्तिक वहस गरे जस्तो,
लिपुलेक र लिम्पियाधुरासहितको
नेपालको नक्सा कोरेजस्तो
लगाम बिनाको घोडाजस्तो चञ्चल मनको बिरुद्ध
भक्ति थापा र अमरसिंहको जस्तो विरता देखाउँदै
गर्न हुने र नहुने कर्म बीचको सिमांकन गर्दै
हृदयका घाउहरू सिलाउँदै काँडेतार लगाउनै पर्छ
अल्पज्ञानको अहम्ता मेटाउँदै
‘न धनं, न जनम, न सुन्दरिम् वा कवितांम’को चरणसम्म
मसानघाटको यात्री लासजस्तै खाली हात
र नवजात शिशुजस्तै अबोध र छलरहित बिन्दुसम्म पुग्न
कैयौँपटक परिस्कृत हुनुपर्छ तिमीबाट
कैयौँपटक लुटिनुपर्छ तिमीबाट
तिमीबाट लुटिएका फकिरहरू
फकिरिको सम्पन्नतामा पुलँकित भएर
पागल पदवीको ताज लगाएर
मदमस्त मात्तिन्छन मनको अलकापुरिमा
‘मनस् एवं मनुष्याणांम कारणंम् बन्धमोक्ष्ययो’
वास्तविक खुसीका हकदार
वास्तविक स्वतन्त्रताका सम्राट
तिमीबाट लुटिएका सम्पन्नहरू
परको लुटेरा तिमी
मन, बुद्धी, आत्माभन्दा परको
‘मनसस्तु परा बुद्धिर्याे बुद्धेः आत्मा महान् पर’
कसैको पहुँचबाट टाढा
तर्क, कुतर्क र अतितर्कबाट अति टाढा
केवल विश्वासको धरातलमा आसिन
लुटेरा तिमी
जादुगर तिमी ।

 

बाबरी बृजनागरी
(सत्यकुमारी जोशी)
सहायक प्रमुख जिल्ला अधिकारी
चैनपुर, बझाङ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार