कमला कुमारी खाती बिष्ट
महिला अध्यक्ष, पतञ्जली योग समिति, बझाङ
सामान्यतया योग भनेको के हो ?
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला योग हो । आत्माको परमात्मासँगको जोड नै योग मानिन्छ । योग एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । यसले मानिसलाई निरोगी स्वस्थ, फुर्तिलो, जाँगरिलो र अनुशासित बनाउँछ ।
योग किन गर्नुपर्छ ?
नियमित योग ग¥यौँ भने हातखुट्टाका जोर्नीको दुःखाइ कम हुन्छ । निन्द्रा धेरै लाग्दैन, खाना पाचन हुन्छ । दिमागको वृद्धि विकास हुन्छ । मान्छेलाई तनाव हुँदैन । समग्रमा भन्दा मान्छे खुसी, स्वस्थ र सभ्य बनाउन योगले मद्दत गर्छ । अझ बालबालिकालाई सानैदेखि योग सिकायौँ भने उनीहरू गलत बाटोमा कहिल्यै लाग्दैनन् । बालबालिकालाई सही दिसामा लैजान ठूलो सहयोग गर्दछ योगले ।
तपाँईले कहिलेबाट योग साधक हुनुभयो ?
म २०६९ साल कार्तिकदेखि योगमा लागेकी हुँ । महायज्ञ लागेको थियो, त्यो बेला शरीर एकदमै जीर्ण थियो बिरामी भएर । उपचार गराउँदा कुनै ठाउँमा पनि निको भएन त्यसपछि योग भनेको के रहेछ भनेर थाहा पाउँदा देवीथान मन्दिरमा महायज्ञ लागेको थियो । मन्दिरमा महिलाले त कहाँ गर्न सक्छन त्यसैमा यति मोटो ज्यान । ८० केजी नै थियो तौल । आफैँलाई एकदमै भद्दा लागिरहेको थियो । आफूलाई उठ्न, बस्न, हिड्न गाह्रो हुन्थ्यो । फेरि ओम अस्पतालमा उपचार पनि गराएँ । त्यो निको भएन । योगको बारेमा सुनेपछि मैले रामदेवका किताबहरू पढे र योगमा मेरो मन जाग्यो । २०६१ सालमा मोहन मल्लसहितका सरहरू योग गरिरहनुभएको रहेछ । पछि उहाँहरूसँग सम्पर्क गर्दा योगमा लागियो । त्यस बेलामा योग गर्नलाई भवन थिएन । पछि विभिन्न दाताको सहयोगमा भवनसमेत निर्माण भयो र अहिले हरेक दिन बिहान ४ः३० देखि ६ः१५ सम्म कक्षा सञ्चालन हुन्छ । योग सुरू गरेदेखि साधकहरू सबै स्वस्थ छन् । उचाई, उमेरअनुसार सबैको तौलसमेत मिलेको छ ।
जिल्लामा योग सुरू गर्दा कति जना हुनुहुन्थ्यो ? अनि योग गर्न जाँदा गाउँ परिवारले साथ दिए त ?
सुरूमा त हामीलाई साह्रै गाह्रो भयो । योग गर्दा म एक्लै महिला मात्रै थिए । महिलाले पनि के सक्ला र ? यत्तिकै हाहा, हुहु गर्दैमा के रोग निको होला ? स्वस्थ कसरी होला ? भन्दै कुरा काट्नेको कमी थिएन । कुरा काटीरहे, म योगमार्फत् निरोगी हुँदै गएँ, म मात्रै होइन, नियमित गर्ने योग साधकहरूको अनुहारै फेरियो । हामीले धेरै दुःख गरेर आज योगको आफ्नो घर पाएका छौँ । आफ्नो स्वस्थ स्वास्थ्य पाएका छौँ । साथै हामी मात्रै हैन अरूको स्वास्थ्य, त्यो भवनभित्र छिर्ने मान्छेको हरेक आचरण पनि सुधार हुँदै आएको छ ।
जिल्लामा नियमित योग साधक, योग सिकारू कति छन् ?
अहिले जिल्लामा तीन संकाय छुट्याएको छ । जिल्ला प्रचाारी, महिला प्रचारी र युवा प्रचाारी । तीन जना हामी सिकाउने साधक छौँ । त्यसमा पनि एक जना प्रदेश प्रचारी हुनुहुन्छ भने एक जना सूचना प्रचारी हुनुहुन्छ । हामीले नयाँ साधकलाई हरेक दिन सिकाउँछौँ । कहिले १० जना, कहिले २० जना त कहिले ५ जना यस्तै छन् । कोही नभए भने हामीले एक्लै पनि गरेका छौँ ।
सुरूका दिन र आजका दिनमा के भिन्नता पाउनु भएको छ ?
सुरूका दिनभन्दा आजभोलि योग गर्ने मान्छे बढी छन् । मान्छेहरूको सोच उतिबेला हामीप्रति नकारात्मक थियो भने आजभोलि सबैले बुझ्दै गएकाले सबै राम्रो नजरले हेर्छन् योग भनेको स्वस्थ र अनुशासित राख्ने एक साधना हो भनेर सबैले बुझ्दैन । योगले मान्छेलाई फुर्तिलो बनाउँछ, निरोगी बनाउँछ, बोल्ने शैलीको विकास गर्छ । खानपानमा राम्रो गराउँछ । यो एक परिवर्तन गर्ने साधक नै रहेछ कतिपय आउँछन् कतिपयलाई भने खासै वास्ता हुँदैन । हाम्रो लक्ष्य भनेको सबैलाई स्वस्थ, तन्दुरूस्त रहुन् भन्ने नै हो ।
योगका फाइदा पनि बताइदिनुहोस् न ।
शारीरिक तन्दुरूस्त, मानसिक तन्दुरूस्त, खाने, उठ्ने, बस्ने शैली योगले परिवर्तन गर्छ । चाडै सुत्ने तर, बिहान पछिसम्म नउठ्ने बानी हुन्छ, त्यो बानी हटाउँछ योगले बिहान ३ बजेदेखि ७ बजेभित्र उठ् भन्छ । त्यसकारण फुर्तिलो बनाउँछ । यसको नियममा बस्न सकेन भने अष्टाङ्ग योग अर्थात्, ८ ओटा नियममा बस्न सकेन भने हामीलाई फाइदा हुदैन । बिहान ४ बजे उठेर ध्यान प्रणायाम गर्ने ग¥यौँ भने हामीलाई फाइदा नै फाइदा छ । जिल्लामा शाखाहरू छैन । एक जिल्ला पतञ्जली योग मात्रै छ ।
योग शिविर कति ठाउँमा गर्नुभयो अहिलेसम्म ?
हामीले योग शिविर त धेरै नै ठाउँमा ग¥यौँ । जिल्लामा बढीजसो पालिकाहरूमा, विद्यालयहरूमा, कर्मचारीहरूको लागि शिविर आयोजना गरेका छौँ । आयुर्वेदका कर्मचारीलाई पनि छुट्टै योग तालिम दिएका छौँ । आयुर्वेेदसँग सहकार्य गरेर पनि शिविर सञ्चालन गरेका छौँ । यस जयपृथ्वी नगरपालिकाका धेरैजसो विद्यालयमा धेरै पटक शिविर गरेका छौँ ।
जिल्लाभर योग साधक बढाउन के गर्नुपर्ला त ?
जिल्लाभर योग सञ्चालन गर्न फुर्सदिलो मान्छे हुनुप¥यो । २४ सै घण्टा योगमा लाग्ने समय भएको हुनुप¥यो । त्यस्तो भयो भने विद्यालयहरूमार्फत् जिल्लामा फैलाउन सकिन्छ । योगको प्रचार–प्रसार र प्रत्येक विद्यालयमा योग शिक्षक भयो भने यसका साधक बढाउन सकिन्छ । विद्यार्थीहरूलाई हरेक दिन १÷२ घण्टा योग गराउँदा आफ्नो स्वास्थ्य राम्रो हुनुका साथै योगको प्रचार पनि राम्रो हुन्थ्यो । विद्यार्थी भनेका भोलिका कर्णधार हुन् । उनीहरूलाई योग अभ्यास गरायो भने स्वस्थ, फुर्तिलो अनुशासित र गलत बाटोबाट टाढा रहन्छन् । यसका साथै भोलि उनीहरू सबैले योग अभ्यास केहो भनी बुझ्छन् । विद्यार्थीले योग सिकेपछि आफ्ना अभिभावकलाई सम्झाउँछन् र भोलिका आफ्ना सन्ततिलाई पनि सिकाउनेछन् । यसरी योग शिक्षा देशैभर फैलाउन सकिन्छ ।
योगका लागि स्थानीय तह, संघ संस्था, सरकारी निकायबाट कस्तो सहयोग पाउनुहुन्छ ?
हामीले स्थानीय तहबाट राम्रो सहयोग पाएका छौँ । घर बनाउन सहयोग ग¥यो । संघ संस्थाले कुनै समान किनिदिने शिविरमा भोज÷भतेरमा सहयोग गर्ने गरेका छन् । विशेषगरी हामीलाई आयुर्बेदले नै सहयोग गरेको छ । हाम्रो आर्थिक पाटो भनेकै आयुर्बेद नै हो । बाँकी हामी समितिका मान्छेले नै चलाएका छौँ । क्षमताअनुसारको रकम जम्मा गरेर हामी समितिका साथी भाइहरूले नै चलाएका छौँ, आर्थिक अभाव भने छ । समितिको मान्छेले नै पैसा उठाएर काम चलाउनुपर्छ संघ संस्थाले पनि कहिलेकाँही सहयोग गरेका छन् । अहिले हामीले निःशुल्क सेवा गरिरहेका छौँ ।
फेसबुक प्रतिक्रियाहरु