शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेर आज आइतवार नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो
Breaking News

भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेर आज आइतवार नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेर आज आइतवार नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रूपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर टोली आज स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टोलीको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन् ।

कप्तान तुम्बाप्पोले आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिए पनि उनीहरूविरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताइन् । उनले प्रिति राई बिरामी हुनाले अपेक्षाअनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन् ।
यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भए पनि राम्रो भएको र त्यही अभ्यासबाट घरेलु टोलीविरुद्ध सुखद नतिजा निकाल्न सफल भएको बताइन् । दुवै खेलमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको उनको भनाइ छ । पहिलो खेलमा पछि परेको अवस्थामा सम्हालिएको प्रदर्शन गर्न सकेको उनले बताइन् । बिरामी भएका कारण अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजीमा आफ्नो टोली भए पनि राम्रो खेलेको बताइन् । अर्की खेलाडी अमिषा कार्कीले मैत्रीपूर्ण खेल आफ्ना लागि राम्रो अनुभव बटुल्ने अवसर रहेको बताइन् । उनले आफ्नो स्वाभाविक खेल खेल्न नसकेको भन्दै आउँदा दिनमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औँ स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमजोरी केलाउने मौका मिलेको बताए । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

भारत भ्रमणको क्रममा नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । खेलअन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले दुई गोल गर्न सफल भएकी थिइन् । यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान तुम्बाप्पोको खेल उत्कृष्ट रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार