बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • दिव्योपदेश अनि राष्ट्रिय एकता दिवसको लोकतान्त्रिक भाष्य !
Breaking News

दिव्योपदेश अनि राष्ट्रिय एकता दिवसको लोकतान्त्रिक भाष्य !

हरेक राष्ट्रको निर्माणमा – स्थापना या स्वतन्त्रता सङ्ग्राममा – योगदान दिएका अभियन्ता, सेनानी या जन-नेताको स्मरण गरिन्छ। गणतन्त्र नेपालमा पृथ्वीनारायणलाई फालिएको शाह वंशका राजा भन्दा पनि राष्ट्रिय एकताका प्रतीकका रूपमा हेरिनु पर्छ। फालिएका शाहवंशजीलाई एकताको प्रतीकको रूपमा हेर्दा राजसंस्था फर्काऊँ भन्ने प्रतिगमनकारी तत्त्वहरू सक्रिय होलान् भन्ने डर लाग्छ भने अमर सिंह थापा या बलभद्र कुँवर जस्ता स्वाभिमानी वीर पुर्खाको नाममा एकता दिवस मनाउँदा पनि हुन्छ। यहाँ राष्ट्रिय एकता र स्वाभिमानको कुरा हो राजतन्त्रको हैन।

पृथ्वीनारायण शाहको एकीकरणलाई समर्थन गर्नु भनेको ज्ञानेन्द्र शाह या पारस शाहलाई राजा बन भन्नू होइन। तर आज गणतन्त्र नेपालमा केही पुरातन र पश्चगामी सोच भएका एकल जातीय केन्द्रात्मक शासन चाहने समूह चाहिँ पृथ्वीनारायणको विरासत लाई पेटेन्ट गर्ने प्रयास गर्दै छन् । कोही पुस २७ मा बिदा चाहियो भन्छन् र कोही राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऊँ भनेर माग गर्दै छन्। त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर राखियोस् र सरकारी कार्यालयमा उनको तस्बिर राख भन्ने माग पनि पौष २७ को आसपास विज्ञप्ति र नारामा चर्का हुने गर्छन्। लोकतन्त्रमा राष्ट्रिय एकताको प्रतीक विविधताका सयौँ थुङ्गा फूलहरू समेट्ने मालारूपी जन निर्वाचित संस्थाहरू हुनुपर्छ जसमा सबै नागरिकको अधिकार होस्। व्यक्ति या वंश केन्द्रित राष्ट्रियताको प्रतीक अधिनायकवाद तर्फ ढल्किन सक्छ। आज केही समूह धर्म र राजतन्त्रको नाउँमा राजनीति गर्ने प्रयास गर्दै छन् । याद रहोस् जबसम्म जनताको चेतना शून्य ‘लास’ बनिरहन्छन् । राजा आए जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन् । हामी अनेक वादका नाउँमा धेरै जलाइयौँ, गाडियौ, झुन्ड्याइयौँ, गोली ठोकियौँ । जागौँ अब बलिका बोका नबनौँ!

पृथ्वीनारायणको नेपाल एकीकरण र दिव्य उपदेशको उत्तराधिकारी, आफूलाई साँचो राष्ट्रवादी भएको दाबी गर्दै चर्को नारा लगाउने राजावादी पूर्व पत्रकार, अभियन्ता,पूर्व सेना, पुलिस या अधिवक्ताहरू बिच म नै “असली बाजेको पेडा” हु भनेर मिडिया वाजी गर्ने होड नै चलेको छ! पुस २७ मा पृथ्वी जयन्ती आउँदै गर्दा पृथ्वी नारायणका वास्तविक वैचारिक बिँडो थाम्ने हामी हौँ भन्ने दाबी गर्ने समूह च्याउ झैँ बढेका छन्। यही समूह र अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवस भनेर चर्का नारा लगाउन उद्धत हुन्छ। आश्चर्यको कुरा त के छ यी “राष्ट्रवादी” “गोर्खागामी” संसारमा सबै सफल, समृद्ध देशमा स्थापित धर्मनिरपेक्षता (पन्थ निरपेक्षता), समावेशिता, विकेन्द्रीकरण र सङ्घीयता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यता विरोधी पनि हुन्छन्। यो सबमा भाजपा र आरएसएसको शैली झल्किन्छ ।

लोकतन्त्रमा राज्यको जात, वर्ण, लिङ्ग, र धर्म हुँदैन

भारतमा ब्रिटिस र मुगलले आफ्नो शासन सँगै बहु सङ्ख्यक हिन्दुमाथि “आयातित” धर्म संस्कृति लादिएको भन्ने भाष्य निर्माण गरेर जनमानसमा रोपिएको असन्तोष भड्काएर भारतमा धार्मिक राष्ट्रवादको दक्षिणपन्थी राजनीति सफल भयो। तर यो राजनीतिले एक दशक देखी उग्र रूप लिँदा अल्प सङ्ख्यकमाथि अत्याचार, प्रेष स्वतन्त्रताको हनन जस्ता गतिविधिले गर्दा भारत एक असहिष्णु राष्ट्र बन्नुका साथै त्यहाँको लोकतन्त्रको पनि क्षयीकरण हुँदै गएको छ। सामान्यतया भारतमा आउने राजनैतिक परिवर्तनका बाछिट्टा नेपाल सम्मै पुग्ने भए पनि नेपालको विविधता, अनेकतामा एकता र धार्मिक सहिष्णुता निक्कै सबल हुनुका साथै प्रेष स्वतन्त्रताले गर्दा भारतको जस्तो धर्मको राजनीति नेपालमा बिक्दैन र राजतन्त्र आफ्नै असक्षमता र निरङ्कुशता लाद्ने गतिविधिले गर्दा क्षयीक्रित हुँदै अन्त्य भयो। केही पुरानो दरबारका नुन खाएकाहरू बाहेक आम जनतामा अब राजतन्त्रको भूत सवार छैन। दुई तिहाइ वामपन्थी र बाँकी उदार लोकतन्त्रमा विश्वास गर्ने नेपाली परम्परागत भ्रष्ट नेताको विकल्पमा स्वतन्त्र या वैकल्पिक नेतृत्व खोजे पनि पश्चगामी दक्षिणपन्थी राजनीति मौलाउन सम्भव छैन। ५ प्रतिशत उग्र-बाम र ५ प्रतिशत उग्र-दक्षिण पन्थी सधैँ रहे पनि ९० प्रतिशत नेपाली उदार मध्य पन्थी या लोकतान्त्रिक समाजवादमा विश्वास राख्छन्।

अरूभन्दा हाम्रो धर्म, जात, वर्ग, छालाको रङ्ग श्रेष्ठ हो भन्ने भावले समाजमा न एकता ल्याउँछ न समृद्धि! दक्षिण पन्थले समाज रूढिवाद र अतिवाद तिर धकेल्दिन्छ । एउटा साँचो आस्तिक जुनसुकै धर्मावलम्बी भए पनि कहिल्यै हिंसा या विध्वंसको बाटो चुन्दैन। अहिंसा परमो धर्म । तर धर्म, जाती र क्षेत्रीयता को नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ। धर्मको नाममा विभाजित भारत पाकिस्तान होस या धर्मको नाममा लडी रहने इजरायलप्यालेस्टाइन जस्ता क्षेत्रहरूमा शान्ति स्थापित गर्न मुस्किल छ र धर्म र साम्प्रदायिकता भड्काई केही समूहहरू सधैँ राजनीतिक फाइदा उठाई रहन्छन् ।

आज नेपालमा मात्रै नभई विश्वमा एकताका प्रजातन्त्र र उदारवादका पर्याय मानिने अमेरिका, भारत, बेलायत, ब्राजिल लगायत देशहरूमा पनि रङ्गभेदी, नस्लवादी, उग्र–राष्ट्रवादी, र निषेधात्मक सोच हाबी भएका दक्षिणपन्थी नेताहरू उदाएका छन्। आफ्ना अनुयायी जस्तै अन्धभक्तबाहेक सबैलाई देशद्रोही वा समाज विरोधी देख्नु उनीहरूका लागि नौलो कुरा होइन। यी सबै गोयबल्सका अनुयायी हुन् । एउटा झुटलाई सयौँपल्ट दोहोर्‍याएर तथ्य जस्तै देखाइदिने! प्रथम र दोस्रो विश्वयुद्धको सँघारमा यस्तै नेताहरूको उत्थान भएको थियो। आज फेरि संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, सार्कजस्ता अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरू फेरि निरीह छन्। यो विश्वबन्धुत्वको भावना र समानता सामाजिक न्याय खोज्नेहरूका लागि खतराको घण्टी हो ।

२०२१ जनवरी ६ मा अमेरिका र २०२३ जनवरी ८ मा ब्राजिलमा भए जस्ता लोकतान्त्रिक संस्थाहरू माथि प्रहार नेपालमा भए महेन्द्र शाह र ज्ञानेन्द्र शाहले गरे जस्तो कू तेहरिन सक्छ र देशमा श्रीलङ्का/ अफगानिस्तान जस्तो अराजकता मच्चिन सक्छ किनकि हाम्रा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, प्रहरी र सेना अझै पूर्ण लोकतान्त्रिक छैनन्। बारम्बार सत्तामा भएका शासकहरूले यी निकायमा गर्ने अलोकतान्त्रिक हस्तक्षेपले हाम्रा लोकतान्त्रिक संस्थाहरू स्वतन्त्र र स्वायत्त हुन दिएको छैन। हाम्रो जस्तो बहुल भाषी, विविध समाजमा लोकतन्त्र बलियो हुन हामीलाई उदार मध्य पन्थ या लोकतान्त्रिक समाजवादको आवश्यकता छ। उग्र दक्षिणपन्थी र उग्र वामपन्थ असफल हुँदा नेपालीहरूले एकै पुस्ताले दुई-दुई चोटि प्रजातन्त्र/लोकतन्त्रको लागी बलिदान दिनु पर्‍यो। अब दायाँ बायाँ भड्किने हैन अघि बढ्ने लोकतान्त्रिक व्यवस्थाको सबलीकरणको आवश्यकता छ नेपालमा आज।

मानौँ या नमानौँ हामी सबैभित्र आफ्नै जाति, धर्म, वर्ण, वर्ग र छालाको रङ्गप्रति विभेदको बीउ मनको कुनामा बसेको हुन्छ। त्यो बीउ उपयुक्त वातावरण पाए अङ्कुरित हुन्छ । अलि दक्षिणपन्थी हावा लागेमा अराजकताको वृष्टि हुन्छ । रूढिवादी सङ्कीर्ण सोचको मलजल मिले यो आधुनिकताको खोस्टोभित्र निष्क्रिय रहेको विभेदको बीउ अङ्कुरित हुन्छ । साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौम सत्ता हो! देश प्रेम र दक्षिणपन्थी, पश्चगमन, जाती र धर्मको कुरूप राजनीतिमा आकाश-पातालको अन्तर छ! भेदभावको उम्रिँदो टुसालाई स्थानीय प्रशासन या बहु-सङ्ख्यकको शासनबाट घेरबार र संरक्षण मिल्यो भने यो दुर्गन्धित काँडे वन माराको झारझैँ चार जात छत्तीस वर्णको साझा फूलबारीमा झाँगिँदै जान्छ ।

नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो !

दिव्य उपदेशमा भएका ‘नेपाल चार जात, छत्तीस वर्णको साझा फूल बारी हो”, “प्रजा मोटा भया राष्ट्र बलियो हुन्या छ” र जनता जो देखी खुसी उसैलाई कजाइँ दिनु ” जस्ता लोकतन्त्र, समावेशिताका सन्देशलाई आजको युग सुहाउँदो विवेचना गरी राष्ट्रको माया र गौरव र शाह वंशी राजतन्त्रले पछिल्लो समयमा पक्ष पोषण गरेको संरचनात्मक (जातीय, वर्गीय र आर्थिक) विभेदको भिन्नता प्रस्ट बुझ्न जरुरी छ। पुनरुत्थानवादी, पुरातन वादी, राजावादीहरूको मात्रै ठेक्का हैन राष्ट्रवाद र देशको माया। यो त सबैको साझा हो।

कुनै पनि धार्मिक सत्ता वा एकल राज्य प्रणालीको वैचारिक–दार्शनिक आधार हुँदैन । स्मरण रहोस् लोकतन्त्रमा भोलि तपाईँका छोरा-छोरी पनि राष्ट्र-प्रमुख बन्न सक्छन्! लोकतन्त्रको विकल्प कुनै जहानियाँ निरङ्कुश तन्त्र हैन अझैँ उन्नत लोकतन्त्र हो! २४० वर्षे राजतन्त्र र १०४ वर्षे राणा शासनले नेपालमा नातावाद, कृपावाद, विभेद, असमानता र वर्गको पक्षपोषण नै गरी रह्यो। इतिहास हेरौँ शक्तिशाली विष्णुको अवतार राजा, हिन्दु राष्ट्र र एकल पञ्चायती प्रणालीले नेपाललाई संसारकै गरिब, विकास पूर्वाधारविहीन र अशिक्षित राज्य बनाइ राख्यो  । जब जनतामा चेतना आउँदै गयो यी सङ्कीर्ण जहानियाँ शासनको अन्त्य भयो।

हजारौँ जनताको बलिदानले आएको उपलब्धिलाई आज गणतन्त्रमा एक-आध पात्रको भ्रष्टता र असक्षमतालाई हेरी व्यवस्था ठिक भएन भन्ने बेला आइ सकेको छैन। समस्या पात्रको हो प्रणालीको हैन! धर्मनिरपेक्षतालाई थप प्रस्ट्याउने कानुनहरू नबनाउने अनि कहिले ‘होली वाइन’ चाख्ने त कहिले ‘गंगाजल’! नेपालमा हिन्दु राष्ट्रको राजनीतिमा अग्रसर हुने उच्च नेतृत्वको जीवनशैलीमा हिन्दु संस्कार छैन। हिन्दु राष्ट्रको आडम्बर राजनीतिक कवचका रूपमा प्रयोग हुनु हुन्न। नेपालको वर्तमान संविधानमा समेटिएको धर्मनिरपेक्षता र सङ्घीय प्रणाली विरुद्ध आवाज उठ्नु र हिन्दु राजा हुँदा हिन्दु राष्ट्रबाट चोरिएका हिन्दु देवी देवताका मूर्ति अमेरिकामा फेला पर्नु गज्जबको संयोग हो ! पञ्चायत कालमा नेपालबाट जति मूर्तिहरू हराए, तिनलाई विदेश पुर्‍याउनेमा राजदरबारका सदस्यहरू नै संलग्न थिए तर तिनीहरू माथि कहिल्यै कानुन लागेन। त्यतिखेर सत्ताको संरक्षण नपाएका आम साधारणले न मूर्ति चोर्ने हिम्मत गर्थे न विदेश पठाउन नै सक्थे। शाह वंशी अन्तिम राजाहरूको शासनमा हिन्दु देवी देवताका मूर्ति बन्नुभन्दा पनि बढी बेचिए! धर्मको रक्षक राजतन्त्र ल्याउने भए मल्लकाल फर्काऔँ जसको शासनमा मन्दिर मूर्ति बने न कि बेचिए!

एक्काइसौँ शताब्दी धर्मको आडमा राजनीति गर्ने र जेठो/ माइलो छोराले शासन युग होइन 

नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइ रहन अहिले दिल्ली दरबारमा धर्म नीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास गरी रहेका छन् । धर्मनिरपेक्षताको तात्त्विक अर्थ राज्यले कुनै एक धर्मको रक्षा र प्रवर्द्धन नगरी सबै धर्मलाई समान संरक्षण गर्नु हो अनि एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउने पनि हो जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ।

अवसरवादी हरूको मतियार नबनौँ। आफूलाई पुनरुत्थान वादी र राजावादी ठान्नेहरूलाई स्मरण रहोस् लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो कसैले स्थापित गरी दिने पश्चगामी व्यवस्था हैन । यदि हामी केही अवसर वादी समूहको सत्ताको लागि राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता र धार्मिक सहिष्णुतामा आँच आउने कदमको समर्थन गर्छौ भनेँ त्यो वास्तविक आत्म सम्मान बेची परधर्म अँगाल्नु हुनेछ । राष्ट्रिय अखण्डता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपालीहरूको स्वधर्म हो। गीतामा भनिए झैँ यसको जगेर्ना गर्नु नै श्रेयस्कर छ।

स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह:अरूको कठपुतली भएर बाँच्नु भन्दा स्वतन्त्र मर्नु नै श्रेयस्कर हो !

हामीले देख्दै आएको पृथ्वीनारायणको एक औँला ठाडो गरेको तस्बिर वास्तविक हैन । त्यस्तै दिव्योपदेश पनि या त कसैको कृति हो या अधिकांश सम्पादित रचना। यो तस्बिर र दिव्योपदेश शाह वंशी अन्तिम राजाहरूले आफ्नो गद्दी टिकाई राख्न व्यापक प्रचार गरे पनि उनीहरूका आफ्नै गैर लोकतान्त्रिक कदमहरू र नारायणहिटी पर्व पछि जनताको मनबाट राजतन्त्र समाप्त भयो। वैचारिक अभिव्यक्ति र प्रेस स्वतन्त्रता प्राप्त भएपछि र लोकतान्त्रिक संस्कार बस्दै जाँदा एक परिवारको जेठो या माइलो छोरो राष्ट्र प्रमुख हुन सक्षम या इच्छुक नहुन पनि सक्छ भन्ने नेपाली जनताले बारम्बार देखे।

जहानियाँ शासन, अधिनायकवाद लाद्ने प्रयास, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद चलाएका आधारमा नेपालमा कुनै वंशप्रति घृणा गर्ने हो भने नेपालमा सबै शाह, राणा, थापा, चन्द, बिस्ट, कोइराला, ओली, देउवा र दाहाल जस्ता सबै जातिलाई देश निकाला गरे हुन्छ। साथै यी सबैलाई नेपाल सरकारको उच्च ओहोदामा नियुक्त हुनबाट प्रतिबन्ध नै लगाए पनि हुन्छ। हो! नेपाललाई शासकहरूले इतिहासदेखि वर्तमानसम्म विभिन्न काल खण्डमा प्रताडित गरिरहे । राज्य शक्तिको दुरुपयोग गर्दै पाइलैपिच्छे सरकारी ढुकुटीको दोहन प्रक्रिया चलिरह्यो । एक पटक सत्तामा पुग्ने परिवारका सदस्यहरू प्रायः अलिखित अर्बपतिको सूचीमा छन् । जहानियाँ राणा शासनको अन्त्य भइसकेपछि पनि पटक पटक सरकारमा जानेहरूका खलक उच्च ओहदाबाट झरेनन् । राणाका खलककै कुरा गर्ने हो भने पनि तिनकै सन्ततिहरू न्यायालय, सुरक्षा तथा ठुला व्यापारीको रूपमा स्थापित भएका छन् । त्यति मात्रै नभएर दलालीकरणमा पनि तिनकै हालीमुहाली छ ।

हिजो आफैँलाई ‘समाजवादी’ भनेर ‘सामन्ती’ हरु विरुद्ध वर्ग संघर्ष गर्नेहरू बचनै ठुलो विभेद छर्लङ्गै देखिएको छ। कम्युनिस्ट भन्नेहरू आफैँ आज दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डाहरूको संरक्षक बनेका छन्। हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भन्नेहरूले आज सामन्ती शैलीमै महँगा गाडीमा सवार भइरहेका छन्। तिनलाई बन्दुक भिराएर सत्तामा पुर्‍याउने युवाहरू कतिले ज्यानै गुमाए भने कति खाडीमा भासिएका छन् । आज खोक्रो राष्ट्रवादको नारा लगाई नेताहरू राज्यको दोहन गरी सपरिवार विदेश भ्रमण/उपचार गर्न जानेहरूलाई साँचो देशभक्ति र स्वाभिमान सिकाउनु जरुरी छ। आज बिदेसिनुलाई जीवनको सबै भन्दा ठुलो उपलब्धि झैँ गरी विदेश उड्नेलाई खादा, माला लगाई भोज, पार्टी गरी बिदाइ गर्ने फेशन चल्दै गर्दा नेपाली जनताले एउटा साँचो राष्ट्रिय एकताको प्रतीक खोजी रहेछ। आज नेपालमा हामीलाई चाहिएको राष्ट्रनायक हामी कहिले पत्रकारमा त कहिले कलाकारमा खोज्दै छौँ, कहिले सेवा निवृत्त प्रहरी, सेना, अधिवक्ता, विद्युत् कर्मचारीहरू त कहिले पूर्व पत्रकारहरूलाई पछ्याउँदै छौँ!

जब लोकतन्त्र संस्थागत भई जनता जनार्दनको स्वाभिमानको रक्षार्थ खसेका सचेत र जागरूक मतका सिंहको गर्जन आउँदो निर्वाचनको मत-पेटीका भित्र गर्जिने छ, यी जहानियाँ, दलाल पुँजीवादी राजनीति गर्नेहरू अल्पमतमा पर्ने छन्। अनि देशलाई सुशासन र संवृद्धि तर्फ डोर्‍याउने राष्ट्रिय एकता र संवृद्धिको संवाहक समावेशी लोकतन्त्र स्थापित भए एक हैन अनेक राजनेताको चुनाव जनता स्वयम् गर्ने छन्। त्यो दिन नआउँदा सम्म पृथ्वीनारायण र राष्ट्रिय एकता दिवसलाई नभुलौँ ! सबैलाई चेतना भया!

Twitter: @BishnuJoshi999

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार