आइतवार, भदौ ३०, २०८१
समाचार

विद्यालयकै दुःख

बैतडी । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भरखर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका विष्टलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाई हुने बेलामा साढे ३ बजे नै ‘आलाराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ ।
विष्टलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उनले ८ कक्षा पास गरे त्यसपछि उनको दौडाई सुरू भयो । वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक ६ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । ‘२४ घण्टामध्ये ६ घण्टा स्कुल र ६ घण्टा बाटोमै बिताउनुपर्छ,’ उनले भने, ‘रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।’
गोरङका प्रकाश मात्रै होइनन्, उनी जस्तै ३ दर्जन विद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसे स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो । छोटा दिन (हिउँदे याम) मा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भन्छिन्, ‘लामो दिनमा त उज्यालोमै घर पुगिन्छ । छोटा दिनमा भने राति पर्छ । सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ ।’ टाढाको बाटो हुँदा एक्लै हिड्न नसकिने उनी बताउँछिन् ।
उर्मिलाका अनुसार ८ कक्षा पास भएका विद्यार्थीहरू सबै स्कुल जाँदैनन् । ‘टाढा भएकै कारण केटाहरू इन्डिया (भारत) जाने त केटीहरू विहे गरेर जाने संख्या बढी छ । केही विद्यार्थीहरू पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षाकेन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन् ।’ उनले भनिन् ।
उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए । तर, अहिले ९ कक्षा पढ्न रिम जाने ९ जना मात्रै छन् । ‘त्यसमध्ये पनि २÷४ जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्,’ उनले भनिन्, ‘घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ । घरमा बढी मान्छे हुनेहरू त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ ।’
विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षाकेन्द्रमै पढ्न जान्छन् । धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन । गोरङका विद्यार्थीलाई अढाईदेखि ३ घण्टा समय हिड्नैपर्छ । भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन् ।
नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए । ‘गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ,’ उनले भने, ‘रिम, धामीगाउँ जता गए पनि ५÷६ घण्टा बाटोमै बिताउनुपर्छ । दिनभरि हिडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ । खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ ।’
त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन । वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहनेहरू विद्यालय अभावले नै विस्थापित भइरहेका थिए । ‘९ वर्षअघि रिम पढ्न जाँदा हामी ६ जना मात्रै थियौँ,’ पूर्वविद्यार्थी सुनिता विष्टले भनिन्, ‘१२ जना ८ कक्षामा उत्तीर्ण भएका थियौँ, तर, रिम पढ्न जाने ६ जना मात्रै भयौँ । स्कुल नजाने ४ जना केटाहरूले विहे गरेर भारततिर गए भने दुई जना केटी विहे गरेर पोइलीघर तिर ।’
सुनिताका अनुसार उनीसँगै विद्यालय जाने ६ जना पनि पछिल्लो वर्ष ३ जनामै झरे । ‘घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो ।’ उनी सम्झिन्छिन् । नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उनी बताउँछिन् । ‘गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन,’ उनी भन्छिन्, ‘विद्यालयकै कारणले यहाँका शिक्षित परिवारहरू विस्थापित भइसकेका छन् । अरू सर्वसाधारणको त के कुरा ।’ गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाई सकिएको सम्झिने गरेको उनी बताउँछिन् ।
यता दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताउँछन् । ‘बालबालिकालाई निकै टाढा छ,’ उनले भने, ‘यो सबै भौगोलिक बनावटले हो । गाउँगाउँमा विद्यालयहरू राखेर पनि साध्य हुँदैन । गाउँहरू निकै टाढा(टाढा छन् । त्यो ठाउँबाट विद्यार्थीहरूले हिँडेर आउनुपर्छ । ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वभाविक हो ।’
विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले छात्रावास छैन । त्यसका लागि हामीले पटक पटक छलफल पनि गरेका हौँ । के÷के नमिलेर त्यस्तै भयो ।’ उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन् । ‘तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौँ । नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाईसमेत सुरू हुन्छ ।’ उनले भने । त्यसपछि एसईई पास भएर मात्रै ‘प्लस ट’ पढ्न रिम आउनुपर्ने उनले बताए ।
अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ । गोरङकै विद्यार्थीले पढ्न जाने हो भने झण्डै ७ घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ । भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले बताए । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि कलेज पढ्न सजिलोका लागि छात्राबासको व्यवस्था गर्ने सोच बनाएको उनले बताए ।
सुनिताका अनुसार अहिले भएका विद्यालय तथा क्याम्पस पनि गुणस्तरीय छैनन् । ‘विद्यालयहरू नामका मात्रै भए । पढाईको अवस्था सामुदायिक विद्यालयमा निकै ओरालो छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार