मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • उद्घाटन र समापन नभएको शिविर
Breaking News

उद्घाटन र समापन नभएको शिविर

डा. कुम्भ जाेशी

बझाङ । सन् २००४ को प्रा. डा. प्रविन मिश्र, प्रा. डा. रोबर्ट वि र स्वास्थ्य मन्त्रालयलगायत विभिन्न व्यक्ति र संस्था मिलेर गरेको एउटा तथ्यांकले भन्छ, कि यदि नेपाल सरकारले नेपाली जनताको अहिले रहेको मुख र दाँतसम्बन्धि रोगहरूको उपचार पश्चिमा आधुनिक पद्दति प्रयोग गरेर गर्ने हो भने नेपाल सरकार कुल राष्ट्रिय बजेटको ४ गुणा बढी खर्च हुन्छ र यो तथ्यांकबाट नै थाहा हुन्छ कि नेपाली जनताको मुख स्वास्थ्यसम्बन्धि समस्या कति भयावह छ भनेर ।

राष्ट्रिय र प्रतिनिधि सभाको चुनाब सरगर्मीसँगै नेता र पार्टीहरूले भोट र नोट दुवैका लागि अपिल गर्ने कुरा स्वभाविक हो र सबैको जिल्ला दौडाहा जनशक्ति परिचालन र मतदाताहरूको ओसारपसार चलिरहेको थियो । जनतालाई विभिन्न आश्वासन बाडिरहेका नेताहरू गाउँमै थिए । गाउँहरूमा चुनावको भोजभतेर पनि उस्तै चलिरहेको थियो । सामाजिक सञ्जाल रंगिएको पनि उस्तै । सधैँ राजधानी केन्द्रित हुने नेताहरू सबै गाउँमै देखिन्थे । घरदैलोको नाममा भोट बैंक घेरिरहेका । सस्तो लोकप्रियता कमाउन ‘कृषकको बारीमा सहयोग’ गरिरहेका । यस्तै, यस्तै ।

त्यसै शिलशिलामा हाम्रो टोली पनि मुख स्वास्थ्यसम्बन्धि शिविर लिएर बझाङ आयो । चिकित्सक, स्वास्थ्य सहायकको टोली निर्वाचनअगावै जिल्लाको खप्तडछान्ना गाउँपालिका पुग्यो । गाउँपालिकामा निशुल्क २ दिने दन्त चिकित्सा शिविरको तयारीमा जुट्यौँ ।

निर्वाचनकै दोस्रो दिन मंसिर ५ र ६ गते खप्तडछान्ना गाउँपालिकाको पसल बगरस्थित स्वास्थ्य चौकीमा दन्त चिकित्सा शिविर सुरू गर्‍यौँ । मसहित जिल्ला अस्पताल बझाङका डेन्टल सर्जन डा. एकेन्द्र खड्का, दन्त चिकित्सा सहायक नन्दराज जोशी, स्वास्थ्य चौकीका सिनियर स्वास्थ्य असिस्टेन्ट अर्जुनजंग थापा, स्वास्थ्य परिचारिका अन्य कर्मचारी मिलेर हामीले २ दिने निःशुल्क दन्त चिकित्सा शिविर सम्पन्न गर्‍यौँ ।

शिविरमा बिरामीको अवस्था हेर्दा निकै दयनीय अवस्था देखियो । किशोरावस्था भरखरै पार गरेका युवा युवतीमा दाँत सडेका देखिए । हाम्रो टोलीले चेकजाँच गरेका साढे ३ सय दाँत बिरामीमध्ये ३० प्रतिशतको पूरै दाँत सडेका पनि भेटिए । ४० देखि ५० वर्ष उमेर समूहका अगाडिका ८÷९ दाँत नै सडेका देखिए ।

मुखको परीक्षण गर्दा भने भयाबह अवस्था भेटियो । २ दिनमा करिब साढे ३ सय बिमारीको मुख स्वास्थ्य परीक्षण गर्दा प्रायः सबै ९५ प्रतिशतभन्दा बढी बिमारीमा कुनै न कुनै खालको मुख स्वास्थ्य समस्या रहेको पाइयो । हर्षा, स्वास गन्हाउने समस्या, सडेका दाँत, घाउ खटिरा, गिजा मुख अनुहारको सुजन र संक्रमण, आंसिक र पूर्ण दाँतबिहिनताको अवस्था, दाँतको दुखाई, नमिलेका बांगाटिंगा दाँत आदि समस्याहरू देखा परे । ठ्याकै तथ्यांकीय भाषामा भन्न नसके पनि सालाखाला ७० प्रतिशतभन्दा माथि मान्छेहरूका ५ देखि ७ वटा चपाउने दाँतहरू सडेर नष्ट भएको पाइयो । कतिपय बिमारीहरूमा ४० वर्ष मुनिका मान्छेहरूमा मुखभित्र जम्मा ५÷७ वटा दाँतमात्र बाँकी रहेको पाइयो र समग्रमा खप्तडछान्ना गाउँपालिका मुख तथा दाँतसम्बन्धि समस्याले लगभग सबै उमेर समूह महिला पुरूष सबैलाई सताएको पाइयो ।

दाँतका जराहरू निकाल्ने साथै शिविरमा मुख स्वास्थ्यको परीक्षण, समस्याको निदान, मुख स्वास्थ्यसम्बन्धि जनचेतना शिक्षा र परामर्श, त्यता उपचार नहुने समस्याका लागि जिल्ला अस्पताल र उच्च स्वास्थ्य संस्थामा प्रेषण गर्ने काम भयो ।
शिविरको मूख्य उद्देश्य भनेको अघिल्लो पटक बझाङ चैनपुरमा नेपाल सरकार स्वास्थ्यसेवा बिभागको उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको जेष्ठ नागरिक लक्षित नक्कली दाँत लगाउने डेन्चर क्याम्पमा देखिएका केहि कमिकमजोरीहरू दोहोरिन नदिन र कुन बिमारीमा के समस्याहरू छन्, हामीले लक्षित गरेको उपचारको सेवा लिने बिमारी कति छन्, त्यसका लागि कति सामाग्री, जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्छ भनेर निक्र्यौल गर्ने र सोहिअनुसार तयारी गर्ने गरि गरिएको सर्वेक्षण शिविर हो । अघिल्लो पटक दाँत लगाउँदा मुखमा भएका निकाल्नुपर्ने दाँत र दाँतका जरा टुक्राटाक्री निकालेर तुरुन्तै डेन्चर लगाउँदा बिरामीलाई असहज भएको र उपचारको कम्प्लायन्स कम भएकाले यो पटक त्यसो हुन नदिन सुरूमै निकाल्नुपर्ने दाँत दाँतका जरा टुक्राटाक्री निकालेर कम्तिमा २/३ महिना गिजा सुक्न दिने र त्यसपछि नक्कली दाँत लगाई दिने हेतूले यो शिविर आयोजना गरिएको थियो ।

शिविरमा झण्डै २५० जति बिरामीका ५ सय बचाउन नसकिने दाँत र दाँतका जरा टुक्राटाक्री निकालियो । सबैबाट सहयोग र स्रोत जुट्यो भने फागुन अन्तिम साता सोही स्वास्थ्य चौकीमा डेन्चर क्याम्प आयोजना गर्ने तयारी छ ।

अब जाउँ शीर्षकमा,
नेपालमा उद्घाटन गर्ने, प्रमुख अतिथि बन्ने, मञ्चमा आसिन हुने काम सानै भए पनि बिघ्नै प्रचार प्रसार भएको हामी जानकार नै छौँ । आफूलाई अतिथि नबनाउँदा दुःख मनाउ गर्ने, झै–झगडा गर्नेजस्ता तमाम गतिबिधि नदेखिएका होइनन् । जवरजस्त देवत्वकरण गराउन पछि नपर्ने समाजमा यत्तिको सामान्य नै हो ।

यो शिविरमा भने त्यस्तो कुनै उद्घाटन, समापन, मन्तव्य, गन्तव्य, आसन ग्रहण, प्रमुख, विशेष, विशिष्ट अथिति घोषणा आदि केही पनि भएनन् । सायद संयोजनको अभावले हो कि ? चुनावी माहोलले हो ? जस कसले लिने नलिने भनेर हो वा भत्ताको व्यवस्था नभएर हो ? पालिकाबाट कसैको पनि सहभागिता भएन । आगामी दिनमा जनताको स्वास्थ्योपचारका लागि सहकार्य वा कुनै सहयोगको कमिटमेन्ट गर्छ कि भन्ने अपेक्षा साकार भएन ।

हामीलाई अपेक्षा थियो कि यसमा स्थानीय सरकारले पनि कुनै सहयोग गरोस् । हाम्रो चाहाना पनि पालिकाको संयोजनमा शिविर सञ्चालन हुँदा त्यसले राम्रो सन्देश जान्थ्यो, स्थानीय सरकारको समेत सहभागिता भए शिविरलाई लम्ब्याउन सकिन्थ्यो । सबै बिरामीको चेकजाँच गरिन्थ्यो । आफ्नो पालिकामा भएको, आफ्नै जनताको स्वास्थ्यसँग जोडिएको कुरा कसैले आफ्नो निजी लगानीमा सहयोग गर्दा उत्साहित हुनुपर्ने थियो । तर, यहाँ खासै चासो नदेखाउँदा आफूलाई खिन्नताबोध हुने रहेछ ।

बिरामी अन्य ठाउँका होइनन्, पालिकाभित्रैका हुन् । तर, हाम्रो निजी लगानीमा सञ्चालन भएको शिविरमा जानकारी दिँदा पनि स्थानीय सरकारको सहभागिता नहुनु भनेको जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील नभएको प्रष्टै देखियो । एउटा सामान्य ‘कार्यक्रम’ लेखिएको ठाउँमा हुलहुज्जतसहित वडासदस्यदेखि पालिका अध्यक्षसम्म दौडधुप गर्ने ठाउँमा हाम्रो निजी ६/७ लाखको स्वास्थ्य शिविरमा बेवास्ता गर्नु जनताप्रति चासो नदिएको हाम्रो ठम्म्याई हो । एउटा निजी क्षेत्रले जनताको निःशुल्क स्वास्थ्योपचारमा जुट्नु र स्थानीय सरकारले त्यसमा वेवास्ता गर्नु कस्तो हो, त्यो जनताले नै बुझून् ।

खैर, जे भए पनि राम्रो भयो । फजुल समयको र सामग्रीको खर्च बच्यो र तर संयोजनको अभावले हामी स्वयं यति टाढाबाट आएका स्वास्थ्यकर्मीहरूलाई काम गर्न साह्रै गाह्रो भयो । आस छ आगामी फागुनमा हुने भनिएको शिविरको लागि स्थानीय सरकारले, संघ सस्थाहरूले सबै खालको स्वामित्व, सहयोग गर्ने र त्यहाँका बासिन्दाले शिविरमार्फत् नै भए पनि विशेषज्ञ चिकित्सा सेवा पाउने छन् ।

दाँतको अवस्था समग्रमा हेर्दा बझाङमा धेरै नै डामाडोल अवस्थामा छ । करिब २० प्रतिशतभन्दा बढी मासिसहरू दाँतको निकै समस्यामा छन् । एक/दुई दाँतको समस्या नभएका त प्रायः कमै भेटिन्छन् । स्वास्थ्य जस्तो सम्बेदनशील विषयलाई सबै मिलेर समाधानतर्फ लाग्नु आम जनसमुदाय तथा अन्य जिम्मेवार निकायको हो ।

गत वर्ष जिल्ला अस्पतालमा गरिएको शिविरमै अधिकांश बिरामीहरूका पूर्णरूपमा दाँत सडेका थिए । त्यस्ता विरामीको पनि समयमै समाधानका लागि आफ्नो तर्फबाट सबै जुटौँ । सबैको स्वास्थ्य तन्दुरूस्त राख्न जुटौँ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार