शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने
Breaking News

एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने

काठमाडौं। महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।

गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ । गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताए । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न पत्राचार गरेको हो ।

दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि जोड दिएका छन् । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए ।

महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतीय पक्षलाई आग्रह गरिसकेको छ । बङ्गाबगड रिङ्गलताल क्षेत्रभन्दा माथि सहमति नभइ थप काम नगर्न भारतीय पक्षलाई भनेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार