आइतवार, भदौ १६, २०८१
  • होमपेज
  • छान्नाका बाढीपीडित : राहतको पखाईमै बित्यो वर्ष दिन
Breaking News

छान्नाका बाढीपीडित : राहतको पखाईमै बित्यो वर्ष दिन

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मान्छे देखिने वित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन् । बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन् ।

गाउँमै बाटो भएपछि त हजारौँ मान्छेहरू ओहोरदोहोर गर्दा एक दुई जना दानी मान्छे (दाता) को आशा नलाग्ने कुरै भएन । उनलाई दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै हुँदैनथ्यो । हुन पनि १ वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा ३ दर्जनबढी मान्छेले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर, महिना बित्यो, वर्ष बित्यो राहत आएन ।

‘बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पखाईमा छौँ,’ खातीले भने, ‘आश्वासन दिने ३०/३५ जना टिम आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।’

गत वर्ष कार्तिक २ गते आएको बाढीले खातीगाउँबासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काको छानोमा बसेका दुई परिवारलाई ३÷४ जनाले केही खाद्यान्न पनि सहयोग गरे । ‘सहयोग प्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो ।’ बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको खातीले बताए ।
गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले ५ हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गरेका थिए । ज्ञानदेवी खातीले भनिन्, ‘बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाईको पर्खाइमै छौं ।’ उनी भोको पेटले आश्वासन थेग्न नसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन नत खाने गास नै ।’

ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उनले बताइन् । ‘गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन ।’ उनले भनिन् । अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ । ‘एक जनाले चामल दिनुभएको थियो । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।’ उनले भने ।

खोलाले बगाउन बचेको जमिनमा २ केजी जति कोदो भएको देखाउँदै प्रेमबहादुरले भने, ‘घरमा ६ जना छौँ । आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी) । नाति नातिना सानै छन् । भएको सम्पति सबै बाढी निल्यो ।’ उनी टोलाउँछन् ।

खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन । ‘अहिलेसम्म घरको सास त जोगिएकै छ,’ धन्दुरी खातीले भनिन्, ‘अहिले बस्नलाई घर त छ । तर, खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यो पटक सबै घरहरू अन्नबिहीन छन् ।’

बाढी आएको साढे १३ महिनासम्म खातीगाउँबासीले स्थानीय सरकार भएको महशुससमेत गरेका छैनन् । ‘राहतका लागि गाउँपालिका गयौं । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो,’ धन्दुरीले भनिन्, ‘राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठायो ।’

केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उनले बताइन् । ‘अहिलेका अध्यक्षले आश्वासन दिएको पनि ७ महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्सनुभयो ?’ उनले भनिन् ।

अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् । धन्दरीले भनिन्, ‘झरी परे निकै डर लाग्छ । फेरि कार्तिकको महिना । गत वर्ष कार्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ । राति पानी परे त जाग्राम बस्नु नियमित जस्तै भइसक्यो ।’ बाढीले पुर्‍याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्‍याएको छ ।

खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कार्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् । वडा नम्बर १ को मुसुराडीमा पनि बाढीपीडितहरू राहतकै पखाईमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् ।

यता वडा नम्बर १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउँछन् । ‘बाढीपीडितलाई निकै समस्या छ । तर, हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन । यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर, पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ ।’

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउँछन् । ‘खातीगाउँबासीको मात्रै होइन, छान्नामा धेरै नै बाढी पीडित छन् । उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ ।’

रोकाया अघिल्लो सरकारले बजेट बिना नै रकम छुट्याएको बताउँछन् । ‘अघिल्लो सरकारले बजेट बिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन । अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौं । कार्यान्वयनमा गइसकेको छ ।’

आफूसँग प्रर्याप्त बजेट नभएको भन्दै उनले भने, ‘हामीसँग ठूलो बजेट पनि छैन । केन्द्र सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चाँसो देखाएन । गृहमन्त्री नै अवलोकनका लागि आएको बेला संकटग्रस्त क्षेत्र घोषणाका लागि माग गर्‍यौँ । तर, कतैबाट सुनुवाई भएन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार