बझाङ । बुधबार ८ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले ३ वर्ष अघिको घटनाको झल्को दियो । एकै प्रकृतिका घटना बारम्बार दोहिरिँदा पनि किन सचेत नभएका भनेर यात्रु तथा चालकलाई धेरैले प्रश्न गरे । तर, यसको शाब्दिक जवाफ भए पनि नैतिक र नियमपरक जवाफ कसैसँग छैन । प्रहरी प्रशासनको निगरानी र सवारी चालकको चतुर्याँई केही फरक छैन ।
प्रहरीले चेकजाँच गरेजस्तो गर्ने र चालकले पनि टाउको हल्लाउँदै सवारीमा भार बढी थप्नको कारण नै दुर्घटना हुँदै आएका हुन् । त्यसका अलावा मापदण्डविपरित खनिएका सडक पनि मुख्य कारण हो । असारे विकासको रूपमा लिएको डोजेर विकास सडकमा बढी छरपष्ट हुन्छ । पहुँचका आधारमा योजना पास गर्दै रातारात खनिएका सडक बढी जोखिम हुन्छन् । अहिले सवारीकै कुरा गरौँ ।
यात्रुको स्थानबाट हेर्दा हतारको अवस्था, प्रहरीको स्थानबाट हेर्दा झन्झटिलो अवस्था र चालक तथा सवारीमुलीको स्थानबाट हेर्दा कमाऔँको अवस्था नै प्रमुख कारण मान्न सकिन्छ । रूट प्रमिट पाएका सडकमा नियमित निगरानी हुनुपथ्र्यो तर, जब दुर्घटना हुन्छ, त्यसपछि मात्रै नियमित चेकजाँच हुन्छ । त्यो पनि विस्तारै सेलाउँदै जान्छ ।
सवारी दुर्घटना भइसकेपछि क्षमताभन्दा बढी एक जना पनि राख्न नदिने ट्राफिक प्रहरीले घटनाअघि भने दोब्बर यात्रु देखेर पनि नदेखेझैँ गरिरहन्छन् । यात्रुको पनि त्यही गति छ, हतार भयो भन्दैमा सवारीमा दोब्बर यात्रु देख्दा दैख्दै गाडी चढिहाल्छन् । ‘विस्तार गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने ट्राफिक श्लोकलाई फिटिक्कै विर्सिहाल्छन् । चालक तथा सवारीधनी जति यात्रु भए पनि गाडी रित्तै देख्छन् । बाटोमा जति भेटिए पनि एकै चोटी बोक्न खोज्छन् । सानो जीपमा त कम्तिमा ५/७ जना भए त हिड्नै मान्दैनन् । बाटोमा जति भेटिए पनि अगाडि, पछाडि, छत भरिहाल्नुपर्छ ।
ट्राफिकलाई आँखा छलेर बाटोमा झार्दै अर्को ठाउँसम्म हिडाएर पछि फेरि गाडी भर्ने चालकको चाला नौलो होइन । घटनापछि मात्रै चेत खुल्छ, तर, त्यो ढिला भइसकेको हुन्छ । यसलाई नियन्त्रण गर्न अटेरी गर्ने चालक तथा सवारीधनीलाई प्रहरीले जरिवाना तिराएर मात्रै हुँदैन, ठूलो सजाय दिनैपर्छ । सडकमा ट्राफिक प्रहरीले छड्के चेकजाँज पनि गर्नैपर्छ । यात्रुहरूले पनि विगतका घटनाहरू सम्झनै पर्छ । त्यसैले सबै आ–आफ्नो ठाउँबाट संयमित बनौँ ।
फेसबुक प्रतिक्रियाहरु