बुधबार, माघ ९, २०८१
  • होमपेज
  • आधारभूत तहमा फेरिँदै सिकाई प्रक्रिया
Breaking News

आधारभूत तहमा फेरिँदै सिकाई प्रक्रिया

बझाङ । गंगा बोगटी मष्टा आधारभूत विद्यालयमा अध्यापन गराउछिन् । उनले ऐचेँलीबगरको मष्टा आविमा सबै विषयकी शिक्षिका भएर काम गरेको दशक नाघिसक्यो । यस अवधिभर अध्यापन गराएअनुसार उनका विद्यार्थीले भने सोचेजस्तो नतिजा कहिल्यै ल्याएनन् ।

खप्तडछान्ना गाउँपालिका भित्रका विद्यालयबीच हुने प्रतिष्पर्धामा उनको विद्यालय जहिल्यै कमजोर बन्यो । शिक्षक तथा अभिभावकको मेहेनत तथा विद्यार्थीको लगनशीलताप्रति स्थानीयले प्रश्न उठाउँदै गरे । नतिजा नसुध्रिएपछि बोगटीलाई सिकाई पक्रिया नै नमिलेको जस्तो भयो । उनले बेला बेलामा तालिम लिनका लागि धेरै ठाउँमा चासो देखाइन् । तालिमका लागि शिक्षा कार्यालयसँग समेत समन्वय गरिन् । तर, कतै अवसर पाइनन् ।

गत हप्ता छान्नामै चलेको तालिमपछि भने उनलाई निकै जाँगर चलेको छ । शिक्षण सिकाई सहज बनाउनका लागि १० दिने तालिम लिएकी बोगटीलाई अहिले शिक्षण गर्न सजिलो लाग्न थालेको छ । ‘पहिले घोगन्ते (कन्ठस्त) पार्ने गरी मात्रै पढाउथ्यौँ । त्यसमा सबै विद्यार्थीले सिक्न सक्दा रहेनछन् । अहिले भने विभिन्न सामाग्री देखाएर मात्रै पनि विद्यार्थीले राम्रो सिक्न थालेका छन् ।’ उनले आफूले लिएको तालिम परिणाममुखी हुने बताइन् ।

खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका शिक्षक जंगबहादुर खत्रीलाई पनि अहिले विद्यार्थीलाई अध्ययन गराउन सजिलो लाग्न थालेको छ । साढे २ दशकदेखि अध्ययन गराउँदै आएका खत्रीलाई विद्यार्थीले सिक्ने र सिकाउने कला अहिले फरक लाग्न थालेको हो । ‘लामो समयदेखि आफैँले निर्माण गरेका शैक्षिक सामाग्रीबाट अध्ययन गराउँदै आएका थियौँ । नतिजामा भने विद्यार्थीले नसिकेको धेरै देखियो । आजभोलि भने थप शैक्षिक सामाग्रीबाट विद्यार्थी छिटो सिक्दै आएका छन् ।’

उनले विद्यालयमा चित्र, शैक्षिक सामाग्री वा विद्यालय बाहिरका सांकेतिक दृष्यबाट पनि विद्यार्थीले छिटो सिक्ने गरेको बताए । उनले भने, ‘शिक्षण सिकाईलाई प्रभावकारी बनाउन पालिकाको समन्वयमा भएको तालिम शिक्षक विद्यार्थीलाई नै प्रभावकारी भएको छ ।’ उनले विगतका वर्षहरूको भन्दा राम्रो नतिजा यसै वर्षबाट हुने बताए ।

खप्तडछान्ना–५ खप्तड माविका शिक्षक हिरेन्द्रबहादुर सिंहले पनि सिकाई प्रक्रिया केही फेरिएपछि नतिजा राम्रो आउने बताए । उनले भने, ‘पहिलेको र अबको सिकाई प्रक्रिया धेरै नै फरक हुने पाएका छौँ । यसभन्दा अघि किताबका पाठहरू सुनाउँदै त्यसलाई अथ्र्याइन्थ्यो । समयमा पुस्तक नपुगेर एउटा दुइटै पुस्तक वा पुराना पुस्तकबाट सिकाइन्थ्यो । त्योबाट खासै राम्रो नतिजा पनि आउँदैनथ्यो । अब भने अब सिकाई बिधि नै प्रत्यक्ष चित्र तथा सामाग्रीबाट हुन्छ ।’ यसबाट विद्यार्थीले चाँडो सिक्ने विश्वास लिएको उनले बताए ।’

गत हप्ता खप्तडछान्ना गाउँपालिकामा रिड नेपालले सञ्चालन गरेको पाठ्यक्रममा आधारित सिकाई वातावरण निर्माणसम्बन्धि १० दिने तालिममा ३८ वटा आधारभूत विद्यालयका १८९ जना शिक्षकहरूलाई तालिम दिइएको हो । समृद्ध खप्तडछान्ना परियोजनाअन्तर्गत अष्ट्रेलियन सरकार र हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा पाठ्यक्रममा आधारित शैक्षिक सामाग्री निर्माण, शैक्षिक सामाग्रीको प्रयोग, कक्षाकोठा व्यवस्थापन, परिवर्तित पाठ्यक्रमको प्रयोग, निरन्तर विद्यार्थी मूल्यांकन र शिक्षण विधि लगायतका विषयमा छलफल गरिएको थियो ।

रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीका अनुसार पालिकाभरिका सबै शिक्षकलाई ११ जना प्रशिक्षकले प्रशिक्षण गरेका थिए । ईश्वर आधारभूत विद्यालय घाटखोलामा सञ्चालन भएको तालिममा रामेश्वर प्रधान, राजेन्द्र पन्त, केशवदेव गिरी, जनकराज जोशी, ऋषिकेश आचार्य, सुजाता राई, रमा लिम्बु, विष्णु उपाध्याय, देवराज जोशी र मनिषा तामाङले विद्यार्थी सिकाई मूल्यांकन र अभ्यासबारे आफ्नो अनुभवसहित सिकाई विधिहरू सुनाएका थिए ।

तालिमपश्चात् सबै विद्यालयलाई रिड नेपाल तथा खप्तडछान्ना गाउँपालिकाले पाठ्यक्रम, शैक्षिक सामाग्री, विद्यार्थी सिकाई अभिलेख फारम वितरण गरेको संयोजक जोशीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार