शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सातत्य सेवा गर्दै नेपाली सेना
Breaking News

सातत्य सेवा गर्दै नेपाली सेना

बझाङ । बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गएको सोमबार खप्तडमा लाग्ने जगन्नाथ मेलामा गइन् । खप्तड जाँदा उनलाई लेक लाग्न सुरू भयो । कागती र केही खाजा बोकेकी उनलाई हिड्न सहज त भयो तर, रिगाँटा लाग्ने भने ठीक भएन । खप्तडमा भएका आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या बताएपछि नेपाली सेनाको व्यारेकबाट उनलाई औषधी ल्याइयो र बिराम निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि पनि खप्तड जाँदा त्यही समस्या भोगे । दहपाटनबाट हिड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेनाको औषधीले निकै राहत गरेको सुनाए । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पुजाआजापछि घर फर्किए ।

खप्तडमा यस्ता समस्या हुने दर्जनौं नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशक यता भने खप्तडमा बिराम हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको व्यारेकबाट औषधी खाँदा सामान्य बिराम सजिलै ठीक हुने गोठाला विनोद रावलले बताए ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दूल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताए ।

शुक्रबार र शनिबार मात्रै जगन्नाथ मेलामा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट १४१ जनाले सेवा लिएका थिए । वर्षेनी लाग्ने गंगा दशहरा मेलामा त हजारौंको संख्यामा बिरामीको चेकजाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उनले बताए । जगन्नाथ मेलामा पनि हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी व्यारेकमा बढ्दै गएपछि मेलाहरूमा शिविर नै आयोजना गरिएको हो । व्यारेकमा पनि दैनिकजसो १५/२० जनाले स्वास्थ्य सेवा लिइरहेको उनले बताए ।

जनैपूर्णिमाको अवसरमा लाग्ने सानो मेलाहरूमा समेत नेपाली सेनाले सयौंको संख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक सिजनमा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने गुल्मपति सिलवालले बताए । ‘हामीसँग औषधी भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौं,’ उनले भने, ‘औषधी अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधी ल्याउने गरेका छौं ।’

बडिमालिकाको त्रिवेणी ईलाकामा २५ र २६ गते र खापरदह ईलाकामा २६ र २७ गते, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ चोलाङ्गपाटीमा २६, २७ र २८ गते र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित गोसाईंस्थानमा २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरहरुबाट १ हजार १४२ जना भक्तजनहरु लाभान्वित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै