शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • निष्ठापूर्ण राजनीतिबिना निर्धो बन्छ लोकतन्त्र
Breaking News

निष्ठापूर्ण राजनीतिबिना निर्धो बन्छ लोकतन्त्र

तीर्थराज जोशी

काठमाडौं । श्रद्धा, भक्ति र प्रेमको सम्मिलन नैं निष्ठा हो । यसलाई आस्थाको रुपमा सम्झँदा पनि हुन्छ अर्थात् यो निष्ठाको पर्यायवाची हो । जस्तो ईश्वरप्रति आस्था, आमा–बाबु, गुरु–अग्रजप्रति आस्था, रुख–जल–चन्द्र–सूर्य तथा जन्मभूमि–प्रतिको आस्था किन जन्म्यो मनुष्यहरुको यिनीहरुका प्रति निष्ठा ? किनकी यी सबै गुणकारी छन् । सृष्टिको उषाकालदेखि नै यिनीहरु अनवरत आफ्नो गुणवत्तालाई कायम राख्दै आएका छन् र ब्रमाण्डको अस्तित्व रहेसम्म आस्था पूर्ण रहिरहने छन् । जहाँ गुण हुन्छ त्यहीँ आत्मा पनि रमाउँछ ।

आत्मा र निष्ठाको यो अन्तर–सम्बन्ध अनन्तसम्म कायम रही रहन्छ । त्यसैले निष्ठापूर्वक गरिएका कार्यको परिणाम अपवादबाहेक असलै रहन्छ । श्रष्ठाको सृष्टिमा सिर्जनता र मानवता बिस्तार गर्नेहरु नै निष्ठाका पात्र या विषय बन्न पुग्छन् । जसले युगको पांग्रालाई स्वार्थबस् पछाडि धकेल्छन् । तिनीहरुका प्रति भने निष्ठा रहँदैन । अर्थात् घृणा उत्पन्न हुन्छ । घृणा पात्रहरुको उल्लेख इतिहासमा यसकारण गरिन्छ कि त्यसबाट पछिल्लो पिँढीले पाठ सिकुन् । दुर्योधन, निरो र इतिअमिन अब कोही नबनुन् । यहीँ हो इतिहासको सद्इच्छा । बदनामको पात्र बन्नुभन्दा गुमनामको पात्र हुनु बढिया । मानवीयताको प्रदर्शनले सभ्यता मौलाउँछ भने दानवीयताको प्रदर्शन मर्दछ । इतिहासमा सभ्यता उत्थान पतनको कारक तत्व नै मनुष्य हो । इजिप्ट, बबिलोनको प्राचीन सभ्यताका ठाउँहरु अहिले आतंकवादका केन्द्र बनेका छन् भने आर्य सभ्यताको आर्याब्रत अहिले सत्ता राजनीतिको लिप्साले ग्रसित बनेको छ । तर, मनुष्य इतिहासको प्राचीनकाल बहुतै आलोकमय देखिन्छ । विचार चिन्तनको अभ्युदयकालबाटै त निष्ठापूर्ण राजनीतिको सुरुवात भएको हो । यहीँ निष्ठापूर्ण राजनीतिको मूल उद्देश्य नै देश र जनताको भलो गर्नु हो ।

प्राचीन यूनान नै राजनीति चिन्तन बिचारधारा बिजारोपणको प्रथम थलो हो । यहीँबाट त राजनीति भन्ने शब्दको प्रादुर्भाव भएको हो । राज्यसँगको यावत् गतिबिधि नै राजनीति हो अर्थात् आदर्श राज्यको स्थापना । राज्य नै मनुष्यको आश्रयदाता, अन्नदाता र सुरक्षादाता हो भन्ने ठहर तत्कालिन यूनानी चिन्तक र नागरिकहरुले गरिसकेका थिए । सचेतना, प्रेरणा र पौरखले उठेको व्यक्तिले मात्रै राजनीतिक कर्तव्यहरू निभाउन सक्थ्यो । प्रायः त्यहाँका अधिकाशं नागरिकहरू राजनीतिमा निष्ठापूर्वक भाग लिन्थे । मनुष्य राजनीतिक प्राणी हो र योभन्दा बाहिर मनुष्यको अस्तित्व रहँन सक्दैन भन्ने दावा थियो त्यहाँका राजनीतिक चिन्तकहरुमा ।

शासक वर्ग जनहितमा समर्पित रहन्थ्यो भने नागरिकहरु शासक वर्गहरूप्रति समर्पित रहन्थे । सेवा र श्रद्धाको अनुपम मिश्रण नै संयमित प्रजातन्त्र (मर्यादित) थियो । अर्थात् प्रजातन्त्र छाडा थिएन मैमत्ता हात्ती जस्तो । यूनानबाटै सर्वप्रथम सुकरातले विचार क्रान्तिको चिराँग उठाए, प्लेटो राजनीतिक आर्दशको प्रवाह भएर बगे र अरस्तुले व्यवहारिक राजनीतिकको प्रतिपादन गरे त्यसैले यिनलाई राजनीतिक विज्ञानका पिता भनिन्छ । पेरीक्लिजको प्रजातान्त्रिक शासन व्यवस्था यूनानको स्वर्णीम काल थियो । राज्य शासन व्यवस्थाको एकमात्र उद्देश्य हुन्थ्यो । राष्ट्र उत्थान र जनउत्थान । यूनान युरोपभरिको बौद्धिकहरुको आश्रयस्थल बनेको थियो । जो पछि गएर त्यहाँका सोफिस्ट कहलिए । ज्ञान विज्ञानको केन्द्र थियो तत्कालिन युनान । कानुनका प्रति नागरिकहरुको अगाध श्रद्धाका कारण कानुन मर्यादित बन्न पुगेको थियो । कानुनको पालन गर्नुलाई आफ्नो कर्तव्य ठान्ने यूनानी राजनीतिमा सुकरातले कानुनको पालन गर्नकै खातिर राज्यले दिएको बिषको प्यालालाई घुटुघुटु पिए सहर्षसाथ र महानिर्माण प्राप्त गरे यस्तो थियो यूनानी नागरिकहरुको राजनीतिक निष्ठा ।

पश्चिमको यूनान झैं हिन्दु–उपमहाद्धीपको आर्याब्रत पनि पूर्वीय राजनीतिक दर्शनको आधार भूमि थियो । बेद–बेदाङ्ग, रामायण, महाभारत र गीताजस्ता चिन्तनमय ग्रन्थहरुको रचना भएको थियो ऋषि महर्षिका योग तपस्याबाट । ऋग्बेद त विश्वकै प्राचीनतम् ग्रन्थ हो । विचार चिन्तनका यि अनमोल ग्रन्थहरूमध्ये गीताको कर्मयोग माथिको जोड र महाभारताको निष्ठा राजनीति माथिको जोड नै आर्यावर्तीय चिन्तनको उपज हो । श्रीकृष्णको गीता र महाभारतको बिदूर नीति आदर्श राजनीतिसँग आबद्ध नीति सिद्धान्तहरु हुन् । मुनस्मृति पनि हिन्दु राजनीतिक परम्पराको संविधान नै हो ।

यूनानका रिपब्लिक र पोलिटिक्स आदर्श राजनीतिका अमर दस्ताबेज हुन् । यूनानीय एवं आर्यावर्तीय राजनीतिक चिन्तनो साध्य एउटै थियो । जनतालाई सुखी बनाउनु र यिनीहरूको उपकार गर्नु । त्यहीँ भएर यूनानको प्रजातन्त्र र आर्यावर्तीय गणराज्यहरु तत्तत् समयमा उठेका थिए । आर्यावर्तका श्राबस्ती–अवध, सप्तसिन्धु– कश्मीर तथा मिथिला–कपिलवस्तु निष्ठापूर्ण राजनीति–बाटै उठेका थिए । यूनानी–आर्य विचारधारा मध्येकालमा आएर सत्ता राजनीतिक बर्बरताका कारण दबेर रह्यो । आदर्श राजनीतिको ठाउँमा सत्तापिपाषुको राजनीतिले शीर उठाएकै कारण इटलीको पुनर्जागरण नभइन्जेल मध्येकाल अन्धकारमा डुब्यो यहीँ सामन्तबादी युगको पदार्पणले निष्ठा राजनीति प्रत्याडीत रह्यो सत्ता राजनीतिका टापहरुले । सत्ता हानथाप मारकाट युद्ध लडाँइ र बिध्वंशको यो कालखण्ड अन्धकार युगको रुपमा विश्लेषित छ । शौभाग्यबस् इटलीको पुनर्जागरणपछि युरोप उठ्यो अमेरिका र एसिया उठे त्यसपछि पनि उठे अरूहरू पनि क्रमशः । पुनः यूनानी आर्यावर्तीय प्राचीन राजनीतिक मर्यादाको पुनर्जागरणपश्चात् राष्ट्रिय स्वतन्त्रता र प्रजातन्त्रको लहर विश्वभरी नै फेलियो । विज्ञानले मंगल ग्रह छोयो भने ज्ञानले मदरटेरेसा जन्मायो ।

अफसोच् निष्ठा राजनीतिको जन्मदाता यूनान आज आर्थिक रुपले जर्जर भई अस्तव्यस्त भएको छ । ऋणै ऋणको बोझले आकुल व्याकुल बनेको छ । त्यसैगरी विश्वबन्धुत्व र शान्तिको मन्त्रोच्चारण गर्ने आर्यावर्तको पवित्रभूमि आज अभाव अशान्ति र अहकांरले ग्रसित छ । यस क्षेत्रमा भौतिक विकासका पूर्वाधार भए पनि मानवीय हिषावले यो क्षेत्र अझै उठ्न सकिरहेको छैन, अर्थात् निष्ठापूर्ण राजनीति उपेक्षित भैरहेछ । लोकतान्त्रिक शासन व्यवस्था स्थापित भएका यस क्षेत्रका मुलुकहरुमा लोकतन्त्रको जरा अझै मजबुत भएको छैन । आफ्नो गौरवपूर्ण इतिहास बिर्सने, इतिहास निर्माताहरूलाई बिर्सने, सत्ता राजनीति संस्कारको थालनी निर्माण भएकै कारण पदभार लिँदा खाएका सपथ पनि क्रमशः बिर्सिरहेछ आजको विकृत राजनीतिले । सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरु क्रमशः पाखा पर्दैछन भने सत्ता राजनीति गर्नेहरु मात्रै राजनीतिको मुलधारबाट गुर्जिरहेका छन् । धनबल, जातिबल र मसलबल आजको राजनीतिक सफलताका मुख्य आधार बनेका छन् । यस्तै आधार भएकाहरू नै राजनीतिमा योग्य बनाइने कुचेष्टाको सुरूवात भैरहेछ ।

अविकसित र अल्पविकसित मुलुकहरुमा । राजनीतिक अस्थिरता र संक्रमण हुनुको पछाडि सत्ता राजनीतिको मुख्य हात रहेको देखिन्छ । सत्ता, सम्पति र अहंकार प्राप्त गर्ने होडबाजी चलेपछि प्रजातन्त्र भन्नुस् वा लोकतन्त्र त्यो अपाहिज बन्न सक्छ । नेपालमा निष्ठाको राजनीति गर्दा गर्दै हुत्याइएका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले पदमुक्त हुदाँ भनेका थिए, ‘प्रजातन्त्रको राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन्, तिनको अभाबमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुँदै जान्छ ।’ प्रजातन्त्रको शक्ति भनेकै उसको मूल्य र मान्यता हो । यो सत्यलाई राजनीतिले अबलम्बन गरेन भने प्रजातन्त्र स्वतः निर्धाे हुन्छ ।

प्रजातान्त्रिकभन्दा अप्रजातान्त्रिक क्रियाकलापको बढोत्तरी र दबदबा भएपछि लोकतन्त्र कमजोर हुन्छ । त्यस्तो लोकतन्त्रले न राष्ट्र उचाल्न सक्छ नत जनहितको उत्तरदायित्व निभाउन सक्छ । जनता काकाकुलको तृष्णा लिएर व्यथित भइरहन्छ, निर्धो वा अपाहिज लोकतन्त्रमा । सत्ता प्राप्तिको अस्वस्थकर प्रतिस्पर्धाले क्रमशः निष्ठा राजनीतिलाई निमोठ्दै जान्छ । सत्ताधारी हुन् या यिनीहरुका अनुयायी हुन् यिनीहरू राजनीतिलाई लाभको रुपमा हेर्छन् । एक कृपण व्यापारीले झैं । सत्ताको किर्नु भएर ढाडिन चाहन्छन् । सत्ता सुख नै सर्वोत्तम सुख ठान्ने मनोवृति नै सत्ता राजनीति हो । यस्तो राजनीति केही समयका लागि कुर्लन सक्छ । तर, यसको विरोधमा जनशक्ति उर्लेपछि सत्ता राजनीति किनारा लाग्ने छ र पुनः निष्ठा राजनीति मुलधार भएर बग्नेछ । आउने सूयोदयले त्यहीँ राजनीतिक मूल्य स्थापित गर्नेछ जो राष्ट्र र जनताले चाहेको छ ।

हाम्रा क्रान्ति एवं जनआन्दोलनका नायकहरूको अगुवाइमा नेपाली जनताको ठूलो त्याग संघर्षबाट प्राप्त भएको हो बर्तमान लोकतन्त्र । निरंकुश राणा शासनमा सहिदहरूले चढाएको सहादतकै जगबाट उठेको लोकतन्त्रमा जो जो संलग्न भए ती सबै निष्ठाका पात्र हुन् । प्राप्त लोकतन्त्रलाई सत्ता स्वार्थमा बदलेर आफ्नो बैभब–ऐएसी बढाउने र जनतालाई कंगालीमै छोडिदिने उत्तरदायित्वबिहीन राजनीति, निष्ठापूर्ण राजनीतिको बाधक हो । नेपालमा यहीँ सत्तालिप्साको राजनीतिले देशभक्ति दण्डित हुने परम्पराको थालनी गर्‍यो । मल्लकालका काजी भीम मल्ल र उमराओ काशीराम थापा देशभक्तिमा चुर्लुम्म डुबेको बेला शासकहरुले यिनीहरुको बिभत्स हत्या गर्न लगाए । त्यसैगरी शाह कालमा देशभक्ति काजी दामोदर पाँडे र काजी बंशराज पाँडेलाई पनि तरबारले छिनाली दियो । राणा– काल र पञ्चायतकालमा पनि देशभक्ति दण्डित रह्यो त्यहीकारण ती सत्ताहरू ढले आफ्नै गल्तीका कारणले ।

प्रजातन्त्र पुनस्र्थापना पश्चात् प्राप्त भएको लोकतन्त्रमा निष्ठा राजनीति उपेक्षाद्वारा दण्डित हुँदै गइरहेको छ । यसलाई राम्रो लक्षण मानिदैन । हामी नेपालीहरु लोकतन्त्रको उज्यालो हेर्न पर्खिरहेका छौं । राष्ट्रिता र सार्वभौमिकता बलियो भएको हेर्न चाहिरहेका छौं तर, जनचाहनाअनुसार लोकतन्त्र चलिरहेको छैन । पातलिदै गएको निष्ठा राजनीति, बढ्दै गएको जनअसन्तोष, स्वतन्त्र निकायमाथि व्याप्ति राजनीतिकरण, बिकराल बेरोजगारी, पद बाँटफाँडको अप्रजातान्त्रिक पजनीप्रथा, व्याप्त भ्रष्टाचार, अवसरबादी प्रवृतिलाई प्रशय, गुट उपगुट प्रथाका कारण पार्टी निष्ठामा प्रहार, राष्ट्रिय स्वार्थमा आघात स्वाभिमानमा आँच, अपरिपक्व कुटनीतिक र लस्करीय विदेश भ्रमण प्रवृति लगभग यिनै हुन् वर्तमान लोकतन्त्रका बाधकहरु ।

लोकतन्त्रमाथिको संकटलाई अनुभूत गर्न सक्ने आत्मिक क्षमता राजनीतिक वृतमा नभएको लक्षणहरु देखा परिरहेका छन् । महामानव स्व. विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभएको थियो, ‘देशको परिस्थितिलाई ऐतिहासिक दृष्टिबाट विचार गर्ने शक्ति हामीमा भएन भने हामीले समस्याको यथार्थ ज्ञान पनि प्राप्त गर्न सक्ने छैनौ ।’ बीपीको यहीँ बाणी सच्चा लोकतन्त्रबादीका लागि मार्गदर्शक बन्न सक्छ । अन्यथा ऐतिहासिक दायित्वको बोध भएन भने निर्धो बन्नेछ लोकतन्त्र र निर्धा बन्ने छन् जनता । सम्बन्धित सबैलाई चेतना भया । अस्तु ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार