शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आधुनिक ट्याक्टरले गोरु विस्थापित
समाचार

आधुनिक ट्याक्टरले गोरु विस्थापित

चैनपुर, बझाङ । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ कि यादवी जोशीको घरमा भरखर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मंसिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पुर्‍याउथिन् ।

उनको घरमा गोरू भएपछि छिमेकीहरुले समेत खेत जोत्ने मौका पाउँदथे । घरमा ल्याएपछि दुई महिना गोरू दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरू जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरूसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।

मंसिरमा एक जना आफन्तले हाते ट्याक्टर किनेर ल्याए । उनले आफ्नो खेती मात्रै बनाएनन् । तीन÷चार जनाकै खेती बनाए । त्यसपछि यादवीको परिवारले पनि गोरूको ठाउँमा ट्याक्टर नै राख्ने सोच बनायो । उनले किनेका गोरू बिक्री भएनन् । पछि अर्को गाउँको मान्छेलाई सित्तैमा दिए । ट्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थाल्यो ।

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्याक्टर किनिन् । गोठमा भएका गोरूलाई बेचेर कृषिको अनुदानसहित ७० हजार रुपैयाँमा ट्याक्टर भित्र्याइन । रोपाँई गर्न महिनाभरी लाग्ने खेतमा ट्याक्टरपछि हप्तादिनमै सकिन थाल्यो । उनी सुरु–सुरुमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थालिन् । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्याक्टर भाडामा समेत प्रयोग गरिन् ।

ट्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाइन् ।
यादवीको देवलको खेतमा पहिले २ दिन गोरु जोत्नै लाग्थ्यो । २० जनाले रोपाई गर्थे । हलीसहित ७/८ जना पूरुषहरु काम गर्थे । आजभोलि भने तीन/चार घण्टामै काम सकिने गरेको छ । ‘आज पनि हामी दुई जना मात्रै थियौं । तीन घण्टामै जोतेर सकियो । रोपाईको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।’ उनले भनिन् ।

महिलाले ट्याक्टर जोत्नु हुँदैन

अन्धविश्वासका कारण नगरपालिका भित्रका महिलाहरु गोरू मात्रै नभएर ट्याक्टरसमेत जोत्दैनन् । ‘हाम्रोतिर गोरू पनि पूरुष, ट्याक्टर पनि पूरुषले नै जोत्छन् ।’ महिलाले अहिलेसम्म नजोतेको थापाले बताइन् ।

महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताइन् । ‘हाम्रोतिर अहिलेसम्म कसै महिला हलो जोत्यो भनेको सुनेका पनि छैनौ । आफूले जोत्ने त परको हो ।’

गाउँमा कसैको बारीमा ट्याक्टर जोत्नु परे पनि पूरुष मान्छे नभए बारी बाँझै रहने उनले बताइन् । ‘मेरो घरमा सधैँ छोराले मात्रै ट्याक्टर जोत्छ ।’ छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उनले बताइन् ।

थापाले आफ्नोतिर मात्रै नभई माइतीघरमा समेत पूरुषले मात्रै ट्याक्टर जोत्छन् । ‘ट्याक्टर जोत्न एकदमै सजिलो हुन्छ, भन्छन्, थकाई पनि लाग्दैन रे । तर, हामीले भने अनुभव गरेका छैनौं ।’ उनले भनिन् ।

खेतमा गोरू जोत्नुभन्दा ट्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक सुनिल थापाले बताए । ‘मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरूलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मान्छे पनि धेरै हुनुपर्छ । ट्याक्टर चलाउन भने जसले पनि सक्छ ।’

गहुँ उत्पादन घट्यो

हाते ट्याक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषकहरु बताउँछन् । कृषक लक्ष्मी जोशीले भनिन्, ‘हाम्रो खेतमा ट्याक्टर चलाएको तीन वर्ष भयो । तीनै वर्ष गहुँ उत्पादनमा कमी आयो ।’ उनले आफ्नो खेतमा ३ कट्टा गहुँ हुने ठाउँमा अढाई कट्टा मात्रै गहुँ उत्पादन भएको बताइन् ।

‘ट्याक्टरले गहिरो भएर हो कि के हो । गोरुले जोतेअनुसारको गहुँ हुँदैन ।’ धान भने पहिलेकै जति उत्पादन हुने गरेको उनले बताइन् । यता नगरपालिकाले भने हाते ट्याक्टरले नभई अन्य कारणले उत्पादन हुन सक्ने दाबी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार