मष्टा, बझाङ । बुधबार मष्टा गाउँपालिकामा बजेट तथा कार्यक्रमका लागि सुझाब संकलन गर्ने कार्यक्रम राखिएको थियो । अघिल्लै दिनदेखि रेडियोले सूचना प्रशारण गरेको हुँदा गाउँपालिकाभरिका स्थानीयको बाक्लै उपस्थिति थियो ।
सर्वपक्षीय बैठकमा प्रत्येक गाउँबाट आएका मान्छेले गाउँपालिका खचाखच भरिँदै थियो । दिउँसो मध्याह्नतिर पालिकाको हलमा कार्यक्रम सुरु भयो । बिहान सबेरै आएको एक टोली भने कार्यक्रम हलमा नगएर बाहिरै पेटीमा बस्यो । न त्यो टोलीलाई कसैले भित्र पस्न सुुझाव दियो, नत कसैले जान्न नै चाह्यो । टोली किनारा लाग्यो । कार्यक्रम हलमा बसेकाहरू बेला बेलामा बाहिर भित्र गर्थे । टोलीले भने कार्यक्रमबारे मेसोसमेत पाएन ।
उनीहरू थिए, मष्टा गाउँपालिका–१ जिञ्जाडाका १० जना दलित समुदायका महिलाहरू । उनीहरूलाई कार्यक्रमबारे रेडियोबाट थाहा भएको रहेछ । वर्षौंदेखि पिल्सिनुपरेको पीडा लिएर उनीहरू गाउँपालिकामा पीडा सुनाउन आएका रहेछन् । तर, उनीहरू दुःख, पीडा कसलाई सुनाउने भन्नेसमेत अनभिज्ञ थिए । उनको कुरा सुन्न न जनप्रतिनिधि आउँछन् नत कुनै कर्मचारीले नै सुन्छन् । त्यतिकैमा पानी पर्छ, टोली गोलमाल भएर पेटीमा टाँसिदै पानी छेक्छ ।
……………
भट्टी आउजी । अनुहार हेर्दा जीवनको उत्तराद्र्धमा प्रवेश गरिसकिन् । उनलाई आफ्नो उमेर कति पुग्यो भन्ने थाहा छैन । बिहानै हतपत गरेर घरको काम सकिन् । गाई वस्तुका लागि घाँससमेत काटेर खाना खाँदै हतार गरेर उकालो पालिकातर्फ लागिन् । भट्टीसँगै उनका छिमेकी महिलाहरू पनि गाउँपालिकामा दलित समुदायको बैठक भनेर उकालो चढे । घरमा भएका अन्य सदस्यलाई वस्तुभाउको जिम्मा दिएर सबै जना बैठकतर्फ लागे । बैठकमा उनीहरूका व्यक्तिगत समस्या दर्जनौं भए पनि सामुहिक समस्या बिसाउन गएका थिए ।
जिञ्जाडाका दलित समुदायको मुख्य समस्या पानी नै रहेछ । त्योसँगै बाटोघाटो, शौचालय, बिजुलीको समस्या छँदैछ । तर, स्वच्छ पानी त त्यो समुदायमा कुनै पुस्ताले पनि खान पाएका छैनन् । जमिन हेर्ने हो भने घर भएको ठाउँभन्दा बढी जमिन छैन । हिड्नलाई अरुको खेतको डाली हुँदै जानुपर्छ । पानी पिउनलाई किरा फट्याङ्ग्राले पौडी खेलिरहने कुवाको खानुपर्छ । गैरदलित समुदायको धारामा छुन समेत पाइदैन ।
जिञ्जाडाका दलित समुदायको पेशा सिलाइकटाई हो । भाग्याका कपडा सिलाए– बाफत उनीहरूले पैसा नभई खलो पाउँछन् । त्यो नै उनीहरूको वार्षिक आम्दानीको स्रोत हो । अहिले जिञ्जाडाको दलित समुदायमा बुढापाकाबाहेक युवा उमेरका पुरूष छैनन् । ‘मेरा पनि २० जनु कविला (परिवार हौं,’ भट्टीले भनिन्, ‘घरमा खानलाई नै नपुग्ने भयो । नाति नातिनीसहित सबै छोरा बुहारी इन्डिया गए ।’ इन्डियामा उनीहरुलाई खान बस्नसमेत मुस्किल हुने गरेको भट्टी बताउँछिन् । ‘कहिलेकाँही पैसा पठाउँछन् । यता उदारो खाएका हुन्छौं, तिर्नलाई समेत पुग्दैन ।’ उनले भनिन् ।
जिञ्जाडाको दलित समुदायमा सबैभन्दा बढी पढेका पनि भट्टीका छोरा सुरेश आउजी नै हुन् । उनी १२ कक्षा पढेर नेपालमा रोजगारी नपाएको भन्दै भारत गए । ११ परिवार रहेको त्यस समुदायमा केही युवाहरूले माद्यमिक तहको उत्तीर्ण गरेर पनि परिवार पाल्न भारत गएका छन् ।
गाउँपालिका आएका उनीहरू गलत सूचनाको भरमा हिडेका रहेछन् । गाउँपालिकामा दलित समुदायको बैठक भनेर सुनेको हुँदा आफ्ना पीडा पोख्न घरको सबै काम छोडेर आएको मीना आग्रीले बताइन् । ‘रेडियोले बैठक भन्यो, हामी सबै परिवारबाट जेठानी, देउरानीसहितको टोली आयौं,’ उनले भनिन्, ‘यता हाम्रो कुरै नसुन्ने बैठक रहेछ ।’ अघिल्लो स्थानीय सरकारले पनि केही दिएन । ‘पटक–पटक आफ्ना मागहरु सम्बोधन गर्दासमेत गाउँपालिकाले माग सुनुवाई गरेन, त्यसपछि यतै आएका हौं ।’ मीनाले भनिन् ।
जिञ्जाडामा दलित समुदायको भन्दा गैरदलित समुदायको संख्या बढी छ । थापा, रोकाया, अयडी, खाती र विष्ट समुदाय बस्छन् । अन्य समुदायले पाएको र दलित समुदायले नपाएको भने होइन । गैरदलित समुदायमा पनि एउटै धारा मात्रै आएको छ । डाँडाबाघको पानी । त्यो दलित समुदायलाई भने छुन पनि बन्देज गरेको छ ।
जिञ्जाडाका गैरदलित समुदायले देउता लाग्ने भन्दै डाडाँबाघबाट बग्ने पानी छुनसमेत दिँदैनन् । ‘हामे डाँडाबाघको पानीसमेत छुन पाउँदाइन,’ टोलीकी एक सदस्यले भनिन्, ‘हामुले पानी खाने कुवा बाजेकै पालाको हो । डाँडाबाघतिर जानै पाउँदाइन, त्यसैमा देउताको धारो छुयाँ त उठीबास लागिहाल्छ । उनको फोहोर बगेको पानी भने के खानु ?’ उनले भनिन् ।
वडाध्यक्ष रामचन्द्र रोकायाले दलित समुदायको कार्यक्रम नभएकाले आफूलाई जानकारी गराएर मात्रै गाउँपालिका आउन सुझाब दिए । ‘रेडियोको भरमा यति दुःख पाउनुभन्दा हामीलाई जानकारी गरेको भए सजिलो हुन्थ्यो ।’
उनले नगरपालिकाको कार्यक्रममा आउजीहरुको प्रतिनिधित्व आफूले गरेको बताए । ‘तपाईंहरुको प्रतिनिधित्व गरेर म यहाँ आएको छु । तपाईहरूकै समस्या राख्नेछु । तपाईहरु जानुस् ।’ उनको निर्देशनपछि त्यो टोली बैठक हल नबसेरै घरतर्फ लाग्यो ।
खलोले परिवार पाल्न धौधौ
जिञ्जाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरुसँग न उत्पादन गर्ने जमिन छ, नत हिड्ने बाटो नै । वर्षभरि भाग्याको खेती गरेको उनीहरुले १ कट्टा धान र १ सुप्पो (बोरामा एक चौथाई) गहुँबाहेक केही पाउँदैनन् ।
‘भाग्याको खेतमा गहुँ तथा धान छर्ने, गोडमेल गर्ने, काट्नेसम्म सहयोग गर्नुपर्छ, वर्षभरि लुगाकपडा सिलाउनुपर्छ । त्यो बाफतको खलो (अन्न) पाउँछौं,’ मीनाले भनिन्, ‘वर्षभरि १ बोरा धानले कसरी चल्ने ?’ गत वर्ष त गरिब भनेर राम थापाले १÷१ बोरा चामल दिएको उनले बताइन् ।
फेसबुक प्रतिक्रियाहरु