बझाङ । माघ महिनामा प्रवेशिका (टेष्ट) परीक्षा सकियो । दिलबहादुर थापासहितका विद्यार्थीहरू बोर्ड परीक्षाको तयारीमा जुटे । साथी भाइहरूमा सदरमुकाम जाने र ट्युसन पढ्ने छलफल भइरहेको थियो । सदरमुकाम जाने मितिसमेत तय भयो । साँझपख एक्कासी क्रान्तिकारी विद्यार्थीलाई चैनपुर गए पक्राउ गर्ने खबर स्थानीयले गाउँमै पुर्याए ।
थापा माओवादी निकट विद्यार्थीको कमिटीमा थिए । उनलाई गाउँकै सुनिल थापाले सदस्यता दिएका थिए । त्यस बेलामा माओवादी युद्धसँगै तत्कालिन शाही सेनाले बल प्रयोग गर्न थालिसकेको थियो । एसएलसी दिन नपाएको झोकमा थापा माओवादीमै भूमिगत भए । उनलाई पढाई पनि त्यति ठूलो लागेन । प्रमाणपत्रले मात्रै समाज परिवर्तन हुँदैन भन्दै उनी माओवादीको आन्दोलनमा होमिए ।
भूमिगत भएको डेढ महिनामै पार्टीले थापालाई बुंगलमा खटायो । सानैदेखि सेना बन्ने सोच भएका थापालाई पार्टीले जनमुक्ति सेनामा भर्ति गर्यो । बझाङमा पार्टी विस्ताको अभियान चलेको थियो । त्यो अभियानमा थापासहितका सेनाहरूले बझाङ हुँदै बाजुरामा गएर डिउटी गरे । बाजुरामा ४/५ महिना बसेपछि असोज कार्तिकतिर थापा फेरि बझाङ फर्के ।
२०५९ साल पार्टीमा प्रशिक्षण चलेको थियो । प्रशिक्षणमा हेमन्तप्रकाश ओली आएका थिए । उनलाई थापाको टोलीले सुरक्षा दिएकोे थियो । पार्टीमा जनसैन्य अभियान चलेपछि थापा बैतडी गए । उनको बैतडीमा २ वर्ष बसाई भयो । बैतडीपछि थापालाई सेनाको जिम्मेवारीमा विभिन्न ठाउँमा खटायो । सेनाको जिम्मेवारी पूरा गर्दै जाँदा उनलाई पार्टीले बटालियन कमान्डरको जिम्मेवारी दियो । कमान्डर भएपछि उनको मातहतमा सयौं जना जनमुक्ति सेना थिए ।
थापाले लडाँईको बेला ठूलठूला मोर्चा सम्हाले । रोल्पा, रुकुम हुँदै म्याग्दीको सदरमुकाम बेनीमा पुग्दा तत्कालिन शाही सेनाको गोली लागेर उनी घाइते भए । खुट्टासहित ३ वटा गोली लाग्यो । सेनाले ढलिसकेको भनेर छोडेपछि जनमुक्ति सेनाका सिपाही आएर थापालाई उद्धार गरेका थिए । ‘त्यो बेलामा अर्को पक्षको गोलीको कुनै प्रवाह हुँदैनथ्यो,’ थापा सम्झन्छन् । उनी त्यस बेलामा केही समय व्यारेकमै बसेपछि लगत्तै लडाँईंमा सामेल भएका थिए ।
‘लडाँईको बेलामा पाइलापिच्छे नै जोखिम थियो । कुन बेलामा कसको गोली लागेर ढलिन्छ भन्ने थाहै हुँदैनथ्यो,’ उनी भन्छन्, ‘आँखै अगाडि कति साथीहरू सहिद हुनुभयो । आफू पनि कति खेर ढल्ने भन्ने हुन्थ्यो । तर, पनि अर्को पक्षको जति क्षति व्यहोर्नुपरेन ।’
छापामार युद्धको बेला अली बढी नै लुकेरै हिड्पर्ने, त्यो पनि रातिको समयमा । लडाँईको बेला जुम्ला जाँदा अत्याधिक हिमपात भएको थियो । कतिपय उनका साथीहरूले हिउँले पुरिएर नै ज्यान गुमाए । जुम्लाको हिमालमा पुतलाको पहाडमा चढेपछि कतिपय सहिदसमेत भए ।
कमान्डर थापाको टोलीले बढीजसो जुम्ला र कालिकोटको सिमानामा हिउँले डुब्ने ठाउँमा नै डिउटी गर्नुप¥यो । बटालियन कमान्डर भइसकेपछि थापाले क्याम्प छोड्न पाइदैनथ्यो । ८०० जनाको कमान्डिङ गर्नुपर्ने भएपछि कमान्डरले खटाएको ठाउँमा तुरुन्तै पुग्नुपथ्र्यो । पछि शान्ति सम्झौता भइसकेपछि पनि थापा केही समय जनमुक्ति सेनामै रहेर काम गरे ।
पछि सेनाबाट बाहिर आइसकेपछि नेकपा माओवादीले उनलाई जिल्ला कमिटी बझाङको जिम्मेवारी दियो । पार्टीको भातृ संगठन वाइसीएलमा थापा बझाङको अध्यक्ष भए । त्यसपछि सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हुँदै वाइसीएल नेपालको केन्द्रीय सचिव भएर काम गरिरहेका छन् । पार्टीको जिम्मेवारीमा भने उनी प्रदेश कमिटी सदस्यको रूपमा कार्यरत छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा दुर्गाथली गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतले पराजित भएका थापा यसपटक भने अध्यक्षमा निर्वाचित भएका छन् ।
****
२०५८ सालमा जालपा मावि देवलमा कक्षा १० मा पढ्ने बेलामै माओवादी जनयुद्धमा होमिएका हुन् रतनबहादुर सिंह । माओवादीमा भूमिगत भएको केही समयमै उनी जनमुक्ति सेनामा भर्ति भए । माओवादीमा भूमिगत भएपछि सिंह जिल्लामा लामो समय बसेनन् । पार्टीले खटाएको हरेक जिम्मेवारी पूरा गर्दै गएपछि उनले २०६१ सालमा बटालियन कमान्डरको जिम्मेवारी पाए । त्यो बीचमा विभिन्न मोर्चाहरुमा रहेर काम गरे ।
सिंहले जनमुक्ति सेनामा काम गर्दा पश्चिम नेपालका अधिकांश जिल्लामा भएको लडाँईमा भाग लिएका थिए । द्वन्द्व कालमा तत्कालिन शाही सेनाहरूसँग जुध्न माओवादीलाई त्यति सजिलो थिएन । माओवादीको तुलनामा सरकारी सेनासँग अत्याधुनिक हतियार पनि थिए । पछि गएर अमेरिकी फर्टिफिकेसन क्याम्पमा केन्द्रीत भएर बसे । द्वन्द्वकालमा भएका ठूला ठूला लडाँई खारा, म्याग्दी, पिली, तौलीहवा, तानसेन, पाल्पा, रम्भापुर, बर्दिया, गोकुलेश्वर, लम्कीजस्ता मोर्चामा सिंह अग्रस्थानमा भएर सामेल भएका थिए ।
लडाँईकै बेलामा कपिलवस्तुको तौलिहवामा सरकारी सेनाको गोलीसमेत लाग्यो । ‘त्यो लडाँईमा हुँदा मर्ने र बाँच्ने केही थिएन,’ उनी सम्झन्छन्, ‘युद्धको समय जुनसुकै बेलामा पनि मर्न सकिन्छ भन्ने समय थियो । अहिले सम्झँदा आफैँलाई के साँच्चै त्यस्तै थियो र भन्ने लाग्छ । त्यो कुरालाई धेरैले नपत्याउने अवस्था छ ।’
सिंहलाई द्वन्द्वकालमा भएका ठूला लडाँईमध्ये रोल्पाको घर्तिगाउँको लडाँई भने स्मरणमा ताजै छ । २०६१ सालमा भएको रोल्पाको घर्तिगाउँमा भएको भीडन्तमा सिंह बटालियन कमान्डर थिए । त्यो भीडन्त सिंहकै कमान्डिङमा थियो । ४० जना माओवादी लडाकुले ५०० जना सरकारी सेनाको फौजलाई दिनभर ब्लक गरेको थियो ।
आफूसँग पर्याप्त हतियार नहुँदा पनि सरकारी सेनाको विशेष टोलीलाई ब्लक गरेकोमा गर्व गर्छन् सिंह । ‘हामीसँग प्रर्याप्त हतियार थिएन, उहाँहरूसँग अत्याधुनिक हतियारको फौज थियो । फौज पनि विशेष तालिम प्रर्याप्त । रुकुम रोल्पाका लागि खटाइएको फौज ।’ घर्तिगाउँको लडाँईका लागि पश्चिमबाट मेची महाकालीबाट माओवादी टोली गएको थियो ।
‘एउटा टोली ब्लकको लागि र अर्को टोली ह्यान्डिङको लागि गएको थियो,’ उनी भन्छन्, ‘मुख्य टोली भएको ठाउँमा सरकारी सेना नगएर हाम्रै टोली भएको ठाउँमा आयो र भीडन्त भयो । त्यो बेलामा कसरी बाँचियो भन्ने कुरा अहिले कल्पना पनि गर्न सकिन्न ।’
सरकारसँग शान्ति सम्झौता भएपछि २०६३ सालमा सिंह जनमुक्ति सेनाबाट बाहिरिए । पार्टीले उनलाई बझाङमा वाइसीएलको अध्यक्षको जिम्मेवारी दियो । प्रदेशको वाइसीएलको संयोजक, प्रदेशको इन्चार्ज हुँदै माओवादीको भातृ संगठन वाइसीएलको केन्द्रीय कमिटी उपाध्यक्ष भएर काम गरिरहेका छन् । कार्यसमितिमा एकपटक बझाङ सह–इन्चार्ज भएर काम गरेका थिए भने अहिले पार्टीको जिल्ला सचिवको रुपमा काम गरिरहेका छन् ।
सिंह गणतन्त्र प्राप्तिका लागि कुनै एनजीओ÷आइएनजीओले दिएको तालिम नभएर महान् क्रान्तिपछिको प्राप्ति भएको बताउँछन् । ‘यो प्राप्तिका लागि हजारौंको बलिदानीबाट आएको हो । त्यसै कारणले अहिले मुलुकमा नयाँ परिवर्तन भएको छ । जनताले आफ्ना अधिकारहरु संविधानमा लेख्न पाएका छन् ।’ उनी भन्छन् ।
****
खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णुबहादुर थापाले २०४८ सालमा राजनीतिक यात्रा सुरू गरेका हुन् । ०४८ सालको निर्वाचनबाट विद्यार्थी संगठन अखिलको सदस्यता लिएका थापाले महेश्वरी मावि गडरायबाट प्राथमिक तहबाटै राजनीति सुरू गरेका थिए । बाजुराको डोगडीस्थित मष्टेश्वरी माविमा अध्ययन गर्दा थापाले अखिलको अध्यक्ष भएर काम गरेका थिए ।
बहुदलपछि नेकपा एमालेले २०५४ सालमा थापालाई गाउँ कमिटी सचिवको जिम्मेवारी दियो । २०५६ सालको निर्वाचनपछि केही समय जिम्मेवारीमा रहेर २०५७ सालको साउनमा मजदुरी गर्न उनी भारत गए । २०५७ सालको भदौमा थापाले माओवादी रोजे । ०५७ सालमा नै उनले नेकपा माओवादीको प्रवास शाखाबाट सदस्यता लिए ।
२०६० साल वैशाखमा नेपालमा सुरु भएको जनयुद्धमा सहभागी भएर जनमुक्ति सेनाको रुपमा जम्बु कश्मिर हुँदै पञ्जाव, दिल्ली भएर नेपालको चितवनको माडी पुगे । चितवनको माडी क्षेत्रमा ३ दिन बसे । तनहुँ, पाल्पा, स्याङ्जा, कपिलवस्तु, रूपन्देही, दाङ, बाँकेको सिमानासम्म र उता व्यास पर्वतदेखि लिएर अर्घाखाँची लगायतका क्षेत्रमा करिब डेढ वर्षसम्म जनमुक्ति सेनामा काम गरेँ ।
द्वन्द्वकालमा भएका सयौँ लडाँईमध्ये विष्णु थापाले बिर्सनै नसकेका ने केही लडाँईंहरू छन् । द्वन्द्वकालमा थापाले गरेको सबैभन्दा पहिलो लडाईं स्याङ्जाको चित्रेभन्ज्याङमा हो । अपराह्न ४ बजेदेखि सुरु भएको बृहत् लडाईंमा माओवादी पक्षले पछाडि हट्नुपरेको थियो । सरकारी सेनाको ५ वटा हेलिकोप्टरले हवाई फायर गरेपछि माओवादी लडाकुहरु भागेका थिए । ३/४ घण्टासम्म चलेको त्यस लडाईमा विद्रोही पक्षका ४ जना र सरकारी पक्षका ९ जना सेनाको क्षति भएको थियो ।
बाँके र बर्दियाको सिमानामा युद्ध सामाग्री लिन गएको बेलामा तराईको बाटो नेपाल भारतको सिमानामा हुँदै गर्दा कपिलवस्तुको गणेशपुरको जंगलमा पुगेपछि थापाको टोलीलाई सेनाको टोलीले चारैतिरको घेरापछि उनीहरु जंगलमै बस्न बाध्य भए । त्यस बेलामा बिना हतियारमा ५० जनाको टोली थियो । करिब १५ दिनसम्म गणेशपुरको जंगलमा बस्नु उनको लागि द्वन्द्वको कठोर समय थियो ।
त्यो बेलामा कहिले खाने कहिले भोकै बस्नुपर्ने अवस्था थियो । ‘पौषको महिनामा आँधी आएर दिनरात अँध्यारो हुने र सालको फेदमा बसेर राति सालको पातबाट आएको पानीले पुरै भिज्ने र ओढ्न एउटै सल, आगो बाल्न पनि नमिल्ने, राति एक डेढ घण्टा डिउटीसमेत बस्नुपर्ने, सुत्न कठिन हुने त्यो घटना नै मेरो जिन्दगीको स्मृतिबाट कहिल्यै नमिटिने घटना हो ।’ उनी सम्झन्छन् ।
द्वन्द्वकालमा सयौँ युद्ध जितेपछि शान्ति वार्ता भयो । त्यसपछि थापा जिल्लामा फर्किए । पार्टीले छान्ना इलाकाको इन्चार्जको जिम्मेवारी दियो । इन्चार्च भएपछि थापाले बैतडी, डोटीलगायतका थुप्रै कार्यक्रममा प्रशिक्षण गराएका थिए ।
२०७५ जेठ २ गते भएको नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए । सर्वोच्च अदालतले पुरानै पार्टीको हैसियतमा बस्न आदेश जारी गरेपछि अहिले नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य तथा खप्तडछान्ना गाउँपालिकाको गाउँ कमिटी अध्यक्षको जिम्मेवारीमा छन् । गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट खप्तडछान्ना गाउँपालिकाको उपाध्यक्ष पदमा अत्याधिक मतले विजयी भएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु