शनिबार, पुस ६, २०८१
  • होमपेज
  • बझाङका स्थानीय सरकार : चुनौती र अवसर !
Breaking News

बझाङका स्थानीय सरकार : चुनौती र अवसर !

लोकतन्त्रको आधार र आम जनजीवनसँग प्रत्यक्ष जोडिएका स्थानीयतहहरू ७५३ पालिका र ६ हजार ७४३ वडामा जनप्रतिनिधि चुनिएर ‘राष्ट्र र जनताप्रति बफादार’ शपथ लिएका छन् । बझाङका पनि छिटपुट अराजक गतिविधिबाहेक निर्वाचन शान्ति पूर्ण नै सम्पन्न भयो । १२ वटै पालिकाका स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि दोस्रो कार्यकालका लागि चुनिएका छन् । सबै जितेका प्रतिनिधिलाई बधाई तथा शुभकामना । यसपटक जित्न नसकेका उम्मेदवारहरूलाई खबरदारी जारी राख्न यो स्तम्भकारको हार्दिक अपिल पनि छ ।

अघिल्लो ५ वर्षे कार्यकाल संघीयता कार्यान्वयन पछिको पहिलो अध्याय थियो र आवश्यक कानुन र अनुभवको अभावमा सोचे कतिपय स्थितिमा अनुरूपको सेवा प्रवाह हुन सकेन होला । तैपनि कोरोना महामारी र बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपमा राहत वितरण, पूर्वाधार विकास व्यवस्थापनमा प्रदेश र संघीय सरकारभन्दा स्थानीय तह अब्बल रहे । केही मानेमा गाउँ गाउँमा सिंहदरबार पुगे । सँग–सँगै गाउँ गाउँमा भ्रष्टाचार पनि पुग्यो भन्ने सुनिन्छ । पहिलो कार्यकालको अनुभवबाट सिकेर यसपटक जनताप्रति अझै उत्तरदायी भई सेवा प्रवाह गरेर देखाउने अवसर छ । विगतका कमी–कमजोरी सुधार्नुपर्ने चुनौती पनि छ अब ।

संविधानको अनुसूची ८ ले तोकेको स्थानीय तहको जिम्मेवारी वहन गर्न र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को सफल कार्यान्वयनका लागि केही कार्यदिशा आवश्यक छन् । बझाङ जस्तो विकट जिल्लाका स्थानीय प्रतिनिधिले शासकीय र व्यवस्थापकीय हिसाबले आर्थिक सुशासन, मौलिक साधन स्रोतको परिचालनमा जोड दिँदै र सामाजिक न्याय निरूपणको लागि दलित, पीडित बालिका एवं महिलाको सेवा सुविधामा पहुँच वृद्धि साथै सीप अभिवृद्धि गर्नु आवश्यक छ ।

एक्काइसौँ शताब्दीको विकसित विश्वलाई बुझेर समाजलाई समय सापेक्ष दिशामा डो¥याउन स्थानीय प्रतिनिधिले आफ्ना अधिकारको प्रयोग गर्दै स्थानीय सरकारलाई अझै सशक्त र सेवामुखी बनाउन केही ठोस नीति निर्माण गरी कार्यान्वयन गर्न जरुरी छ । अब बझाङका स्थानीय प्रतिनिधिले आफ्नो पालिकामा सुशासन र घरदैलोमा सेवा प्रवाह गर्न, शिक्षा, स्वास्थ्यमा सुधारसँगै रोजगारी सिर्जना गर्न एवं सुविधा दिएर जनतालाई सम्पन्न बनाउन निम्नलिखित शीर्षकहरूमा विशेष योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, शिक्षा, स्वास्थ्यः

पालिका तथा वडामा भ्रष्टाचारमा शून्य सहनशीलता । सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन आवश्यक प्रबन्ध । क्षमता अभिवृद्धि रसेवाग्राहीसँग विनयशील र मर्यादित रूपमा प्रस्तुत हुन कर्मचारीहरूलाई आवश्यक तालिम । शिक्षामा पालिकामा भएका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर उत्कृष्ट निजी विद्यालय सरह बनाइन पहल । सीपमुलक र व्यावहारिक शिक्षा प्रणालीको विकास, जैविक कृषिबारे सचेतना । शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षण । विद्यालयहरूमा रचनात्मक सिकाइका साथै नैतिक शिक्षा, खेलकुद, नाटक, गीत–संगीत, देउडा सिकाउन पहल । स्वास्थ्यमा आकस्मिक एम्बुलेन्स सेवाको सुनिश्चितता । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणको लागि घुम्ती शिविरहरू सञ्चालन । किसान, मजदुर, दलित र अन्य सीमान्तकृत वर्गलाई स्वास्थ्य बिमासँग जोडेर निजका छोराछोरीहरूलाई उच्चस्तरीय शिक्षा हासिल गर्न ब्याजमुक्त ऋणको व्यवस्था ।

कृषि, पशुपालन, पर्यटन, तथा घरेलु साना उद्यमः

परम्परागत अन्नबालीबाहेक खसीपालन, कुखुरापालन, हाँसपालन, माछापालन, तरकारी तथा फलफूल खेतीको लागि प्रोत्साहन । पशु स्वास्थ्य तथा कृषि परामर्श सेवा, गाउँपालिकामा उत्पादित वस्तुहरूको उचित मूल्यमा सहज किसिमले बिक्री वितरण गर्न आवश्यक बजारीकरणको व्यवस्था । बाँस, देउलो, निगाला, पुत्रो, बेतको उत्पादनमा वृद्धि गरी विभिन्न सामाग्रीहरूको बजारीकरण तथा नदीले बगाएर ल्याएको काठ प्रयोग गरी छान्नी, तीप, गल्छी निर्माण ।

निजी क्षेत्र, सहकारी र स्थानीय सरकारको सहकार्यमा स्थानीय स्रोत साधनबाट सञ्चालन गर्न सकिने साना उद्योग सञ्चालनको पहल । स्थानीय सरकारको मातहतमा खानी उत्खनन गरी कच्चा पदार्थ निर्यात गरी युवालाई स्वरोजगारको अवसर सिर्जना । तामाखानी, लोहाखानी, ढुंगा, खरी, चुनढुंगाजस्ता सामान बन्ने माटो रहेका स्थानहरूको अध्ययन, अनुसन्धान गरी व्यावसायिक प्रयोगको पहल ।

स्थानीय सरकारले प्रत्येक गाउँपालिकामा गोदाम र कोल्डस्टोर आदिको व्यवस्थापन गरी जनताले उत्पादन गरेको कुनै पनि चिज खेर नजाने गरी खरिदबिक्री गर्ने पहल । हामीले स्थानीय क्षेत्रको आम जनजीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ । उदाहरणको लागि सुर्मा, साइपाल, छविपाथिभेरा, दुर्गाथली, मष्टा, तल्कोट, खप्तडछान्ना गाउँपालिकाका लेकमा पाइने पाँचऔंले, सतुवा, वनस्पती लसुन, जिम्ब्बू, कटुकी, धुबिजडा, धाइयका फूल, बोझोपान, दालचिनी, टिम्मुर, सल्लाको खोटो, भकामिलो, अमला, पाती सिमल लाइनगदी बालीको रूपमा उत्पादन, संकलन, प्रशोधन, बजार व्यवस्थापन गरे आम्दानीको स्रोत बढाउन सकिन्छ । यसैगरी तरकारी तथा फलफूल उत्पादनसम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुप¥यो । वनका फलफूललाई ड्राई फुडको रूपमा धनगढी, काठमाडौं र विदेशसमेत निर्यात गर्न सुकाउने, प्याकिङ गर्ने प्रविधि भित्र्याउनु आवश्यक छ । काफल, मेल, मलया, खनिया, तिमिला, चुत्रा, काली ऐसेलु, घंगारु, गुयलाजस्ता फलफूललाई ड्राइफुडको रूपमा प्रशोधन र बजारीकरण गर्न सकिन्छ ।

खप्तड, साइपाल, सुर्मालगायत स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने गरी पर्यटकीय स्थलहरूको विकास, संरक्षण र प्रवद्र्धन । खप्तडमा राष्ट्रिय फूल लालीगुराँस, प्राइम्यूल्स, बटरकपलगायत ५६७ प्रजातिका फूल (नेपालको कुल पुष्पधारी वृक्षहरूको ११ प्रतिशत), हत्थाजोडी, चिरैतो, भकामिलो, दालचिनीलगायत २२४ पहिचान भएका जडीबुटी र राष्ट्रिय चरा डाँफे, मुनाल, फक्रांस, तित्रा, कालिज, चाखुरो लगायत २७० भन्दा बढी चरा चराचुरुङ्गीको प्राकृतिक वासस्थान छ । खप्तडलाई पर्यावरण पर्यटन र जातीय वनस्पतिशास्त्रको केन्द्र बनाउन सामूहिक पहल आवश्यक छ !

पूर्वाधार विकास, कला संस्कृति र वातावरणको संरक्षण

सबै वडाका सडक बाह्रै महिना सवारी साधन चलाउन मिल्ने गरी स्तरोन्नति । सडक नभएको ठाउँमा कटाउने प्रयास गर्ने । गाउँपालिकाको खेतीयोग्य जमिनको सिचाइको लागि योजना तयार गरी प्रदेश र केन्द्रीय सरकारको सहयोगमा परियोजनाहरू अगाडि बढाउने पहल गर्ने । विद्युत् प्रसारणमा विस्तारमा पहल गर्ने । निम्न आयस्तर भएका परिवारलाई घरेलु प्रयोजनको लागि प्रयोग हुने बिजुली या सोलार निःशुल्क या सहुलियत दरमा उपलब्ध गराउने । जनशक्तिसहित विपद् व्यवस्थापन केन्द्र निर्माण, पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको स्थानान्तरण । तटबन्धन तथा वृक्षारोपण अभियान । खोला, नदी नियन्त्रण विधिको विकास गरी नदीका किनारामा आरसीसी ढलान गरी जमिन कटानबाट बचाई नदीको बहाव सिधा गराउन पहल । कला, संस्कृति सम्वद्र्धनमा गाउँपालिकाको परम्परा र पहिचान झल्कने रामजात्रा, देउडा, चाडपर्व, रीतिरिवाज, परम्पराको संरक्षण र प्रवद्र्धन ।

माडौं, मठमन्दिर, देवालयहरूको संरक्षण ।

बझाङको ठूलो जनसंख्या वैदेशिक रोजगारीकै क्रममा देश बाहिर छन् । मुख्यतः भारतमा । अध्ययनका लागि बाहिरिने युवाहरूको संख्या उत्तिकै बढ्दो छ । विदेश पलायन कुनै पनि स्थानका लागि शुभ संकेत अवश्य होइन यद्यपि स्वदेशमा अवसर सिर्जना गरेर विदेशमा अनुभव–ज्ञान बटुलेका दक्ष जनशक्तिलाई गाउँघर फर्काउन सके स्थानीय विकासका लागि ठूलो पुँजी निर्माण हुनेछ । विदेशमा देखेका सुशासन, विधिको शासन र कार्यशैली देखेर फर्केका युवा नेतृत्व गर्ने सबै अवस्थामा नभए पनि प्रश्न गर्ने र सुझाव दिने स्थानमा भने पुगेका छन् ।

यदि हाम्रो एक तिहाइ अर्थतन्त्र विदेशबाट विप्रेसित पुँजीबाट चल्छ भने अब हामीले यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवद्र्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नैपर्छ । परदेशमा भएका धेरै युवाहरू नेपालमै केही तालिम केन्द्र, उद्योग–व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन् । यदि आफ्नो ठाउँमा आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाए शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुन सक्छ । परदेशिएका युवाले विदेशमा कमाएको पुँजीलाई आ–आफ्नै गाउँ ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत दिएर लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ । यसो गरे साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ ।

आउनुहोस्, सुन्तला, कागती, स्याउका बीउ बाँडौँ । हुन त यी बीउ लगाउने सर्वोत्तम समय ५ वर्षअघि थियो । तर, दोस्रो उत्तम समय अहिले हो । आज बीउ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ । आज हामीले आफ्नो ठाउँमा उद्यम गरी स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन सक्यौँ भने भोलि हाम्रा नयाँ पुस्ताले आफ्नो ठाउँ छोडेर विदेसिनुपर्ने बाध्यता कम हुनेछ । देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार