सोमवार, पुस ८, २०८१
  • होमपेज
  • ‘राजनीतिमा आस्था र निष्ठासँगै धैर्यता पनि चाहिन्छ’
Breaking News

‘राजनीतिमा आस्था र निष्ठासँगै धैर्यता पनि चाहिन्छ’

काठमाडौं । ‘प्रलोभनमा परेर आस्थाको राजनीति मास्नु हुँदैन, निष्ठाको राजनीति स्थापित गर्नुपर्छ’ भन्दै सभा तथा मञ्चहरूमा कुर्लने एक किशोर अहिले जीवनको उत्तरार्द्धमा प्रवेश गरिसकेको छ । बुढ्यौलीसँगै तेजिलो आवाज पनि विस्तारै पातलिँदै गएको छ । सरल तथा इमानदार स्वभाव जस्ताको त्यस्तै छ । तर, पार्टीको सिद्धान्त र पार्टीका प्रेणतालाई भने कहिल्यै बिर्सेको छैन । चेतराज बजाल ।

बजालले निष्ठाको राजनीति क्षयीकरण हुन दिनु हुँदैन भन्दै राजनीतिमा प्रवेश गरेको चार दशक नाघ्यो । किशोरावस्थामै नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी) को विचारबाटै प्रभावित भएर राजनीतिमा प्रवेश गरेका बजाल मुलुकमा जस्तोसुकै क्रान्ति आए पनि सिद्धान्त, विचारबाट कहिल्यै डगमगाएनन् । परिवारभन्दा प्यारो पार्टी, आफन्तभन्दा प्यारा मतदाता, अभिभावकभन्दा प्यारा नेता मानेर उनले ४३ वर्षदेखि पार्टीमै योगदान गरिरहेका छन् ।

१८ वर्षको उमेरमै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा प्रवेश गरेका बजालले २०३६ सालमा कञ्चनपुरमा नेविसंघको सदस्यता लिएका थिए । कञ्चनपुरमा अध्ययनकै बखत कमिटीले उनलाई २०३७ सालमा नेविसंघको जिल्ला कार्यसमितिको जिम्मेवारी दियो । सदस्यमा काम गरेको २ वर्ष नपुग्दै २०३९ सालमा पार्टीले विश्वास गरेर नेविसंघ कञ्चनपुरको सभापतिको जिम्मेवारी दियो ।

*****

बीपीलाई २०३३ सालमा नेपाल प्रवेशलगत्तै तत्कालिन सरकारले गिरप्तार गरेपछि नेविसंघको आन्दोलनले मुर्तरूप लियो । त्यस बेलामा देशव्यापी रूपमा सरकार निकटका व्यक्तिले बीपीलाई फाँसीको माग गरे । पञ्चायतको गाउँ अभियानमा बीपीलाई फाँसी दिनुपर्छ भन्दै देशव्यापी रुपमा अभियान नै चलेको थियो । यता नेविसंघले पनि बीपीको न्याय र रिहाइको लागि देशव्यापी रूपमा हड्ताल सुरू गर्‍यो ।

नेविसंघको विद्रोहकै बेला पाकिस्तान पिपल्स पार्टी (पीपीपी) पाकिस्तानका संस्थापक नेता, त्यहाँका नवौं प्रधानमन्त्री तथा चौथो राष्ट्रपति जुल्फिकार अली भुट्टोलाई सेनापति जिया-उल-हकले सैनिक विद्रोह गरी पदबाट हटाउँदै पाकिस्तानको सर्वोच्च अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाए । जुल्फिकारको मृत्युदण्डले बीपीलाई पनि जुल्फिकारको जस्तै हुन सक्ने भन्दै नेविसंघको आन्दोलन झनै चर्कियो । त्यस बेला पनि बजाल नेविसंघले गरेको आन्दोलनको अग्रपंतिमा थिए । कञ्चनपुरलगायतका केही क्याम्पसहरूमा बजालसहितका विद्यार्थी नेताहरूले हड्ताल गरे ।

बीपीको रिहाइका लागि नेविसंघले गरेको देशव्यापी हड्तालको नेतृत्व तत्कालिन नेविसंघका कार्यबाहक सभापति बलबहादुर केसीले गरेका थिए । नेविसंघको लामो आन्दोलनपछि २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा भयो । जनमतको घोषणासँगै नेपाली कांग्रेसले विभिन्न भातृ संगठनहरु गठन गर्‍यो र बहुदलको प्रचारप्रसारमा जुट्यो ।

२०४० सालमा बहुदलका लागि नेपाली कांग्रेसले देशव्यापी रुपमा सत्याग्रह सुरू गरेको थियो । त्यस बेलामा बजाललगायतका विद्यार्थी नेताहरू सत्याग्रह सफल पार्न सक्रिय रुपमा लागेका थिए । तर, पूर्वघोषित अहिंसात्मक आन्दोलन भएकाले सत्याग्रह बसेकै बेला जनवादी मोर्चाले बम काण्ड गरेपछि सत्याग्रह स्थगित भएको थियो ।

बहुदलका प्राप्तिका लागि विभिन्न राजनीतिक दल मिलेर गरेको २०४६ सालको जनआन्दोलन हुँदा बजाल नेपाली कांग्रेस जिल्ला कार्य समितिको सदस्य भइसकेका थिए । २०४८ सालमा महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य, २०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएर काम गर्ने अवसर पाए ।

२०५९ सालमा नेपाली कांग्रेस विभाजित हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिक बझाङको सभापति भएर काम गरे । त्यस यता बजाल निरन्तर नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएर काम गरिरहेका छन् । पार्टीमा लाग्दा दर्जनौं पटक प्रहरी प्रशासनको चिसो सिँढीमा कयौं रात बिताएका बजाललाई १० वर्षे जनआन्दोलनमा त तत्कालिन विद्रोहीको तगारो बनेका थिए । त्यस बेलामा विद्रोही माओवादीले नेपाली कांग्रेसका नेता तथा समर्थकलाई समेत खोजी-खोजी दण्डित गरिरहेको थियो । नेता बजाल त्यस बेलामा ‘खुकुरीको धारमाथिको जिन्दगी’ मा बाँचिरहेका थिए । तर पनि उनले पार्टीका काम तथा संगठन बिस्तारमा सधैं लागि परे ।

द्वन्द्वकालमा समेत हार नखाएका बजाल अहिले त कांग्रेस भएकोमा गर्व गर्छन् । ‘बीपीको कार्यकर्ता हुन पाउनु त मेरो लागि गौरवको कुरा हो,’ उनी भन्छन्, ‘मैले पार्टीकै कारण सबै त्यागे । हरेक पेशा गरेर पनि सम्पति आर्जन गर्न सक्थे । तर, त्यो सबै मेरो लागि गौण भयो । राजनीति, नेपाली कांग्रेस नै मेरो लागि प्रधान भएको महशुस गरे ।’ पार्टीलाई नै जीवन अर्पण गरेकोले मरेपछि पनि कांग्रेसको चार तारे झण्डा ओढेरै मर्न पाइयोस् भन्ने चाहाना रहेको उनी सुनाउँछन् ।

६१ वर्षको उमेरमा नगरप्रमुख

चेतराज बजाल गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका बजाल नेकपा एमालेका उम्मेदवार सुरतबहादुर सिंहलाई पछि पार्दै निर्वाचित भएका हुन् । अघिल्लो पटक यसै नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएको बेलामा झिनो मतान्तरले पराजित भएका थिए ।

नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका नेता कार्यकर्तालाई असहयोग गरेको भन्दै धमाधम कारबाही पक्रिया सुरू गरेको बेला बजाललाई पनि निर्वाचनमा असहयोग गर्नेको नाम सार्वजनिक गर्न पार्टीले आग्रह गरेको थियो । तर, बजालले आफ्नै कमजोरीका कारण पराजित भएको भन्ने जवाफ दिएपछि धेरैले बजाललाई ‘असल राजनीतिज्ञ’को रूपमा चित्रण गरेका थिए । उनले सम्पूर्ण जिम्मेवारी आफैँले लिएका थिए । पार्टीमा उजुरी नगरेकै कारण निर्वाचनमा अन्तर्घात गर्ने नेताहरू कारबाहीबाट जोगिएका थिए ।

कुनै पेसामा आवद्ध नभएरै राजनीतिमा पुरै समय बिताउने सोचका साथ राजनीतिमा होमिएका बजालले भनेजस्तै अन्य पेसामा आवद्ध भएनन् । राजनीति आफ्नो मेरुदण्ड भएको उनी प्रतिक्रिया दिइरहन्छन् ।

राजनीतिमा धैर्यता अनिवार्य

अहिले पार्टीमा छोटो समय काम गरेर निर्वाचनको टिकटका लागि हानाथाप चलिरहेको बेला बजाल भने धैर्यता हुनुपर्ने सुझाव दिन्छन् । छोटो समय आवद्ध हुने र टिकट नपाए बागी (स्वतन्त्र) उम्मेदवारी दिने प्रवृतिले पार्टीलाई मात्रै नभई व्यक्तिलाई समेत हानी हुने उनको बुझाई छ ।
सबै पेशामा सबैभन्दा ठूलो संयमता, धैर्यता र लगनशीलता अति आवश्यकता हुन्छ ।

राजनीति कसैले पद र प्रतिष्ठाको लागि गरेको हुन्छ त कसैले आस्था र निष्ठाको लागि । निष्ठाको राजनीति गर्नेलाई कुनै पद नै चाहिन्छ भन्ने हुँदैन । प्रतिष्ठाका लागि राजनीति गर्नेले भने वास्तविक राजनीति न बुझेका हुन्छन् नत अपनाएका नै । उनलाई राजनीति सेवाभन्दा पेशा लाग्नु स्वभाविक भएको उनी बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार