काठमाडौं । मधेसमा एउटा उखान छ, जसको लौरो उसकै भैँसी ! आउनुहोस् केही ऐतिहासिक अटेरी लौराहरूको चर्चा गरौँ । जसले ४ जात ३६ वर्णको साझा फूलबारीमा मत्ता भई चरेर समृद्धिका बीउ खाएर गरिब किसानलाई सधैँ मर्का पार्ने विभिन्न जन्तुहरूलाई धपाउन या नियन्त्रणमा लिन सफल भए ।
शुक्रराज जोशीको लौरो, दशरथ चन्द ठाकुरको अटेरी लौरोले जहानियाँ राणा शासन विरुद्ध अटेरी गरे । त्यो लौरो खुकुरी र तरबारविरुद्ध लड्यो । यी अगुवाहरूको लौरो अत्याचार विरुद्ध खम्बाझैँ अडिग रह्यो । व्यवस्था हल्का बदलियो । जनताको खेतबारीमा सरु (अन्न) खाने राँगोलाई यो लौरोले धपाएर प्रजातन्त्रको गोठमा बाँधेर राख्न सफल भयो । तर, एउटा राँगो बल्ल नियन्त्रण गरेको केही समयभित्रै अर्को जहानियाँ राज शाही शासनको मत्ता हात्ती मैमत्त भएर डुल्न थाल्यो । त्यो मत्ता हात्तीको सामन्ति संरक्षणमा अरू छावाहरूको मण्डल नै खडा भयो जसले एकात्मक राज्य लादेर दसकौँ स्वतन्त्रता र समृद्धिका रंगी विरंगी फूल फक्रिन दिएन ।
गणेशमानको अटेरी लौरो, कृष्ण प्रसादको अटेरी लौरो अनि मनमोहनको अटेरी लौरोले निरंकुश तानाशाहीविरुद्ध अडिग रही रैतीलाई प्रजासम्म बनायो । व्यवस्था आधा मात्रै बदलियो किनकि वास्तविक लौरो (राजदण्ड) र बन्दुक (सेना) राजाको हातमा थियो । व्यवस्था अल्लि फराकिलो हुँदै थियो । तर, सीमान्तकृत वर्ग, महिला इत्यादिमाथि दमन र विभेद कायम नै रह्यो । यसै बीच सब रूढिवादी पुरातन सोचको प्रतीक राजतन्त्रको हात्ती फेरि अनियन्त्रित भयो । यो हात्तीका माउतेहरूसँग पनि लौरो र बन्दुक थिए ।
सबै जनता सहरमा लौरो (रुखको हाँगा), कलम लिएर र जंगलमा हँसिया-हतौडा, बन्दुक लिएर बल्ल बल्ल यो मत्ता हात्ती नियन्त्रण गरे । २४० वर्षपछि जनता रैतीहरू प्रजा हुँदै सार्वभौम नागरिक बने । तर, दुर्भाग्य नेपालीको कि जनताको दूध खाएर विष वमन गर्ने सर्प मरेझैँ भयो । विभेदको वैचारिक विष छद्म भेषमा बाँकी नै रह्यो । क्रान्तिको लौरो अल्लि कमजोर भयो कि यो पुरातन सोचको सर्प फेरी प्रतिगामी फणी उठाई हाल्छ । अब यो जडसुत्रवादी पुरातन सोचको हरेली सर्प यो साझा फूलबारीको घाँसमा यसरी लुकेर बसेको छ कि चिन्न नै मुस्किल छ । घाँस भनेर हातले समाए डस्न सक्छ ।
त्यसैले यी दिग्भ्रमित हातले अब लौरो समाऔँ । टाढैबाट लौरो चलाई घाँस र सर्प छुट्टाऔँ । अटेरी बनौँ, विवेकको लौरो समाऔँ ।
फेसबुक प्रतिक्रियाहरु