शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • घाम-घडी पालाका ‘पोखरेली तारा’
Breaking News

घाम-घडी पालाका ‘पोखरेली तारा’

काठमाडौं । अहिलेको पुस्तालाई सूर्यको छायाँको सहयोगमा बनाएको घडीले घर गृहस्थी चलाइन्थ्यो भन्दा दन्त्यकथा जस्तै लाग्छ । यहीँ छ त्यो पुस्ता, जसले सूर्यको छायाले बिहानी, दिउँसो घडीपला यकिन गरी दिनचर्या चलाउँथ्यो ।

धेरै पहिलेको समय पनि होइन । करिबन ६ दशक अगाडिको समय । त्यो बेलामा नेपालमा पनि चरणवद्ध जस्तै शताब्दीहरू देखिएका थिए । राजधानी काठमाडौं २०औं शताब्दीमा प्रवेश गरिसकेको थियो भने अहिलेको प्रमुख पर्यटकीय सहर पोखरा त्यो बेलामा १८औं शताब्दीमा पनि पुगेको थिएन । त्यसै बखतका प्रत्यक्ष साक्षी हुन् पोखराका तारा सिग्देल ।

सामान्य निम्नमध्यम किसानपरिवारमा जन्मिएका सिग्देल घाम घडीको आधार बनाएर दैनिकी चलाएको हिजो जस्तै लाग्छ । त्यस बखतमा पोखरा एक गाउँ जस्तै थियो । गाउँमा टभीको त कुरै भएन रेडियो र घडी जो कोहीसँग हुँदैनथ्यो । लाहुरे, जागिरे र सेठसंगमात्रै रेडियो र घडी हुन्थ्यो । रेडियो भित्र मान्छे बोलेको र घडीको सुइ प्याट्ट प्याट्ट गरेको अचम्म मानेर हेर्थे । घाममा उभिएर आफ्नै छायाको लम्बाई नापेर समयको अन्दाज गरिकन स्कूल जाने गरेको कुरा गर्दै सिग्देल आफ्नो बाल्यकाल सम्झन्छन् ।

सामान्य समय निक्र्यौल गर्ने घडीसमेत नहुने ठाउँमा अरू विकासका पूर्वाधारहरू हुने त कुरै भएन । सिग्देल भद्रकाली निम्न माध्यमिक विद्यालयमा ५ कक्षा पढ्दासम्म पनि कागजे घडीको प्रयोगले नै दिनचर्या चल्थ्यो । २०२७/२८ सालतिर पोखरामा स्थानीय लघु जलविद्युत उत्पादनको सुरु भए पनि पोखरामै उनीहरुको बिजुलीसम्म पहुँच धेरै पछिसम्म थिएन । माध्यमिक तहपछि प्रवेश गर्ने बेलामा मात्रै आक्कल झुक्कल बिजुलीको प्रयोग गरेको सिग्देल सम्झन्छन् ।

चामल बेचेर पढाइ खर्च

गाउँमा सिग्देलको परिवार सामान्य परिवारमै गनिन्थ्यो । सन्तान हुर्काउने अन्य आधार उनको परिवारमा थिएन । प्रशस्तै लेखोपाखो जमिन भएको परिवार पनि होइन उनको । खानलाई बेसाहा (खाद्यान्न किन्नु) गर्नु नपर्ने । ग्रामीण क्षेत्रमा त्यस बखतमा विद्यालयमा धेरै जना विद्यार्थी पुग्नै मुस्किल हुन्थ्यो । पोखरामा भने सहर क्षेत्र भएको हुँदा शिक्षा क्षेत्रमा चहलपहल बढिसकेको थियो । सिग्देलका दाजुभाइहरू विश्व, निलकण्ठ र कमल पनि स्थानीय विद्यालय अध्ययन गर्न थाले ।

दुर्गा प्रसादका सन्तानहरू विद्यालयमा लागेपछि परिवारले खेतीपाती थपे । परिश्रमको गति बढाए । त्यसै खेतबाट उब्जेको अन्नले परिवार पाल्ने र बचत भएको अन्न बेच्न थाले । त्यही नै सिग्देल परिवारको जीवन धान्ने पेसा थियो । त्यहीबाट अन्न बेचेको पैसा नै सिग्देल भाइहरूको पढाई खर्चको स्रोत बन्यो । अन्न बेचेकै पैसाबाट उनीहरूले स्थानीय भद्रकाली प्राथमिक विद्यालयमा ७ कक्षासम्म अध्ययन गरे ।

सिग्देल परिवार २०४९ पोखरा । तस्बिर सिग्देलको एल्बमबाट

२०२२ सालमा जन्मिएका घामघडी पालाका पोखरेली तारा अहिले पश्चिम क्षेत्रकै ‘अँध्यारोमा बलेको दियो’ जस्तै चम्किला छन् । संसारकै केन्द्र मानिएको अमेरिकाको प्रतिष्ठित क्यालिफोर्निया विश्वविद्यालय सानफ्रान्सिस्को मा प्राध्यापन गरिरहेका छन् ।

७ कक्षा सम्मको पढाई गरेका बा र ३/४ कक्षा सम्मको पढाई गरेकी आमाका छोरातारा सिग्देललाई पढ्ने तिर्खा कहिल्यै मेटिएन । अधिकांश सहपाठी हरुले १० पास नहुँदै पढाई छोडे । कतिले एसएलसी त कतिले स्नातकमै छाडे । तारा भने ६ दशक पुग्नै लाग्दा पनि किशोरावस्थाकै जस्तो जाँगरिलो अध्ययन अनुसन्धानमा रमाइरहेका छन् । भद्रकाली निम्न माध्यमिक विद्यालयमामा ७ कक्षा सकेपछि २०३४ सालतिर अमरसिंह माविमा भर्ना भए । उनले त्यही अमर सिंहमाविबाट एसएलसी पास गरे । अहिले अमरसिंह मावि अमरसिंह उच्च मावि भइसकेको छ ।

एसएलसी पासपछि उनी आइएस्सी पढ्न पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । डाक्टर पढ्ने सपना पालेर आइएस्सी पढे पनि उनको त्यो सपना पूरा हुन सकेन । आइएस्सी सकेपछि पोखराका विभिन्न स्कूलहरुमा अध्यापन गरे । त्यसपछि कमाउने पढ्ने क्रम चलिरह्यो । आइएस्सी सकेपछि सुरु गरेको अध्यापनबाट बचत गरेको पैसाले विज्ञान विषयमा स्नातकसमेत उत्तीर्ण गरे । बीएस्सी सकेपछि आफैंले पढेको स्कूल भद्रकालीमा १ वर्ष विज्ञान र गणितको अध्यापन गरे । बीएस्सीको पढाईपछि एमएस्सीका लागि काठमाडौं गएर पढ्नुपर्ने भयो । नेपालमा बहुदलको लागि २०४६/४७ को आन्दोलनमा भाग लिएका तारा बहुदल आएलगत्तै एमएस्सी पढ्न काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र (केमेस्ट्री) विषयमा स्नातकोत्तर गरे ।

स्नातकोत्तर सकेपछि केहि समय त्रिचन्द्र कलेजमा केमिस्ट्री पढाएपछि प्रतिस्पर्धाबाट मुलुकै प्रतिष्ठित विद्यालय बुढानीलकण्ठमा शिक्षक बने । बुढानीलकण्ठमा ५ वर्षसम्म अध्यापन गरे । त्यो ५ वर्षको समय राम्रै बिते पनि उनलाई पढाइ सकियो तर निरन्तरता पाएन भन्ने पिरलो हुन थाल्यो । एमएस्सी गर्दा पोखराको धानखेतमा सेतीनदीको नहरबाट सृजित नकारात्मक प्रभावको बारेमा अनुसन्धान गरेका उनीलाईस्नातकोत्तर सकेपछि अनुसन्धानलाई जारि राख्दै विद्यावारिधि गर्ने इच्छा जाग्यो ।

विदेश नजाने सोच बनाएका सिग्देललाई अनुसन्धान र विद्यावारिधिको हुटहुटीले छोडेन । त्यसपछि विद्यावारिधि गर्ने र नेपाल फर्किने सोच बनाएका सिग्देल विश्वका विभिन्न कलेजहरूमा आवेदन दिन थाले । ३ महिनाको लागि जर्मनीको एक विश्वबिद्धालयमा अनुसन्धान तालिम गरेपछि, अमेरिकाको ओहायो राज्यको मायामी युनिभर्सिटीले उनको विद्यावारिधिको आवेदन स्वीकृत गर्‍यो ।

बुढानिलकण्ठ स्कूलको प्रवेश परीक्षा लिँदै सिग्देल-२०५६ इटहरी । तस्बिर सिग्देलको एल्बमबाट

विद्यावारिधिकै लागि उनी सन् २००० मा अमेरिका उडे । मायामीमा बायो-केमेस्ट्री विषयमा २००५ मा पीएचडी गरे । पीएचडी सकेर नेपाल फर्कने सोच भए पनि अमेरिकाको अत्याधुनिक अनुसन्धानमैत्री वातावरणले फेरि अनुसन्धानमै डोर्या यो। विद्यावारिधिपछि ६ वर्ष विश्व प्रसिद्ध स्टानफोर्ड विश्वविद्यालयमा वैज्ञानिकको रूपमा अनुसन्धान गरे । उक्त समयमा उनले संसारकै प्रसिद्ध र नोबेल प्राइज बिजेता वैज्ञानिकहरुसँग अंग प्रत्यारोपणमा अनुसन्धान गरे ।

अहिले उनी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको शल्यक्रिया विभागमा प्राध्यापन तथा अनुसन्धान गरिरहेका छन् । पछिल्लो समय प्रा. डा. सिग्देलको अनुसन्धान अंग प्रत्यारोपणसम्बन्धी छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपण । प्रत्यारोपण गरेको मिर्गौलाको आयु कसरी बढाउन सकिन्छ भन्ने बारेमा पछिल्लो केही वर्ष यता अनुसन्धान गरिरहेका छन् । अहिलेसम्मको उनको अनुसन्धानमा प्रत्यारोपण गरेको मिर्गौला औसत आयु ६ देखि ८ वर्षसम्म मात्रै टिक्ने गरेको छ । मिर्गौलाको आयु कसरी लम्ब्याउने भन्दै अनुसन्धान गरिरहेको उनले सुनाए ।

नेपाली राजनीतिप्रति वितृष्णा

नेपालको राजनीति स्थिर नहुँदा उत्पादित दक्ष जनशक्ति खेर जानु र पलायन हुनु स्वाभाविक नै भएको सिग्देलको बुझाई छ । उनले नेपालमा परिवर्तन नामका दुई दृश्यले स्वाभिमानी नेपालीलाई वितृष्णा बढाउने गरेको बताए । उनको नजरमा पहिलो दृश्य आफ्नै आँखा अगाडि भएको घटना सम्झन्छन् । लामो आन्दोलनको बहुदलपछि उनी बुढानीलकण्ठमा पढाइरहेका थिए । त्यसै बीचमा उनले भारतको राजधानी दिल्ली भ्रमण गर्ने अवसर पाए । दिल्लीमा उनी पर्यटक भएर भ्रमणमा गएका थिए । एउटा होटेलमा उनको बसाई थियो । त्यसै होटेलमा खाना खाइरहेको बेला एक १५/१६ वर्षकै नेपाली किशोर भाँडा माझिरहेको थियो ।

सिग्देललाई त्यो दृश्य धेरै नै नरमाइलो लाग्यो । एउटै मुलुकका नागरिक एक जना पर्यटक र एक जना बालश्रमिक हुनुपरेको भन्दै दुःखी तुल्यायो । उनलाई लाग्यो कि देशमा यति ठूलो परिवर्तन भएर पनि बालश्रमिक बन्नुपर्ने ? त्यो पनि अरूको मुलुकमा ? नेतृत्व फेरिए पनि जनतातहमा कुनै तन्त्रले पनि आफ्नो भूमिका खेलेन भन्दै नतमस्तक भए उनी । मुलुक बन्ने बाटो सिधा भए पनि चालकले घुमाइरहेको जस्तो उनलाई अनुभूति भयो ।

दोस्रो घटना गत वर्ष उनी नेपाल आएकै बेला आँखै अगाडि देखियो । बहुदलपछि दिल्लीको श्रमिक किशोर र गणतन्त्रपछि विमानस्थलको दृश्यले उनको मन छिया छिया भयो । करिब साढे दुई दशकको अन्तरमा पनि मुलुकको अवस्था जहाँको त्यहीँ रहेको देख्दा मुलुकको अनुहार देखेर प्रताडिए ।

‘त्यो दृश्यले स्वाभिमानी नेपालीको मुटुको गति नबढ्ने कुरै थिएन । तर, सत्तामा बस्नेहरू अँध्यारो चस्माको शीतलतामै डुबेका थिए ।’ उनी सम्झन्छन् । विमानस्थलमा खाडी मुलुकमा श्रम गर्न जाने नेपालीको घुइँचोले उनलाई लाग्छ ‘नेता बदलिए, मुलुक फेरिएन ।’

नेपालको बौद्धिक सर्कल, दक्ष जनशक्तिले विश्वका धेरै मुलुकलाई उचाइमा पुर्‍याइरहेको छ । तर, नेपालले अवसर प्रदान नगर्दा आफैं अविकसित मुलुकको सूचीभन्दा माथि उठ्नै सकेको छैन । संसारलाई सुझाव सल्लाह दिने ठाउँमा पुगेका नेपाली मूलका वैज्ञानिकहरू नेपालको नजरमा झिनो लाग्छन् । विश्वभर फैलिएको कोरोना भाइरसकै कुरा गर्ने हो भने पनि संसारलाई सुझाव सल्लाह दिने वैज्ञानिक सिग्देलहरूको सुझाव नेपाललाई पचेन । नेपाली असक्षम नेतृत्वमा अह्मता धेरै नै भएको उनको बुझाई छ ।

नेपाली भएको हुँदा उनलाई नेपाल बन्नुपर्छ भन्ने लाग्छ । ‘हामी जो जहाँ भए पनि, भौतिक शरीर टाढा भए पनि मन आफ्नै गाउँ ठाउँमा हुन्छ । आफ्नै मुलुकमा हुन्छ ।’ वैज्ञानिक सिग्देल भन्छन् ।

मुलुक बनाउन विद्यालय सुधार्नुपर्छ

प्रा. डा. सिग्देलका अनुसार मुलुकलाई माथि उठाउन शिक्षा प्रणाली तथा विद्यालयहरू सुधार्नुपर्छ । ‘अहिलेको शिक्षा इतिहासका पाठहरू मात्रै सुनाउने कर्मकाण्डी शिक्षा छ,’ सिग्देल भन्छन्, ‘यस्तो शिक्षाले भोलि खाडीमा पुर्‍याउनेबाहेक केही गर्दैन ।’

नेपालको शिक्षा प्रणाली बदल्ने हो भने व्यवहारिक, सीपमुलक शिक्षा प्रणालीको बनाउनुपर्छ । विद्यार्थीहरू आफैं कसरी उद्यमी बन्न सक्छन् ? विज्ञानका कुराहरू कागजको खोस्टोमा पढाएर कसरी वैज्ञानिक बन्छन् ? उनी प्रश्न गर्छन् । नेपालमा पनि मदन राई, नारायण सिग्देलजस्ता शिक्षकले बनाएका विद्यालयको अरूले पनि सिको गर्नुपर्ने उनी सुझाव दिन्छन् ।

स्कुल शिक्षामा समय सापेक्ष सुधारका कुरा गर्दा ग्रामीण भेगका विद्यालयहरूमा विद्युतीय रूपमा पाठ्यसामग्रीको उपलब्धता बढाउन प्रोजेक्टर कम्प्युटरजस्ता उपकरणहरूका साथै इन्टरनेट पुर्यााउनु आजको आवश्यकता हो भन्ने डा. सिग्देलको बुझाई छ।

गैर-आवासीय नेपाली संघ अमेरिकाअन्तर्गत साइ-टेक इनोभेसन एन्ड नलेज ट्रान्स्फर कमिटीका अदक्षको रूपमा डा. तारा सिग्देलले गण्डकी प्रदेशसँग सहकार्य गरी यस्ता उपकरण गाउँका विद्यालयहरूमा स्थापित गर्न पहल गरिरहेका छन् ।

नेपाल केन्द्रित संस्थाहरूमा डा. सिग्देलको योगदान

डा. तारा सिग्देल आफूलाई नेपालबाट सल्लाह र प्राविधिक सहयोगका लागि धेरै अनुरोध आउने गरेको र यसलाई अझैँ प्रभावकारी बनाउन नेपाली मूलका वैज्ञानिकहरूको सञ्जालको आवश्यकता भएको औँल्याउँछन् ।

आमा बुवाका साथमा सिग्देल – २०६९ अमेरिका

विदेशबाट आर्जन गरेको सीप र ज्ञानले आफ्नो जन्मेको भूमिलाई सहयोग गर्न नेपालका केन्द्रीय तथा प्रादेशिक सरकारहरूसँगको सहकार्यमा नेपालका विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसम्म पुर्‍याउन डा. सिग्देलले व्यक्तिगत र संगठनिक प्रयासहरू गर्दै आएका छन् । यस्तै विचार राख्ने नेपाल फर्किन चाहने र फर्किसकेका साथीहरू मिलेर नेपालमा के-के गर्न सकिन्छ भन्ने विषयमा विचार/विमर्ष र सहकार्य गर्न केही वर्ष अघि ‘नेपाल फर्कौँ महाअभियान’ सुरु भएको थियो ।

डा. तारा सिग्देल आफैँ नेपाल फर्कौँ महाअभियानका अभियन्ता पनि हुन् । डा. सिग्देलको सक्रियतामा नेपाल फर्कौँ महाअभियानले नियमित भेटघाट र छलफल गरी देश विदेशमा बस्ने नेपालीको प्राविधिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालकै लागि सदुपयोग गरी नेपालका युवालाई उच्च-शिक्षा र सीप प्रदान गर्न, साधन/स्रोत जुटाउन र प्रशिक्षण दिन निरी (Nexus Institute for Research and Innovation, NIRI) नामक संस्थाको स्थापना गरेको छ ।

डा. सिग्देल संस्थापक सदस्य हुनुका साथै हाल निरीका प्राकृतिक तथा व्यवहारिक विज्ञान शाखाका निर्देशक पनि हुन् । निरी अनुसन्धानका विभिन्न विधामा अघि बढ्दै छ । अबको समय भनेको सञ्चार र सहकार्यको समय हो र सबैले अहिलेको समयको माग बुझेर कार्य गरेमा, नेपालमै बस्ने होस् वा नेपाल बाहिर बसेर होस् देशको लागि सकारात्मक योगदान गर्न सकिन्छ र यहि आफ्नो सपना र लक्ष्य रहेको कुरा उनले सुनाए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार