आइतवार, पुस ७, २०८१
  • होमपेज
  • निर्वाचन आयोगद्वारा अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिने  
Breaking News

निर्वाचन आयोगद्वारा अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिने  

 

निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको छ । आज शुक्रवार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले केही दलले समयअनुसार खर्च सीमा बढाउनुपर्ने बताएका भए पनि धेरैजसोले खर्च सीमामा सहमति जनाएका बताए । निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदका उमेदवारले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउँछन् ।
यस्तै उपमहानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले साढे पाँच लाख र नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवार बनेकाले चार लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् ।
यस्तै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले बढीमा तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । वडाध्यक्ष तथा सदस्यका उम्मेदवारमध्ये महानगरतर्फ तीन लाख ५० हजार, उपमहानगरपालिकातर्फ दुई लाख ५० हजार, नगरपालिकामा दुई लाख र गाउँपालिकामा एक लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउनेछन् । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र कम खर्चलो बनाइ लोकतन्त्रको सुदृढीकरण गर्न आयोगको महत्त्वपूर्ण भूमिका रहने भन्दै दलका प्रतिनिधिले अनुगमन र नियमनलाई चुस्त बनाउनुपर्ने बताए । छलफलमा आयोगले चुनावको तयारीबारे गरेका कामहरू राजनीतिक दलका प्रतिनिधिहरूलाई सुनाएको र निर्वाचन आचारसंहिता लगायतको विषयमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउए । उनले स्थानीय तहको चुनावका लागि आयोगले ६ हजार सात सय ४३ प्रकारका मतपत्रको नमुना तयार गरेको बताए । समय अभावका कारण उम्मेदवारको पूर्वअनुमान गरी मतपत्र व्यवस्थापन गर्न लागिएको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय दलको मान्यता प्राप्त नभएका दलले उठाउँदै आएको निर्वाचन चिह्नसम्बन्धी माग र समस्याको निकास दिन आयोगले प्रयास गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार