२०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । उनी नेपाल आएपछि केही समयमै उथलपुथल हुने घोषणासमेत गरे । नेपाल प्रवेशलगत्तै उनलाई सरकारले गिरप्तार गर्यो र बन्दी बनायो । देशव्यापी रुपमा सरकार निकटका व्यक्तिले बीपीलाई फाँसीको माग गरे । उनलीहरुले ‘बीपीलाई फाँसी दिनुपर्छ’ भन्दै देशव्यापी रुपमा अभियान नै चलाएका थिए ।
यता नेपाल विद्यार्थी संघले बीपीको न्याय र रिहाइका लागि क्याम्पसहरुमा विद्रोह सुरु गर्यो । देशभरका क्याम्पसहरुमा हड्ताल भयो । नेपालमा नेविसंघको विद्रोहकै बेला पाकिस्तान पिपल्स पार्टी (पीपीपी) पाकिस्तानका संस्थापक नेता, त्यहाँका नवौं प्रधानमन्त्री तथा चौथो राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो । त्यहाँका सेनापति जिया-उल-हकले सैनिक विद्रोह गरी पदबाट हटाउँदै अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाए । त्यो घटनाको संसारले नै निन्दा गर्यो । विश्वव्यापी रूपमा त्यसको चौतर्फी विरोध भइरहेको थियो । जुल्फिकरको मृत्युदण्डलाई लिएर नेपालमा पनि नेविसंघको आन्दोलनले प्लस प्वाइन्ट पायो । बीपीलाई पनि फाँसीको माग भइरहेको बेला जुल्फिकरको जस्तै हुन सक्ने भन्दै नेविसंघको आन्दोलन झनै चर्कियो ।
बीपीको नाम मात्रै सुनेका बझाङका जगतप्रसाद जोशी किशोरावस्थामा प्रवेश गर्दै थिए । त्यतिबेलै सत्यवादी मावि (१० कक्षा)मा अध्ययनरत जोशीले आफ्नो सर्कलका विद्यार्थीलाई समेटर विद्यालयमै नेविसंघलाई समर्थन जनाउँदै आन्दोलन सुरु गरे । केही दिन विद्यालय नै बन्द भयो । गाउँघरमा अग्रजहरुले बीपीको नाम लिएर कुराकानी गरेको जोशीले सुनेका थिए । तर, कांग्रेस पार्टीबारे केही जानकारी पाएका थिएनन् । बीपीको समाजवादी अवधारणाबारे जिल्लामा गाइगुईं सुनेका जोशीको बालमष्तिकमै छाप बसिसकेको थियो ।
बाल्यकाल र शिक्षा
२०२० साल फागुनमा जन्मेका जगतप्रसाद खप्तडछान्ना-५ (पिठातोला)का स्थायीवासी हुन् । हुनेखाने परिवारमा जन्मेका जोशीको बाल्यकाल गाउँघरमै बित्यो । उनले खेती किसानीको कामसँगै स्कुले जीवन गाउँघरमै व्यतीत गरे ।
(२०२५ साल) ५ वर्षकै उमेरमा विद्यालयको ढोकामा प्रवेश गरेका उनले किशोरावस्था प्रवेशमै मेट्रिक पास गरे । स्थानीय पाटादेवल प्राविमा ५ कक्षा पढेर खप्तड प्रावि हुँदै जिल्ला सदरमुकाम चैनपुरस्थित सत्यवादी माविमा ८ कक्षा भर्ना भए । सत्यवादीबाटै मेट्रिक पास गरे । सिद्धनाथ साइन्स क्याम्पस हुँदै काठमाडौंमा एमएस्सी उत्तीर्ण गरेका जोशीले बेला बखतमा अध्ययनकै क्रममा छोटो समय विभिन्न विद्यालयमा अध्यापन पनि गरे ।
पार्टीमा क्रियाशीलता
२०३४ सालमै बीपीको नाम सुनेर उनको न्यायका लागि सत्यवादी माविमा हड्ताल गरेदेखि चार दशकसम्म निरन्तर रुपमा उनी पार्टीमा क्रियाशील रुपमा आवद्ध छन् । २०३५/३६ मा नेविसंघले देशव्यापी रुपमा गरेको हड्तालको नेतृत्व तत्कालीन नेविसंघका कार्यबाहक सभापति बलबहादुर केसीले गरेका थिए । त्यो बेलामा नेविसंघको केन्द्रीय सभापति शेरबहादुर देउवा थिए । नेविसंघको लामो आन्दोलनपछि २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा भयो ।
जनमतको घोषणासँगै नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठन गठन गर्यो र बहुदलको प्रचारप्रसारमा जुट्यो । बझाङमा नेविसंघ गठन हुँदा जोशी जिल्ला उपसभापति भएर काम गरे । किशोरावस्थामै पार्टीका लागि महत्वपूर्ण काम गरेका जोशी पार्टीको विश्वास जित्दै गए र राजनीतिमै पूर्णकालीन कार्यकर्ता बन्ने अठोट गरे ।
२०४२ मा बहुदलका लागि नेपाली कांग्रेसले देशव्यापी रुपमा सत्याग्रह सुरु गर्दा जोशी खप्तड माविमा पढाउँथे । सत्याग्रहको खबर पाउनासाथ सहभागी जनाउन जिल्ला सदरमुकामका लागि हिँडेका उनी नपुग्दै सत्याग्रह स्थगित भयो । पूर्वघोषित अहिंसात्मक आन्दोलन सत्याग्रह बसेकै बेला जनवादी मोर्चाले बम काण्ड गरेपछि सत्याग्रह स्थगित भएको थियो ।
२०४६ सालको जनआन्दोलनमा सात विद्यार्थी संगठनले गरेको आन्दोलनमा जोशीले महत्वपूर्ण भूमिका निर्वाह गरे । तत्कालीन नेविसंघका उपसभापति एनपी (नारायणप्रकाश साउद)सँगै गएर विज्ञप्ति लेख्नेदेखि दैनिकी योजना बनाउने काम गरे । माघ-फागुनमा चलेको आन्दोलनमा उनले फागुन महिनाभर आन्दोलन सफल पार्न सघाए र चैतमा पक्राउ परे ।
राजनीतिमा आवद्ध भएदेखि चार दशकसम्म जोशी लामो, छोटो समय गरी करिब २० पटकभन्दा बढी पक्राउ परे । सरकारलाई खबरदारी गर्दा होस् वा सही सुझाव दिँदा पनि पटक-पटक पक्राउ परिरहे । आजको दिनसम्म पनि जोशीको दैनिकी संगठन बनाउन, संगठनलाई जिम्मेवारी र पारदर्शी बनाउन, पार्टीलाई सक्रिय तथा चलायमान बनाइरहनका लागि बितिरहेको छ ।
आशा र अन्यौलमै चार दशक
२०४६ सालमा बहुदल आयो । बहुदलपछि मुलुकमा आदर्शको राजनीति होला भनेर जनताले अपेक्षा गरे । राजालाई समेत घुँडा टेकाएर ल्याएको शासकीय व्यवस्थामा जनतालाई रिझाउन भए पनि केही वर्ष नेताहरुले निष्ठाको राजनीतिको अभ्यास गरे । तर, त्यो अभ्यास लामो समय टिकाउन सकेनन् । जोशी सम्झन्छन्, ‘२०५० सालसम्म मुलुकमा आदर्शको राजनीति थियो । त्यसपछि निष्ठाको राजनीति क्षयीकरण हुँदै गयो र विकृतिहरु देखा पर्न थाले ।’
जिल्लामा आदर्शको राजनीति स्थापित गर्न जोशी चार दशकदेखि एक्लो वृहस्पतिझैं लागिपरेका छन् । पछिल्लो विकृत राजनीतिमा भने उनको निष्ठाको राजनीतिले कहिल्यै प्रवेश पाएको छैन । संसारमा सबैभन्दा उत्कृष्ट मानिएको संसदीय व्यवस्था नेपालमा लागू भएपछि पनि यो व्यवस्थाले कहिल्यै मूर्तरुप लिन सकेन र निष्ठाको राजनीति लोप हुँदै गयो ।
जतिसुकै पद्धतिको माग गरे पनि अन्तिममा बहुदलबाटै छानिएर शासन गर्ने संसदीय व्यवस्थाले नेपालमा विकृतितन्त्र भित्र्याएको जोशीको बुझाइ छ । २०४६ सालबाट निष्ठाको राजनीति अघि बढ्दा आदर्शमै रमाउने जोशीहरु धेरै समय रमाउन पाएनन् । ‘विकृत राजनीति सुधार्ने भनेर विभिन्न आन्दोलन भए,’ जोशी भन्छन्, ‘तर, निष्ठाको राजनीतिले ठाउँ पाएन । बदलिँदो सञ्चारले नै त्यसलाई स्थापित हुन दिएन ।’ अहिले निष्ठाको राजनीतिमा धन हाबी भइरहेको उनी बताउँछन् । महँगो तथा सकसपूर्ण समयमा जोशीजस्ता वास्तविक नेता कार्यकर्ताले त्यसलाई रोक्न सकेनन् । तर, पनि जोशीले भने जिल्लामा निष्ठाको राजनीति स्थापित गर्न प्रयास जारी नै राखेका छन् ।
राजनीतिमा जोशीको धैर्यता
जोशी २०५२/५३ सालतिर नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर कार्यबाहक सभापतिसमेत भएका थिए । त्यसपछि करिब तीन दशकसम्म नेपाली कांग्रेस बझाङबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यबाहेक कुनै पदमा पुग्न सकेका छैनन् । प्रतिनिधिसभाको सदस्यका लागि पाँच/पाँच वर्ष टिकटका लागि प्रतिक्षा गर्दै लामो समय बितेको उनी सम्झन्छन् । जोशी राजनीतिमा प्रवेश गरेपछि उनको परिवारले भने सानो दुःख झेलेन । सुरुमा सम्पन्न परिवार भए पनि राजनीतिमा प्रवेश गरेपछि उनी चुर्लुम्मै डुबिसकेका थिए । संगठनमै दौडदा न परिवारसँग समय, न सन्तानको हेरचाह, न उनीहरुलाई उचित शिक्षादीक्षा । उनलाई अभावै भइरह्यो ।
लामो समय गाउँमा खेती किसानी गरेरै परिवार धानिरहे । पछि भाइहरुको सहयोगमा सन्तानहरुले पढ्न पाए । खासगरी द्वन्द्वकालमा उनीसहित उनको परिवारले वर्णन गर्न नसकिने दुःख पायो । जोशी सम्झन्छन्, ‘द्वन्द्वकालमा समाजबाट विस्थापित नै हुनुपर्ने अवस्था आयो । गाउँमा बस्न सक्ने अवस्था नै रहेन । त्यसै बेलामा सन्तानलाई पढाउनुपर्ने ।’ यस्तो अवस्थामा पनि जोशी राजनीतिबाट विचिलित भएनन् ।
निष्ठाको राजनीतिकै वकालत गर्दा गर्दै उनको आर्थिक अवस्था शून्यतामा झरिसकेको थियो । यतिसम्म कि दसैँतिहार तथा पर्वहरुमा छोरीहरुलाई आफन्तहरुले दिएको दक्षिणासमेत लिएर संगठनमा लागेका जोशी अहिलेसम्म पनि पार्टीको एउटा पदभन्दा माथि पुग्न सकेका छैनन् । उनकै सहपाठी तथा उनीभन्दा पछि राजनीतिमा प्रवेश गरेका नेताहरु पटक-पटक केन्द्रीय सरकारको मन्त्री हुँदासमेत उनले निर्वाचनका लागि पार्टीबाट टिकटसमेत पाएका छैनन् ।
परिवर्तनको लागि संघर्ष गरिरहँदा जोशीको जीवनमा ‘झन्डै जोगिएको’ अवस्था धेरै पटक आए । २०४६ सालकै आन्दोलनमा गोलीकै किनारामा भुईबाट घस्रँदै भागेर ज्यान जोगाए । ‘त्यसै वर्ष टुँडिखेलमा गरिएको सभापछि त्रिचन्द्र कलेजमा सैनिकले फायरिङ गर्यो । गोलीको वर्षा जस्तै भयो । बाँचिएला भन्ने आसै थिएन । धन्न बाँचियो,’ उनी सम्झन्छन्, ‘त्यो बेलामा करिब ५० जना साथीहरुले ज्यान गुमाउनु भयो ।’
सबै कुरा त्यागेर परिवर्तनका लागि राजनीतिमा होमिएका जोशी अहिले पनि टिकटकै पर्खाइमा छन् । २० वर्षअघि बझाङ जिल्लाको कांग्रेस सभापतिका प्रत्यासी थिए । वातावरण नमिलेको भन्दै सत्यराज भण्डारीलाई सहमति दिए । त्यसपछि १० वर्षअघि कांग्रेस बझाङको सभापतिमा गुटगत, विकृत राजनीति सहितको सिन्डिकेट तोड्ने भनेर सभापति लडेका उनी आफैं पछारिए । कांग्रेसको विकृत रुपलाई चुनौती दिएर सभापति लड्दा एक्लो वृहस्पति जस्तो (निष्ठाको राजनीतिज्ञ)लाई कसैले पत्याएनन् । अहिलेको १४औं महाधिवेशनमा पनि उनी महासमिति सदस्य जितेर अगाडि बढ्ने सोचमा छन् । (न्युज कारोबार डटकमबाट साभार)
फेसबुक प्रतिक्रियाहरु