शनिबार, जेष्ठ ५, २०८१
Breaking News

‘नकुँदिएका हिरा’को गौरव

कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वरमा रहेको ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ-सधैँ नेपाल लेख्न पाइयोस्’ भन्ने गीत हरेक स्वाभिमानी नेपालीको कानमा गुञ्जिरहन्छ ।

गीतमा भनेजस्तै बिहान उठ्नेबित्तिकै हिमालको दर्शन गर्न पाइने नेपालजस्तो मुलुकहरु विश्वमा कमै होलान् । जहाँ बिहानको उदाउँदो सूर्य र साँझको अस्ताउँदो सूर्यले पनि हिमालकै छेउबाट स्वागत र बिदाई गर्छ । नेपालका केही सहरले त हिमालको काखमै रहेर हिमालकै मुस्कानसँग प्रिय अनूभूति गरिरहेका छन् । संसारकै अग्ला हिमचुलीहरुले पनि हरबखत मुस्कुराएरै स्वागत गरिरहन्छन् ।

हिमाली हावासँगै चियाको चुस्कीमा स्वर्णिम र अविश्मरणीय अनुभूति सँगाल्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु हिमालको फेदसम्म पुग्छन् । पोखराबाटै हेर्ने हो भने पनि सफा मौसममा त अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमाल २४सै घण्टा मुस्कुराइरहन्छन् । बिहान, दिउँसो मात्रै नभई रातमा चन्द्रमाको प्रकाशले पनि हिमालहरु ‘हिरा’झैँ टल्किरहन्छन् ।

यस्तै ‘हिरा’को अवलोकनका लागि आगमन भएको थियो सन् १९५० मा फ्रान्सेली टोलीको । मौरिस हर्जोग र लुइस लेकेनलसहित फ्रान्सेली टोलीले सन् १९५० को जुन ३ मा ८ हजार ९१ मिटर अग्लो हिमाल अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । विश्वमा ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड उनीहरुले नै राखेका थिए । मौरिस हर्जोग र लुइस लेकेनल सहितले अन्नपूर्णको आरोहण गरेको तीन वर्षपछि मात्रै सगरमाथामा मानव पाइला परेको थियो । त्यसैले पनि अन्नपूर्ण प्रथमलाई जेठो हिमाल मानिन्छ ।

तर, ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं सामान्य पूर्वाधारहरु पनि नहुँदा यस्ता कैयन् ‘हिरा’हरुले आगन्तुकलाई चाहेजस्तै आफ्नो प्रकाश देखाउन भने सकिरहेका छैनन् । यस कारण मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट पनि ओझेलमा परिरहेका छन् । पर्यटन विभागले नेपालका थप ६ वटा हिमाल आठ हजार मिटरभन्दा अग्लो हिमालमा सूचीकृत गरेपछि अहिले संसारकै अग्ला १४ हिमाल नेपालमै छन् । तर, यतिका हिमाल भएर पनि प्रचारप्रसार नहुँदा पर्वतारोहण क्षेत्र छहारीजस्तै भएको छ । कम प्रचारमा पनि राम्रै कमाई गर्ने नेपालले राम्रै प्रचार भए त मुलुकले आर्थिक पुनरुत्थानमा फड्को मार्ने पर्यटनविद्हरु बताउँछन् । अहिले पनि नेपालले हिमाल देखाएर मात्रै सिजनअनुसार करोडौं रुपैयाँ रोयल्टीबापत संकलन गरिरहेको छ । यसरी नकुँदिएको हिराबाटै पनि लाभ लिनसक्ने मुलुकले कुँदेपछि त आगन्तुकको ओइरोसहित आयस्रोतको केन्द्र नै बन्ने निश्चित देखिन्छ ।

संसारकै अग्ला हिमालमध्ये नेपालमा १४ वटा

नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ छ । लामो समयसम्म ८ वटा हिमाल मात्रै गणना भएको नेपालमा गत वर्षयता आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा १४ वटा हिमाल सूचीकृत छन् । विभागले हिमालको नामसहित अक्षांश, देशान्तर, उचाइ र हिमाल रहेको स्थानको विस्तृत विवरणसहित सूचीकरण गरेपछि थप ६ हिमाल सूचीकृत गरिएका हुन् । सोलुखुम्बुको ल्होत्सेसार (८४०४ मिटर), ताप्लेजुङमा पर्ने यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कन्चनजंघा सेन्ट्रल (८४७३ मिटर, ल्होत्से मिडिल (८४१० मिटर) र यालुङ काङ बेस्ट (८०७७ मिटर) थपिएका हुन् । लामो समयसम्म सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु (८४६३ मिटर), छ्यो यु (८२०१ मिटर), धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर) र अन्नपूर्ण प्रथम (८०९१ मिटर) मात्रै सूचीकृत थिए ।

विश्वभरमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब २० पुगेको छ । नेपालबाहिरका हिमालमा पाकिस्तानको केटु (८६११ मिटर), नांगा पर्वत (८१२६ मिटर), गसेरब्रुम प्रथम (८०६८ मिटर), ब्रोड पिक (८०४७ मिटर), गसेरब्रुम दोस्रो (८०३५ मिटर) र चीनको सिसापाङमा (८०२७ मिटर) छन् । ०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले पाँच हजार ८०० मिटरभन्दा होचा हिमाल आरोहणका लागि अनुमति लिनु नपर्ने निर्णय गरेपछि नेपालका ४१४ वटा हिमाल आरोहणका लागि खुला गरेको थियो । त्योमध्ये पनि १६ वटा हिमाललाई हटाएको छ भने अहिलेसम्म ९२ वटा हिमाल आरोहण हुन सकेको छैन ।

हिमालमा पहिलो मानव पाइला र आरोही

विश्वकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर)मा सबैभन्दा पहिले न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका थिए । सगरमाथाको चुचुरोमा सन् १९५३ मे २९ का दिन पहिलोपटक मानव पाइला पुगेको थियो । त्यस्तै संसारकै दोस्रो अग्लो हिमाल केटु अर्थात् ‘काराकोरम- २’को पहिलो आरोहण सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले गरेका थिए । त्यस्तै विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघामा पहिलोपटक बेलायतका पर्वतारोहीद्वय जर्ज ब्यान्ड र जो ब्राउन चढेका थिए ।

पर्यटन विभागका अनुसार विश्वकै चौथो अग्लो हिमाल ल्होत्से-चमा सन् १९५६ मे १८ मा स्वीटजरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलो आरोहण गरे । त्यस्तै पाँचौ अग्लो हिमाल मकालुमा जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको टोलीले आरोहण गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

छैठौं अग्लो हिमाल चो-ओयुमा सन् १९५४ अक्टोम्बर १९ मा अष्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर तथा नेपालका पासाङ दावा शेर्पा चढेका थिए । सातौं अग्लो धौलागिरीमा सन् १९६० को मे १३ मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक चढेका थिए । त्यस्तै आठौं मनास्लुको पहिलो आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीहरु तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुबाट भएको थियो । नवौं अग्लो हिमाल पाकिस्तानको नांगा पर्वतको शिखरमा अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३ जुलाई ३ मा पहिलोपटक पाइला टेकेका थिए । दशौं अग्लो हिमाल अन्नपूर्णमा फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा, ११औं अग्लो हिमाल पाकिस्तानको गासेरब्रुम-१ मा सन् १९५८ जुलाई ५ का दिन अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले चढेका थिए ।

त्यस्तै १२औं अग्लो हिमाल पाकिस्तानको ब्रोडपिक (८,०५१) मा सन् १९५७ जुन ९ अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । त्यस्तै १३औं अग्लो हिमाल पाकिस्तानकै गासेरब्रुम-२ मा सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए । १४औं चिनियाँ सिसापाङमा हिमालमा सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीको टोलीले सफलतापूर्वक चढेका थिए ।

डेढ महिनामा साढे ६ सयले लिए अनुमति

अहिले चलिरहेको वसन्त ऋतुमा मात्रै नेपालमा साढे ६ सयभन्दा बढी आरोहीले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यका अनुसार यसै मार्चदेखि सुरु भएको वसन्त ऋतुको समयमा आजसम्म ६५४ जनाले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । उनले भनिन्, ‘९ तारिखमा नुप्टसे हिमाल आरोहणका लागि आवेदन सुरु भएको हो । अहिले डेढ महिनामा साढे ६ सय जनाले अनुमति लिइसके । यो संख्या अझै बढ्ने सम्भावना छ ।’ उनका अनुसार अहिले नेपाल भित्रने १३८ मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलक भारत र चीनका बढी छन् । त्यसपछि अमेरिका, बंगलादेश जर्मनी लगायतका पर्यटकहरु बढिरहेको उनले बताइन् ।

कुन हिमालका कति जना ?

सबैभन्दा बढी आरोहीले रुचाएको हिमाल हो सगरमाथा । डेढ महिनामा मात्रै सगरमाथा आरोहणका लागि ३८ टोलीले अनुमति लिइसकेका छन् । मार्च ९ देखि अप्रिलको तेस्रो सातासम्म २७९ पुरुष र ८७ महिला गरी ३६६ जना पर्वतारोही अनुमति लिएर त्यसतर्फ गइसकेको विभागले जनाएको छ । मनास्लु हिमालमा भने यो पटक एक जनाभन्दा बढीले आरोहण गरेको छैन । त्यस्तै टेङकङ पोचेमा २, अमा दब्लममा दुई टोली (२२ पुरुष, ५ महिला गरी २७ जना), वरुण टसेमा एक टोली (११ पुरुष, १ महिला गरी १२ जना), धौलागिरी पहिलोमा चार टोली (१९ पुरुष, ११ महिला गरी ३० जना), हिमलुङ हिमालमा एक टोली (५ पुरुष, २ महिला गरी ७ जना), लोत्सेमा ११ टोली (८१ पुरुष, २३ महिला गरी १०४ जना), मकालुमा २ टोली (१९ पुरुष, १ महिला गरी २० जना), मुस्ताङ हिमाल पहिलोमा एक/एक जना महिला पुरुष गरी दुई जना, नुप्टसेमा तीन टोली (१९ पुरुष, ४ महिला गरी २३ जना), पुमोरीमा एक टोली (२ पुरुष, ३ महिला गरी ५ जना), सरीबुङमा एक/एक जना गरी २ जना, तिलिचोमा एक टोली (७ जना पुरुष, एक महिला गरी ८ जना) र टुकुचेमा एक जना गरी डेढ महिनामा ६५४ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

आधा अर्ब राजस्व

हिमाल आरोहण गर्ने आरोहीबाट मात्रै डेढ महिनाको अवधिमा करिब आधा अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ । संकलित रकममध्ये सबैभन्दा बढी सगरमाथाको आरोहण अनुमतिबापत राजस्व संकलन भएको पर्यटन विभागका प्रवक्ता तथा उपसचिव मोहनकुमार जीसीले बताए । उनले भने, ‘विदशी पर्यटकहरु सगरमाथाका लागि नै बढी आउने गर्छन् । सगरमाथा चढ्नका लागि रोयल्टी पनि टोलीअनुसार अन्य हिमालभन्दा बढी छ ।

जीसीका अनुसार सगरमाथाको टोलीबाट मात्रै ४४ करोड आठ लाख ६५ हजार ५८७ रुपैयाँ संकलन भएको छ । त्यस्तै मनास्लुबाट दुई लाख ११ हजार ७७०, टेङकङपोचेबाट ५९ हजार ९ सय, अमा दब्लमबाट १२ लाख ९२ हजार २२०, अन्नपूर्ण पहिलोबाट ९१ लाख ६७ हजार चार सय, वरुण टसेबाट सात लाख २० हजार, धौलागिरी पहिलोबाट ६२ लाख ७४ हजार, हिमलुङ हिमालबाट चार लाख १८ हजार ७७५ रुपैयाँ रोयल्टी संकलन भएको जीसीले बताए ।

लोत्से हिमाल आरोहीबाट दुई करोड १९ लाख तीन हजार ३०९, मकालुबाट ४२ लाख ७८ हजार ९६०, मुस्ताङबाट ६० हजार, नुप्ट्सेबाट १६ लाख ८ हजार, पुमोरीबाट दुई लाख ८९ हजार ७०, सरिबुङबाट ६० हजार, तिलिचोबाट चार लाख ६८ हजार ६ सय र टुकुचे हिमालबाट ४६ हजार गरी डेढ महिनाको अवधिमा ४८ करोड ७७ लाख २३ हजार ४९४ रुपैयाँ रोयल्टी संकलन भएको हो । (न्युज काराेबार डटकमबाट साभार)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार